१९ भदौ २०८३, शुक्रबार

सहकारीको व्याजदर पुनरावलोकनका लागि महासंघको लविङ सुरु, अर्थमन्त्रीले के भने?

२०७८ फागुन २, सोमबार
सहकारीको व्याजदर पुनरावलोकनका लागि महासंघको लविङ सुरु, अर्थमन्त्रीले के भने?

काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकनका लागि राष्ट्रिय सहकारी महासंघले सरकारसँग लविङ सुरु गरेको छ ।

सोमबार महासंघको नेतृत्वमा अभियानका शिर्ष नेताहरुले अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी लविङ सुरु गरेका हुन् । महासंघका अध्यक्ष मीनराज कंडेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री शर्मालाई भेटी बैंक वित्तीय संस्थाहरूले बचतमा दिने ब्याजदर बृद्धि गरेसँगै सहकारी संस्थाहरूको लागि तोकिएको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत तत्काल पुनरावलोकन गर्न सुझाव दिएका हुन् ।

खुल्ला बजार नीति अनुसार सहकारी संस्थाहरूको आधार ब्याजदरमा प्रिमियम बढीमा ६ प्रतिशतसम्म थप गरी ऋणमा व्याज लिन पाउने व्यवस्थाका लागि अर्थमन्त्रीलाई सुझाएका छन् ।

अर्थमन्त्रीले बैंक वित्तीय संस्थाको ब्याजदर बृद्धिमा असन्तुष्टि पोख्दै राष्ट्र बैंक र बैंक वित्तीय संस्थासँग तत्काल छलफल गर्ने जवाफ दिनुभएको थियो । आफू बैंकको ब्याजदर घटाउन लागि रहेको र यस्तो अवस्थामा सहकारी ब्याजदर बढाउनुस् भन्न नसक्ने बताउनुभएको थियो । सहकारीको ब्याजदर घटाउने वा बढाउने क्षेत्राधिकार अर्थमन्त्रालयको नभएको समेत स्पष्ट पार्नुभएको थियो ।

अर्थमन्त्रीसँगको प्रतिनिधि मण्डलमा राष्ट्रिय सहकारी विकास वोर्डका सह-अध्यक्ष मित्रराज दवाडी, महासंघका संचालक सागर ढकाल, खेमबहादुर पाठक, राष्ट्रिय सहकारी बैंकका संचालक ज्ञानवहादुर तामाङ, महासंघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ सुव्वा र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाई लगायतको उपस्थिती रहेको थियो ।

अभिलेख

लोकप्रिय