१९ भदौ २०८३, शुक्रबार

दमकमा सहकारीका नेताहरुको जमघट, सहकारी ऐन-२०४८ खारेज गर्नु षडयन्त्रः बाँस्कोटा

२०७८ फागुन ७, शनिवार
दमकमा सहकारीका नेताहरुको जमघट, सहकारी ऐन-२०४८ खारेज गर्नु षडयन्त्रः बाँस्कोटा

दमक : राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले सहकारी ऐन २०४८ खारेज गरेर इतिहासलाई छोप्ने षडयन्त्र भएको बताउनुभएको छ । उहाँले शनिवार दमकमा मेची बहुउद्देश्यीय सहकारी संस्थाको रजत वर्षको सन्दर्भमा आयोजित प्रदेश १ स्तरीय दुई दिने प्रदेशस्तरीय गोष्ठीमा सम्बोधन गर्दै भन्नुभयो, ‘२०१० सालमा बनेका ऐन पनि संशोधन गरेर आजसम्म चलाउनु हुने, अनि सहकारी ऐन २०४८ खारेज गरेर मुभमेन्टको जगलाई हल्लाउने काम भएको छ । २०४८ को ऐनको आत्मालाई मार्ने काम भयो । जसका कारण आज कतिपय समस्या देखा परेका छन् ।’

उहाँले सहकारी अनुगमनलाई व्यवस्थित गर्नका लागि छुट्टै संयन्त्र चाहिने बताउनुभयो । ‘राष्ट्र बैंकले सहकारीलाई अनुगमन गर्ने होइन’, उहाँले भन्नुभयो । सहकारीलाई अर्थतन्त्रका अन्य खम्बालाई झै समान अधिकारका लागि दिगो कानुनी व्यवस्था आवश्यक रहेका उहाँले बताउनुभयो । उहाँले सहकारी दिगो अर्थतन्त्र भएकाले आर्थिक मन्दको समयमा पनि यो तरंगित नहुनुपर्ने बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारी आफ्नै मूल्य मान्यता र सिद्धान्तलाई चल्ने व्यवसाय भएको र मेची सहकारीलाई त्यसको उदाहरण प्रस्तुत गरेको बताउनुभयो । उहाँले केन्द्रीयस्तरीय संघले गर्ने कार्यक्रम एउटा प्रारम्भिक संस्थाले गर्न सफल भएकोमा गौरव लागेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सहकारी मन्त्रालयका सचिव बलराम निरौलाले सहकारीमा कानुनी व्यवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारीको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशा विषय कार्यपत्र प्रस्तुत गर्नुभयो । मेची सहकारीका सिइओ खोमप्रसाद बगालेले संस्थाको विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीयस्तरका सहकारी नेताहरुको जमघट थियो । सहकारीका राष्ट्रिय अभियान्ताहरुलाई दमकमा भेला गराए प्रदेश १ मा भएको सहकारी अभियानको उपलब्धीलाई सहकारी आन्दोलनले स्वामित्व लिओस् भन्न खोजिएको मेची बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराइले बताउनुभयो । शनिवारको कार्यक्रममा महासंघका उपाध्यक्ष रमेश पोखरेल, संचालक खेम पाठक, शिव डाँगी, अमृता सुब्बा, गणेश ढकाल, पूर्व संचालक रामचन्द्र उप्रेतीको उपस्थिति रहेको छ । राष्ट्रिय सहकारी बैंकका संचालक महेन्द्र कुमार गिरी, बैंकका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी उप्रेतीको पनि उपस्थिति छ । संस्थाले शनिवार विहान आयोजना प्रभातफेरीमा राष्ट्रिय सहकारी महासंघको उत्साहजनक उपस्थिति थियो ।

संस्थाका सिइओ खोम बगालेले नेपालको सहकारी अभियानलाई अगाडि बढाउन सहयोग पुगोस् भन्ने हेतुले राष्ट्रियस्तरका सहकारी अभियान्ताहरुलाई दमकमा भेला गराएको बताउनुभयो । कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, महासंघका अध्यक्ष मिनराज कडेल, निवर्तमान अध्यक्ष केशव बडाल, संचालक केवी उप्रेतीको समेत सहभागी हुने बताइएको छ । सो गोष्ठीमा प्रदेश १ का जिल्लास्तरीय संघ, स्थानीय सरकार तथा संस्थाहरुका प्रतिनिधिको उपस्थिति रहेको छ ।

अभिलेख

लोकप्रिय