२४ कात्तिक २०८३, मङ्गलबार

ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

२०७८ पुष ८, बिहिबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

ललितपुर : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामहरि बजगाईंको सभापतित्व एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बजगाईंले स्थपनाकालदेखि नै संघमा आवद्ध सहकारी संस्थाहरुको विकास, प्रवद्र्धन र संवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै सहकारीमैत्री नीति निर्माणका सवालमा पनि पहलपैरवी गर्दै आएको बताउनुभयो ।

आन्तरिक रुपमा संस्थगत विकास, सुशासन एवं क्षमता अभिवृद्धि गर्दे अझ गुणस्तरीय सेवा प्रदान गर्नु आजको आवश्यकता रहेको र बचत ऋण अभियानलाई व्यवस्थित एवं समयसापेक्ष बनाउन अनुकूल नीतिगत व्यवस्थाका लागि राज्यसँग पहल गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । सहकारीमार्फत उत्पादन, वितरण र उपभोगलाई जोड दिइ आर्थिक रुपमा सबल मुलुक बनाउन सहकारीहरु लाग्नुपर्नेमा उहाँको जोड दिनुभयो ।

संघले आफ्ना सदस्यहरुको सबलीकरण र विस्तारका लागि वर्षभर विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । संघमा ५ सय २६ संस्था आवद्ध रहेका छन् । संघको कुल शेयर ६ करोड १९ लाख, बचत १ अर्ब ८० करोड र ऋण लगानी १ अर्ब १७ करोड गरी सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।

 

संघले कोरोना महामारीका बेला सदस्य संस्थालाई सघाउन तरलता व्यवस्थापन कोष खडा गरेको र त्यस अवधिमा २३ वटा संस्थलाई सहयोग गरेको जनाएको छ । संघले आफ्नै घरजग्गा खरिद गर्ने, आवद्ध सबै संस्थाहरुमा अन्तरलगानी विस्तार गर्ने, हरेक ३ महिनामा वित्तीय विवरण प्रकाशित गर्ने, अनुगमन तथा एकिकरणलाई प्राथमिकता दिने, संस्था प्रवद्र्धन तथा विकासमा टेवा पु¥याउने भएको छ । त्यसैगरी सदस्यहरुलाई आवश्यकता अनुसार सशुल्क र निःशुल्क तालिम प्रदान गर्ने, महिलाद्वारा सञ्चालित सहकारीलाई बिनाधितो लघुकर्जा प्रदान गर्ने, निष्क्रिय रहेका संस्थाहरुलाई सक्रिय बनाउन पहल गर्ने भएको छ ।

सभामा कोषाध्यक्ष दिपक घिमिरेले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक अशोक महर्जनले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभामा महानगरपालिका र नगरपालिका भित्रका उत्कृष्ट सहकारी संस्थाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने संस्थामा गोदावरी नपाबाट गणपति साकोस, महालक्ष्मी नपाबाट सहारा साकोस र ललितपुर महानगरपालिकाबाट अनमोल साकोस रहेका छन् ।

त्यसैगरी उत्कृष्ट सहकारी कारोबार गर्नेमा गौरव साकोस धापाखेल, समता साकोस नःटोल, आदिनाथ साकोस ग्वार्को, श्रीकृष्ण प्रणामी साकोस इमाडोल र अभियान साकोस गोदावरी रहेका छन् । सभामा सहकारी एकिकरणतर्फ मंगलदीप साकोस र हेलो नयन साकोसलाई पनि सम्मान गरिएको थियो ।

संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तब्य र सचिव श्यामकृष्ण महर्जनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय