१५ वैशाख २०८२, सोमबार

चन्द्रागिरी साकोसकी ‘युथ एम्बेसेडर’ रीजु अक्कूको युवा सञ्जालमा

२०७९ वैशाख १८, आईतवार
चन्द्रागिरी साकोसकी ‘युथ एम्बेसेडर’ रीजु अक्कूको युवा सञ्जालमा

– रञ्जनमणि पौड्याल

यर्थाथ स्वीकार्ने हो भने, एशियाली क्रेडिट युनियन (बचत तथा ऋण सहकारी) हरुको नेतृत्व र सदस्यहरुको बहुसंख्यक पंक्ति दुवै अहिले बुढ्यौलीको अवस्थामा छ । नेपालमा सहकारी संलग्नताको सनातन अवधारणा नै एशियाली मुलुकहरुमा पनि प्रसारित भएको पाइन्छ । एशिया प्रशान्त क्षेत्रीय बचत तथा ऋण सहकारीहरुको एक मात्र छाता संगठन एशियाली ऋण महासंघ (अक्कू) ले गरेको विगत ३५ वर्ष यताको ‘ट्रेन्ड एनालिसिस’ को निचोड यही छ । त्यसैकारण सहकारी र त्यसमा पनि बचत ऋणको कारोबार गर्ने क्रेडिट युनियनहरुमा ‘युवा क्रान्ति’ आवश्यक छ यसको साख र समृद्धिलाई संस्थागत गर्न ।

क्रेडिट युनियनहरुलाई ‘सधैको र सबैको साथी’ बनाउन प्रविधि पारखी युवाहरुको व्यापक संलग्नता अनिवार्य छ । यही तथ्य बोध गर्दै अक्कूले क्रेडिट युनियनमा संलग्न एसियाली युवाहरुको सञ्जाल–अक्कूनेल Asian Credit Union Network of Emerging Leaders (ACUNEL) गठन गरेको छ । यही बैशाख १५ गते भर्चुअल माध्यमबाट अक्कूनेल तदर्थ समिति गठन गरिएको हो । खुसीको कुरो ३५ वर्षभन्दा कम उमेरका युवाहरुको उक्त सञ्जालको तदर्थ समितिमा नेपाली युवाको पनि प्रतिनिधित्व छ । फिलिपिन्सको अग्रसरतामा गठिन उक्त सञ्जालमा नेपाल, श्रीलंका, बंगलादेश र इन्डोनेसियाका युवा क्रेडिट युनियनकर्मीहरु गरी ७ जनाको सहभागिता छ । समुदायमा आधारित सफल साकोस गनिएको काठमाडौंको थानकोटस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.की युवा तथा उद्यमशीलता उपसमिति सदस्य –रीजु मानन्धर अक्कूनेलको तदर्थ समिति सदस्य चुनिएकी छिन् ।

अनुभवहरुले बताउँदछ, युवा अवस्थामै क्रेडिट युनियनसँग नाता जोडिएकाहरु ज्येष्ठ नागरिक बनिसक्दा समेत सम्बन्ध विच्छेद गर्दैनन् । यो सहकारी र क्रेडिट युनियनहरुको बिशिष्ट सिद्धान्त, मुल्य र मान्यताको कारण हो । त्यही भएर अक्कूले युवाहरुलाई संगठित बनाउँदै अन्तरदेशीय सहकारी अनुभवहरु आदान प्रदान गर्ने, सफल अभ्यासहरु आन्तरिकीकरण गर्ने र सम्बन्धहरु दरिलो बनाउने प्रयास थालनी गरेको हो । स्मरणीय छ, सहकारीहरुको विश्वव्यापी सञ्जाल अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले पनि यस्तै उद्देश्य राखेर सन् २००३ मा युवा सहकारीकर्मीहरुको सञ्जाल गठन गरेको थियो ।

अक्कू अन्तर्गत रहने अक्कूनेलको कार्यालय थाइल्याण्डस्थित अक्कू मुख्यालयको ५ औं तल्लामा रहनेछ । यसको उद्देश्य सदस्यहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने क्रेडिट युनियनहरुसँग युवाहरुलाई जोड्ने, उनीहरुलाई उत्प्रेरित गराउने, यसको पक्षमा वकालत गर्ने अनि यसको विकास र विस्तारमा भूमिका खेल्ने रहनेछ ।

