२१ भदौ २०८३, आईतवार

‘सेटिङ’ मा दर्ता भएका सहकारीको छानविन हुँदै, केही दिनमै प्रतिवेदन आउने

२०७९ जेठ १०, मङ्गलबार
‘सेटिङ’ मा दर्ता भएका सहकारीको छानविन हुँदै, केही दिनमै प्रतिवेदन आउने

काठमाडौं : बागमती प्रदेश सरकार अन्तर्गत दर्ता भएका सहकारी संस्थाको छानविन गर्न समिति गठन भएको छ ।

तत्कालित रजिष्ट्रारको कार्यकालमा प्रकृया नपुगी सहकारी दर्ता भएको गुनासो आएपछि बागमती प्रदेश सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले छानविन समिति गठन गरेको हो ।

मन्त्रालयका कानुनी अधिकृत प्रकाश चापागाईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । समितिले उक्त समयमा दर्ता भएका सहकारीको अध्ययन गरिरहेको छ ।

तत्कालित रजिष्ट्रारको कार्यकालमा करिब १ सय ३० वटा संस्था दर्ता भएका छन् । उक्त समयमा अधिकांश बहुउद्देश्यीय सहकारी दर्ता भएका छन् । एकभन्दा बढी पालिका कार्यक्षेत्र रहने सहकारीको दर्ता प्रदेशमा हुने कानुनी व्यवस्था छ ।

संस्था दर्ता गर्दा प्रकृया नपुगेको गुनासो आएपछि छानविन गर्न समिति गठन गरिएको मन्त्रालयका सचिव बलराम निरौलाले जानकारी दिनुभयो ।

केही समयअघि नै समिति गठन भएपनि संयोकको सेवाकालिन तालिमका कारण छानविन हुन सकेको थिएन । अब केही दिनमै प्रतिवेदन पेश हुने बुझिएको छ ।

दुई वा दुईभन्दा बढी कार्यक्षेत्र राखी दर्ता हुने सहकारीको हकमा तत् पालिकाको सिफारिस आवश्यक हुन्छ । तर, संस्था दर्ता गर्दा पालिकाको सिफारिस विनै दर्ता भएको खुल्न आएको थियो ।  मन्त्रालयले केही फाईल खोलेर हेर्दा पनि पालिकाको सिफारिस भेटेको थिएन ।

प्रतिवेदन पेश भएपछि मात्रै यथार्थ आउने सचिव निरौलाले सहकारीखबरलाई जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय