२४ कात्तिक २०८३, मङ्गलबार

साकोस समिटको तयारी सम्बन्धमा सरोकारवालासँग बैठक: साझा प्रविधि केन्द्रविन्दूमा

२०७९ जेठ २३, सोमबार
साकोस समिटको तयारी सम्बन्धमा सरोकारवालासँग बैठक: साझा प्रविधि केन्द्रविन्दूमा

काठमाडौं : नेफ्स्कूनको आयोजनामा जेठ २९ र ३० गते काठमाडौंमा हुने साकोस शिखर गोष्ठीको तयारी सम्बन्धमा सरोकारावाला निकायसँग संयुक्त बैठक सम्पन्न भएको छ ।

सोमबार नेफ्स्कूनको कार्यालयमा भएको संयुक्त बैठकमा समय सान्दर्भिक साझा प्रविधिको विषय केन्द्रविन्दूमा राखेर आयोजना गर्न लागिएको गोष्ठीको प्रशंसा भएको थियो ।

‘सहकारीमा प्रविधि’ अहिले महत्वपूर्ण र केन्द्रीय विषय रहेको भन्दै त्यसैलाई चौथो साकोस शिखर गोष्ठीको थिमका रुपमा समाविष्ट गरिएकोमा उनीहरुले प्रशंसा गरेका हुन् । साथै उनीहरुले गोष्ठीको पूर्ण सफलताको कामना गर्दै आफ्नो तर्फबाट हरसम्भव सहयोगको प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यस पटकको साकोस शिखर गोष्ठीको थिम ‘दिगो एवम् एकीकृत सञ्जालको लागि नवीनत साझा प्रविधि’ तय गरिएको छ ।

नेपाल सरकारको समेत सह आयोजनामा हुन लागेको गोष्ठी तयारीको अन्तिम चरणमा आज नेफ्स्कून केन्द्रीय कार्यालयमा सरोकारवालाहरुसँग अन्तरक्रियात्मक छलफल आयोजना गरेको थियो ।

गोष्ठी तयारी उपसमिति संयोजक तथा उपाध्यक्ष शान्ति अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमका सहभागीहरुले सबै कार्यपत्र, प्रस्तुति तथा समूहगत छलफलमा कुनै न कुनै रुपमा प्रविधिको विषय अटाउन सके उत्तम हुने धारणा राखेका थिए । गोष्ठीले प्रविधिका विषयमा थुप्रै नवीनता पस्कने अपेक्षा सहभागीहरुको रहनेतर्फ सरोकारवालाहरुले ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सेनाले गोष्ठीको उद्देश्य, विषयवस्तु, सहभागिता, कार्यपत्र तथा स्रोत व्यक्तिहरु लगायत विविध विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले गोष्ठीमा सातै प्रदेश समेटिएका ५० जिल्लाबाट ५ सय २० जनाको सहभागिता सुनिश्चित भएको जानकारी गराउनुभयो । उहाँले कार्यपत्र प्रस्तोता तथा विषयवस्तुका बारेमा पनि अवगत गराउनुभएको थियो । गोष्ठीमा विषय विज्ञबाट ९ वटा कार्यपत्र प्रस्तुत हुनेछ ।

बैठकमा नेफ्स्कूनका सञ्चालक सदस्यद्वय रिना आचार्य र मन्दरा मिश्र, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, विभागीय प्रमुखहरु, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव राम कुमार सापकोटा, सहकारी विभागका उप–रजिष्ट्रार खिमानन्द आचार्य, सिटिजन लाइफ इन्स्युरेन्स कम्पनीकी चिफ म्यानेजर रीता पाठक, रारा डिजिटल ल्याब्स्का निर्देशक अभय पौडेल, राष्ट्रिय सहकारी महासंघका नायब महाप्रबन्धक सुरेश थापा, नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का अध्यक्ष काजी श्रेष्ठ, राज ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक प्रणय अग्रवाल तथा म्यानेजर शोभा खरेलको उपस्थिति थियो ।

अभिलेख

लोकप्रिय