२४ कात्तिक २०८३, मङ्गलबार

साझा सेवा सहकारी पुरस्कार बडाललाई, संस्थाको ३७ औं साधारण सभा सम्पन्न

२०७८ पुष २४, शनिवार
साझा सेवा सहकारी पुरस्कार बडाललाई, संस्थाको ३७ औं साधारण सभा सम्पन्न

ललितपुर : साझा सेवा सहकारी संस्थाको ३७ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । २०२६ सालदेखि निरन्तर सर्वसाधरणलाई सर्वसुलभ र विश्वसनीय सेवा पुर्याउँदै आएको संस्थाले अनुदानित मल, ग्याँस, सिमेण्ट तथा इन्धनको बिक्री वितरण तथा इन्धन ढुवानीमा आफ्नो सेवा केन्द्रित राखेको छ । संस्थाले छिट्टै पूर्ण क्षमताको विद्युतीय चार्जिङ स्टेशन, विषादीरहित तरकारी हाट सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

साधारण सभामा कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण गरेको छ । संस्थाले वि.सं. २०७८ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारीका केशव बडाललाई प्रदान गरेको छ । उक्त पुरस्कार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री माननीय शशी श्रेष्ठबाट प्रदान गरिएको हो । पुरस्कारको राशी रु ५० हजार रुपैयाँ रहेको छ । संस्थाले २०७५ सालदेखि सो पुरस्कार प्रदान गर्दै आएको छ ।

वि.सं.२०२६ सालदेखि संस्थाका संस्थापक सञ्चालक तथा अध्यक्ष रही संस्थाको नेतृत्वदायी भूमिका, दिगो विकास र स्थायित्व प्रदान गर्न स्व. कमलमणि दीक्षितको अथक योगदान स्वरुप सो पुरस्कारको स्थापना गरिएको हो ।

कार्यक्रममा केशव बडालले यस पुरस्कारबाट सहकारीप्रतिको चिन्तन र लेखन कार्यलाई अघि बढाउन अझ बढी प्रेरणा प्राप्त भएको र थप दायित्व बढेको कुरा व्यक्त गर्नुभयो । साझा सेवाका कार्यकारी निर्देशक दिनेश पौडेलले संस्थाका गतिविधिहरुबारे प्रकाश पार्नुहुँदै समारोहमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय