२४ कात्तिक २०८३, मङ्गलबार

देउखुरी साकोस हिनामिना प्रकरण: २ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

२०७८ पुष २७, मङ्गलबार
देउखुरी साकोस हिनामिना प्रकरण: २ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

दाङ : जिल्ला अदालत दाङले साविकको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा किरण भण्डारी र रुकमाङ्गद ज्ञवालीलाई पुर्पक्षका लागि जिल्ला कारागार पठाउन आदेश दिएको छ ।

हाल संस्था एकीकरण भई देउखुरी बचत तथा ॠण सहकारी संस्था भएको छ । अदालतले संस्थाको रकम हिनामिना प्रकरणमा दुवै जनालाई जनही ५०/५० रुपैयाँ लाख धरौटी मागको आदेश गरेको थियो । तोकिएको धरौटी बुझाउन नसकेपछि दुवै जना जिल्ला कारागार घोराही पठाइएको छ ।

त्यस्तै अदालतले संस्थाका कोषाध्यक्ष रामकृष्ण पौडेललाई २५ लाख रुपैयाँ धरौटी मागेकोमा उनी तोकिएको रकम बुझाएर तारेखमा रिहा भएका छन् । गएको साउनमै प्रतिवादीमध्ये राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी अदालतले मागेको साढे दुई लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा हुनुभएको थियो ।

राप्ती गाउँपालिका ८ मा सोही सहकारीका शिवध्वज मल्लसहितका शेयर सदस्यहरूले पाँच करोड २७ लाख २६ हजार ६ सय ९२ रुपैयाँ हिनामिना गरेका भन्दै २५ जनालाई प्रतिवादी बनाएर अदालतमा गएको असारमा जाहेरी दिइएको थियो ।

रकम हिनामिना प्रकरणमा अदालतले यसअघि २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । मुद्दाको अन्तिम फैसला हुन बाँकी नै छ ।

अभिलेख

लोकप्रिय