यस्तो सञ्जालमा नेपालको प्रतिनिधित्व गर्न पाएकी २४ वर्षीया रीजु उत्साहित छिन् । फोनमा कुरा गर्दा उनको ‘टोन’ बुझिन्छ । नेपाली बोल्दा धेरै अंग्रेजी मिसाउने, अंग्रेजी गीत र चलचित्र हेर्ने, सामसुङ स्मार्ट फोन सर्फ गर्ने, एसेज्को ल्यापटपमा नयाँ नयाँ आविष्कारमा रमाउने, इन्स्टा र टिकटकमा भुल्ने स्वतन्त्र र निर्भीक नारीको प्रतिनिधित्व गर्छिन–रीजु । सहकारीमा नअटाएको पुस्ताको प्रतिनिधि पात्र रीजु कसरी चन्द्रागिरीसँग आबद्ध हुन पुगिन् त ? प्रश्न स्वाभाविक छ । ‘म सानै देखि नै चन्द्रागिरी सहकारीमा आबद्ध भए, ‘उनी भन्छिन्, ‘बुबा, आमा, भाई र फुपु सबै चन्द्रागिरीमा सदस्य हुनुहुन्छ । बुबाआमाले नै भाई र मलाई पनि चन्द्रागिरीको सदस्य बनाइदिनुभएको हो ।’

सानैदेखि बचत गर्दै आएकी उनलाई चन्द्रागिरिले मितव्ययी हुन सिकाएको छ । सहकारी बुझ्न सिकाएको छ । समुदायको जीवनसँग प्रत्यक्ष जोडिएको सहकारीका संप्तरंगी कार्यक्रमहरुसँग जोडिएर ‘पीआर’ बढाउन भूमिका खेलेको छ । सहकारीका कार्यक्रमहरुमा सानैदेखि संलग्न रहँदै आएकी उनमा राम्रो वाक्कला छ । त्यसैकारण उनी हिजोआज चन्द्रागिरिका बिशेष कार्यक्रमहरु सञ्चालन (एमसी) पनि गर्छिन् । स्मार्ट पुस्ताकी स्मार्ट रीजु चन्द्रागिरी साकोसको सेवाहरु पनि स्मार्ट बनाउन डिजिटाइजेशन नै एक मात्र विकल्प भएको बताउँछिन् ।

‘चन्द्रागिरी साकोसको सञ्चालक समितिमा ३५ वर्ष मुनिका युवाको अनिवार्य प्रतिनिधित्व, ३ सदस्यीय युवा तथ उद्यमशिलता उपसमिति, उद्यमशिलता विकास कार्यक्रम आदिले नीति निर्माण तहमै युवा हस्तक्षेप सुनिश्चित गर्दछ ।’ केही समय अघि मात्र चन्द्रागिरिले युवाहरु लक्षित कार्यक्रम पनि आयोजना गरेको उनले सुनाइन् । यस्तै युवामैत्री नीति तथा कार्यक्रमहरुले नै साकोसलाई स्मार्ट बनाउने उनको भनाइ छ ।

‘मुख्य कुरो म जस्तै अरु साथीहरुलाई चन्द्रागिरि सहकारीमा सदस्य हुन् र यसका सेवाहरुको लाभ लिन प्रेरित गर्नेछु,’ स्वयम्भूकी रीजु सुनाउँछिन्, ‘आइ एम ह्याप्पी टु बी द ब्राण्ड एम्बेस्डर अफ चन्द्रागिरि साकोस ।’ विकासको क्षेत्रमा काम गर्ने लक्ष्य बोकेकी उनी सहकारी पनि विकासको संवाहक भएको बताउँछिन् । चन्द्रागिरिकी अघोषित ब्राण्ड एम्बेसडर रीजुको दायित्व साकोसमा युवाहरुको भूमिका अनिवार्य छ भन्ने प्रमाणित गर्न, अरुलाई प्रेरित गर्न, युवा लक्षित नीति र कार्यक्रम र सेवा विकास गर्न र परिवर्तनको सुत्रधार बन्न ‘इन्पुट’ दिनुरहेको छ । यही विषय अक्कूनेलको पनि प्राथमिकता हुने उनले बताइन् । एशियाली युवा क्रेडिट युनियनकर्मीहरुको संगठित आवाज बन्ने लक्ष्य अकूनेलले लिएको छ । रीजुले सुनाइन् –अकूनेल नेपालमा पनि गठनको प्रयास थालनी गरिनेछ ।

