१९ भदौ २०८३, शुक्रबार

हजारौं सदस्यलाई रुवाएको पशुपतिले जग्गामा लगानी गर्ने विज्ञापन, विभागले सोध्यो स्पष्टिकरण

२०७९ वैशाख १२, सोमबार
हजारौं सदस्यलाई रुवाएको पशुपतिले जग्गामा लगानी गर्ने विज्ञापन, विभागले सोध्यो स्पष्टिकरण

काठमाडौं : पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभले सहकारी ऐन विपरित जग्गामा लगानी गर्ने सूचना निकालेपछि सहकारी विभागले स्पष्टिकरण सोधेको छ ।

संस्थाले सोमबार राष्ट्रिय दैनिकहरुमा पर्यटकीय नगरी मेघौलीमा आकर्षण घडेरीहरु किस्ताबन्दीमा कर्जा सुविधा दिने भन्दै सोमबार विज्ञापन निकालेपछि सहकारी विभागले स्पष्टिकरण सोधेको हो । संस्थाले लाखौं खर्च गरेर कर्जा रकम र किस्ता रकम समेत उल्लेख गरी सूचना निकालेको छ ।

संस्थाले २०७७ माघ २० गते पनि राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन नै प्रकाशित गरी जग्गामा लगानी गर्न आव्हान गरेको थियो ।

सहकारी ऐन विपरित जग्गामा लगानी गर्ने विज्ञापन गरेपछि मौखिक स्पष्टिकरण सोधेको र सहकारी विभागमा बोलाइएको सहकारी विभागका रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । विज्ञापन पत्रिकामा आएपछि संस्थाका अध्यक्षलाई विभाग बोलाईएको र विभागमा हाजिर नभएको उहाँले जानकारी दिनुभयो ।

यो संस्था पूर्ण रुपमा धरासायी छ । संस्थाले सदस्यहरुको अरबौं रुपैयाँ फिर्ता गर्न सकेको छैन । २०७७ पौष मसान्त सम्ममा संस्थाको निक्षेप दायित्व १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार २ सय ८२ रुपैयाँ ७२ पैसा रहेको छ ।

संस्थाले बचत फिर्ता नदिएको भन्दै सहकारी विभागमा दिएको उजुरीको चाङ छ । संस्थाले कार्ययोजना बनाएर सदस्यको फिर्ता गर्ने सहकारी विभागलाई कन्भिन्स गराएको थियो । बचत फिर्ता दिन नसकेको संस्थाले जग्गामा लगानी गर्ने विज्ञापन गरेर सहकारी ऐनको धज्जी उँडाएको छ ।

अभिलेख

लोकप्रिय