२४ कात्तिक २०८३, मङ्गलबार

किसानसँग हातेमालो गर्दै किसान बहुउदेश्यीय सहकारी, कुल कारोबार ५ अर्ब

२०७८ मंसिर १२, आईतवार
किसानसँग हातेमालो गर्दै किसान बहुउदेश्यीय सहकारी, कुल कारोबार ५ अर्ब

लम्की (कैलाली) : किसान बहुउदेश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा १५ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।

१८ करोड ९० लाख १७ हजार ६ सय शेयर पुँजी रहेको संस्थाको कुल कारोबार अर्ब बराबर पुर्याउन सफल भएको छ । संस्थाले सुदुरपश्चिम प्रदेशका ६ जिल्लामा सेवा प्रवाह गर्दै आएको छ । निकट भविष्यमा लुम्बीनी तथा कर्णाली प्रदेशमा संस्थाको सेवा विस्तार गरिने संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले बताउनुभयो । सुदुरपश्चिमका बाँकी तीन जिल्लामा यसै वर्षभित्र सेवा केन्द्र स्थापना गरिने उहाँले बताउनुभयो ।
संस्थाले हाल २७ वटा सेवा केन्द्रबाट सेवा प्रवाह गरी रहेको छ । संस्थामा हाल २ सय ८० जना कर्मचारी कार्यरत रहेको अध्यक्ष शाहले बताउनु भयो ।

संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहका अनुसार संस्था सञ्चालनका १९ वटा नीति बनाएर लागू गरिएको बताउनुभयो । संस्थाले मंसिर ५ गतेदेखि विभिन्न ७ वटा इकाइ मंसिर १० गते लम्कीमा प्रतिनिधि मुलक साधारण सभा आयोजना गरी संस्थाको २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाले बचत तथा ऋणको मात्र कारोबार नगरी कृषि तथा आय आर्जनमा समेत किसानसँग हातेमालो गर्दै आएको संस्थाका कोषाध्यक्ष मायाराम धमालाले बताउनु भयो । सहकारीले नाफा मात्र नहेरेर सामाजिक उत्तरदायित्वको क्षेत्रमा कोरोनाकालमा समेत शेयर सदस्यहरुलाई विना ब्याज सहितको ऋण सहुलियत, कोरोना संक्रमितलाई उपचार खर्चमा सहयोग समेत गरेको बताउनु भयो ।

संस्थाका उपाध्यक्ष टिकेन्द्र थापाले सहकारीले आफ्ना शेयर सदस्यलाई सहजकर्जा र आय आर्जनका सार्थ स्वरोजगार कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरी रहेको बताउनु भयो । संस्थाका सचिव लोकराज तिमिल्सैनाले सहकारी नाफा र नोक्सानमा मात्र केन्द्रित नभएर बिपन्न, आर्थिक अवस्था कमजोर भएका, गरीखाने बर्ग र बेरोजगारको सारथी भएको बताउनु भयो ।

अभिलेख

लोकप्रिय