शंकरदेबवाट बीबीए सकेर छोटो ‘ग्याप’ लिएकी रीजु World Association of Girl Guides and Girl Scouts- WAAGS मा काम गर्छिन् । फुसर्दको समय उनी सहकारीबारे आफ्नो शिक्षा र सीप पनि तिखार्दै छिन् । घरका सबै सदस्य सहकारीको सदस्य भएका कारण पनि उक्त विषय बेलाबखत ‘डाइनिङ टेवल डिस्कसन’ मा आइहाल्ने उनी बताउँछिन् । आजको पुस्ताकी रीजु घरमा पनि र बाहिर पनि सक्रिय छिन् । घरमा आमालाई सघाउँछिन् र बाहिरी समाजसँग पनि उत्तिकै नजिक छिन् ।

‘सहकारी बिजनेश र बेनभलेन्सको मिक्स हो,’ रीजु भन्छिन्, ‘सोसाइटीले सोसाइटीलाई कन्ट्रीब्युट गर्ने तरिका हो सहकारी ।’ बैशाख १५ गते अक्कूले आयोजना गरेको भर्चुअल कार्यक्रममा Youth Voices across Asia शीकर्षको प्रस्तुतिका क्रममा उनले यही आफ्नो विचारलाई चन्द्रागिरिको भूमिकासँग जोडेर हेरिन् । उनले दिगो विकासको लक्ष्य हासिल गर्ने दिशामा चन्द्रागिरिले खेलेको भूमिका भनिन्, जलवायु कार्य अन्तर्गत भए गरेका कामहरुको फेहरिस्त सुनाइन्, डिजिटल सर्भिस र डिजिटल रुपान्तरणमा चन्द्रागिरिले गरेको काम र प्रयासको पनि चर्चा गरिन् । रीजु ठान्छिन् चन्द्रागिरि मात्र नभई सबै सहकारीहरुले युवा लक्षित नवीन कार्यक्रमहरु, सेवाहरु र अफरहरु ल्याउनुपर्छ । अनि मात्र युवा आकर्षण बढ्छ । युवाहरुलाई उद्यमी बनाउने र प्रविधिसँग जोड्ने काममा सहकारीको भूमिका के हुन्छ भन्ने बारे उनले प्रष्ट पारिन् । चन्द्रागिरिले युवा शसक्तिकरण र उद्यमशिलताका क्षेत्रका गरेका कामहरुबारे धाराप्रवाह बोलिन् । बोल्न सक्ने सीपको भरपुर सदुपयोग गरिन् ।

समुदायमा आधारित विश्वसनीय संस्था बनाउन सहकारीहरुमा युवा संलग्नता बढाउनुपर्छ । उद्यम आकांक्षी युवाहरुलाई सहज र सरल ऋण सुविधा उपलब्ध गराउने तर्फ पनि आकर्षक ‘प्रडक्ट’ हरु विकास गर्नुपर्ने रीजुको राय छ । यस्ता कार्यक्रमले युवाहरुलाई ‘टार्गेट’ मात्र होइन ‘रिटेन’ पनि गर्ने उनको दाबी छ ।

कलंकीको एलआरआइबाट विद्यालय शिक्षा पूरा गरेकी उनी सानैदेखि राम्रो विद्यार्थी गनिन्थिन् । स्काउटमा पनि संलग्न भइन् । खासगरी ‘पब्लिक स्पीकिङ’ उनको ‘फोर्टे’ रह्यो । काठमाडौंका डाँडापाँखा र तराइको समथर मैदान मनग्गे हिडेकी रीजू दुई पटक अमेरिका आवतजावत पनि गरिसकिन् । भविष्यमा पनि अध्ययनको लागि विदेश गएपनि फर्के नेपालमै काम गर्ने दाबी गर्छिन् । के थाहा कतै उनी भविष्यमा क्रेडिट युनियनमै कुनै सक्रिय भूमिकामा पनि देखिन सक्छिन् । रीजु र अक्कूनेल दुबैलाई अगणित शुभकामना ।

 

अभिलेख

लोकप्रिय