१९ भदौ २०८३, शुक्रबार

सहकारी अभियानको हस्ती केबी उप्रेतीद्वारा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२०७८ मंसिर ७, मङ्गलबार
सहकारी अभियानको हस्ती केबी उप्रेतीद्वारा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं : नेपालको सहकारी अभियानको चिरपरिचित हस्ती केबी उप्रेतीले नेकपा एमालेको आसन्न १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

एमालेको सहकारी तथा गरिवी निवारण विभागका सचिव समेत रहेका उप्रेतीले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उप्रेती सहकारी तथा गरिवी निवारण विभागको तर्फबाट सर्वसम्वत प्रतिनिधि चयन हुनुभएको थियो ।

एमालेको केन्द्रीय सम्पर्क विभागको सदस्य हुँदै केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागमा दुई कार्यकाल विभागको सदस्यहुँदै हाल सचिवको जिम्मेवारीमा हुनुहुन्छ ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा करिब दुई सय जनाभन्दा बढी सहकारीकर्मी नै महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेको राजनीतिमा लामो समय बिताएका उप्रेती हाल सहकारी अभियानको विभिन्न नेतृत्वमा रहनुभएको छ ।

२०५५ सालदेखि सहकारी अभियानमा सक्रिय उप्रेती हाल सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघको सञ्चालक, सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकको अध्यक्ष हुनुहुन्छ । उहाँ हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको समेत अध्यक्ष छन् । सहकारीका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम तथा अनुभव प्राप्त गरेका उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासको लागि संजालको बरिष्ठ उपाध्यक्ष समेत छन् ।

सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि नीतिगत तहमै रहनुपर्ने आवश्यकता बोध गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उप्रेतीको भनाई छ । नेपालको राजनीति र सहकारी क्षेत्रबीच देखिएको अन्यौलतालाई चिर्नका लागि पार्टीको कार्यकारी तहमा जान खोजेको उप्रेतीको भनाई छ ।

अभिलेख

लोकप्रिय