२४ कात्तिक २०८३, मङ्गलबार

अब सहकारीको सुशासन र नियमनमा ध्यान दिनुपर्छः मन्त्री झाँक्री

२०७९ वैशाख १, बिहिबार
अब सहकारीको सुशासन र नियमनमा ध्यान दिनुपर्छः मन्त्री झाँक्री

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहकारीमा सदस्यको ठूलो पुँजी जम्मा भएकाले अब सुशासन र नियमनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिकोत्सवको प्रमुख अतिथिको रुपमा बोल्दै झाँक्रीले पुँजी र जनसहभागिता धेरै भएको ठाउँमा नियमनको आवश्यकता पर्ने बताउनुभयो ।

सदस्यले बचतको सुरक्षा र लगानीको प्रतिफल खोज्ने भएकाले राज्यले नियमन गर्नुपरेको उहाँको भनाई थियो । मुलुकभर ३० हजारको हाराहारीमा सहकारी संस्था रहेकोमा १४ हजार सहकारीले बचतऋणको कारोबार गर्ने हुँदा नियमन अपरिहार्य रहेको बताउनुभयो । सहकारी विभागको श्रोतसाधनले बचत ऋण सहकारीको नियमन गर्न नसक्ने भन्दै उहाँले विभागले उत्पादन उपभोग र वितरणका क्षेत्रमा मात्र सघाउन सक्ने उल्लेख गर्नुभयो ।

राज्य एक्लैले विकसित र व्यवस्थित शहर निर्माण गर्न असम्भव भएकाले निजी क्षेत्र र सहकारीलाई पनि शहरी विकासका लागि जोड्न सकिने भन्दै उहाँले सहकारी दुईतीन सय अर्ब पुँजी लगानी गर्न सके त्यसका लागि आवश्यक पर्ने नीतिनियम र मार्गनिर्देश बनाउन सकिने उहाँको भनाई थियो ।

सहकारीमा महिला सहभागिता उल्लेख्य रहेकाले महिलाहरुको क्षमता अभिवृद्धि, नेतृत्व विकास र आयआर्जनमा समेत जोडेर लैजान सके उपलब्धीमूलक हुने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवं राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले सहकारी अभियानमाझ पाँचताराले अग्रजहरुको सम्मान गरेर छुट्टै पहिचान बनाउन सकेको उल्लेख गर्नुभयो ।

अभिलेख

लोकप्रिय