२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी अभियान र सञ्चारकर्मीबीच छलफल, बैंकले ब्याज बढाए सहकारीको पनि बढ्छः अध्यक्ष कडेल

२०७८ फागुन २९, आईतवार
सहकारी अभियान र सञ्चारकर्मीबीच छलफल, बैंकले ब्याज बढाए सहकारीको पनि बढ्छः अध्यक्ष कडेल

काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सिजेएन), राष्ट्रिय सहकारी महासंघ र सहकारी मन्त्रालयको संयुक्त आयोजनामा सहकारी क्षेत्रको समसामयिक विषयमा सञ्चारकर्मीसँग छलफल भएको छ । सिजेएनका अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा शनिबार ललितपुरमा अन्तक्र्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी अभियान र सञ्चारकर्मीको समन्वय आवश्यक आवश्यक रहेको बताउनुभयो । दिनप्रतिदिन सहकारीमा आकर्षण बढेकोले अब यसको विश्वसनियतालाई थप बढाउनका लागि सबैले आ–आफ्नो ठाउँबाट लागि पर्नु पर्ने बताउनुभयो । ‘अब सहकारी अभियान र सञ्चार क्षेत्रको साथ सहयोग र समन्वय हुन आवश्यक छ । सहकारी क्षेत्रमा पनि अधुरो छ । यसमा सुधार गर्न आवश्यक छ । केही सीमित सहकारीको कारण सबै बदनामी हुनु परेको अवस्था छ,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार वाणिज्य बैंकहरुले ब्याज बढाए मात्रै सहकारीको सन्दर्भ ब्याज बढ्नेछ । ‘हिजो सहकारीको सन्दर्भ व्याजदर १४.७५ प्रतिशत हुँदा पनि सहकारीहरुले ११÷१२ प्रतिशतमै कर्जा लगानी गरेको थिए, त्यतिखेर तरलताको सहज अवस्था थियो । तर, अहिले असहज अवस्थामा पनि सहकारीले १६ प्रतिशतमा दिएका छन् । बैंकहरुले नै १६ प्रतिशतमा दिएको विषय हामी सुनिरहेका छौं,’ उहाँले भन्नुभयो । यस्तै, महासंघका पूर्व अध्यक्ष केशबप्रसाद बडालले सहकारी अभियान यथार्थपरक ढंगले लाग्नु पर्ने बताउनुभयो । ‘सहकारी अभियान सामाजिक व्यवसाय नै हो, राज्यको चौथो अंग र सहकारी अभियान मिलेर अगाडि जानुपर्ने आजको आवश्यकता हो,’ उहाँले भन्नुभयो ।

महासंघका सञ्चालक डीबी बस्नेतले सहकारी मूल्यमा आधारित सेवा भएकोले महासंघले मूल्यमा आधारित सेवा बढाउनु पर्ने धारणा राख्नुभयो । सुशासनको अवस्थामा नियमित काम भइरहेको बताउँदै उहाँले काम गरे अनुसारको प्रचार भने हुन नसकेको उहाँको भनाई थियो

कार्यक्रममा दुई विषयमा कार्यपत्र पनि प्रस्तुत गरिएको थियो । सहकारी अभियानको तर्फबाट राष्ट्रिय राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी सुब्बा र सिजेएनको तर्फबाट सिजेएनका निवर्तमान अध्यक्ष तथा सल्लाहकार खिलानाथ दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै महाप्रबन्धक सुब्बाले सहकारी सहकारी अभियान र सञ्चार क्षेत्रबीचको सहकार्य तथा समन्वय हुन आवश्यक रहेको बताउनुभयो । उहाँले कार्यक्रममा सञ्चार क्षेत्र तथा सिजेएन पनि सहकारी अभियानको एक महत्वपूर्ण स्टेक होल्डर भएकोले सबै मिलेर यस अभियानलाई अगाडि बढाउनु पर्ने धारणा राख्नुभयो ।

‘जुनससकै देशमा पनि सहकारीको मोडलबाट आर्थिक तथा सामाजिक विकास भएको छ, सहकारीको महत्वको विषयमा सूसुचित गराउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ, सहकारीले गरेको सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा भएको कामको प्रचार हुनु पनि आवश्यक छ,’ उहाँले भन्नुभयो ।

उहाँले सहकारीमा शुसाशन, विश्लेषणात्मक समाचारहरुको आवश्यक रहेको बताउनुहुँदै सहकारीका कमि कमजोरी पहिल्याउन पनि जरुरी रहेको धारणा राख्नुभयो ।

यस्तै, सिजेएनका निवर्तमान अध्यक्ष तथा समाजका सल्लाहकार खिलानाथ दाहालले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै सहकारी अभियानको प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमीका महत्वपूर्ण हुने भएकोले आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो । सहकारीहरु सदस्यहरुको हितभन्दा पनि सीमित व्यक्तिहरुको हितका लागि काम गर्दा पनि पछिल्ला केही गलत घटनाक्रमहरु आइरहेको उहाँको भनाई थियो । सहकारीले राम्रो काम पनि गरेको प्रशंग जोड्दै उनले सञ्चारकर्मीहरुले पनि त्यसतर्फ चासो दिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठले सिजेएनले सहकारी अभियानको विकास र विस्तारमा सधैं साथ समन्वय गर्न तयार रहेको धारणा राख्नुभएको थियो ।

सिजेएनका सचिव अर्जुन खतिवडाले सञ्चालन गरेको कार्यक्रममा सहकारी अभियानकर्मी, महासंघका सञ्चालक तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

अभिलेख

लोकप्रिय