२१ भदौ २०८३, आईतवार

नवजीवन सहकारीका अध्यक्षद्वारा ७८ जना नक्कली ऋणी खडा गरी सवा करोड हिनामिना

२०७९ जेठ ११, बुधबार
नवजीवन सहकारीका अध्यक्षद्वारा ७८ जना नक्कली ऋणी खडा गरी सवा करोड हिनामिना

सिन्धुपाल्चोक : नवजीवन साना किसान कृषि सहकारी संस्था हेलम्बु–७ का अध्यक्ष टंकप्रसाद गजुरेलले ७८ जना नक्कली ऋणी खडा गरी १ करोड १८ लाख ३ हजार ३ सय ७७ रुपैयाँ कर्जा देखाई हिनामिन गरेको तथ्य खुलेको छ ।
छानविन समितिले संस्थाको चारखाता, सेयर सदस्यहरुको खाता र अन्य सम्बन्धीत अभिलेखहरु अध्ययन तथा निरिक्षण गर्दा नक्कल ऋणी खडा गरी उक्त रकम हिनामिना गरेको तथ्य खुलेको हो ।

समितिले छानविन गर्दा १५४ जना सदस्यहरुमा १ करोड ५३ लाख ४० हजार २ सय ७८ रुपैयाँ लगानी गरेको भेटिएको थियो । उक्त ऋणी मध्ये ७८ जना नक्कल ऋणी भएको प्रमाणित भएको थियो ।

हेलम्बु गाउँपालिले २०७७ भदौ १८ गते निराजन मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाएको थियो । उक्त समितिले नियामक निकाय हेलम्बु गाउँपालिकालाई २०७८ पुष १३ गते प्रतिवेदन समेत बुझाईसकेको छ ।
छानविनमा सञ्चालक समितिको बैठक समेत किर्ते गरिएको भेटिएको छ ।

नक्कली ऋणी खडा गरि सहकारीको रकम हिनामिन गर्ने अध्यक्ष गजुरेललाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ समेत गरेको छ । उनलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत, सिन्धुपाल्चोकबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले सहकारीखबरलाई जानकारी दिनुभयो ।

अध्यक्ष गजुरेलेले गाउँको सोझा साझा व्यक्तिको नाममा ऋण देखाइ रकम चलाउने र अन्य व्यवसायमा लगाउनदेखि चर्को ब्याजमा ऋण दिने समेत गरेको बुझिएको छ ।

संस्था स्वंयमले पनि २०७७ भदौमा गठन गरेको छानविन समितिले पनि अध्यक्षले हिनामिना गरेको भेछिएको थियो । त्यतिबेला ८० लाख ४४ हजार ७१ रुपैयाँ एक वर्ष भित्र तिर्ने प्रतिवद्धता जनाएको थियो ।

२०६५ मंसिर ५ गते स्थापना भएको संस्थाले २०७५ सालदेखि साधारण सभा समेत गरेको छैन । आ.व. २०७४/०७५ देखि लेखा परिक्षण समेत भएको छैन ।

यस हिनामिना प्रकरणमा संस्थाका प्रबन्धक शर्मिला भट्टराईको पनि संलग्नता रहेको समितिको निष्कर्ष छ ।

अभिलेख

लोकप्रिय