१८ भदौ २०८३, बिहिबार

सुरक्षागार्डको निर्मम हत्या गरी लुटियो हिमचुली बहुउद्देश्यीय सहकारी

२०७८ कात्तिक १७, बुधबार
सुरक्षागार्डको निर्मम हत्या गरी लुटियो हिमचुली बहुउद्देश्यीय सहकारी

दोलखा : दोलखाको गौरीशंकर गाउँपालिका–१, जुँगुमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारी संस्थाका सुरक्षागार्ड पूर्णबहादुर खड्काको निर्मम हत्या भएको छ ।

संस्थामा रात्रिकालिन सुरक्षा दिँदै आएका खड्कालाई घरबाट कार्यालय जाने क्रममा बाटोमा अपहरण गरी हत्या गरिएको भेटिएको हो । गत कार्तिक १० गते बेलुकी ६ः३० बजेतिर घरबाट कार्यालयको सुरक्षाका लागि हिँडेका खड्का भोलिपल्ट बिहान घर नफर्किएको र कार्यालय जाँदा तोडफोडको अवस्था देखिएपछि संस्थाका व्यवस्थापकले सो विषयमा परिवारलाई जानकारी गराएका थिए । जानकारी पाए  लगत्तै संस्थाका सञ्चालक, कर्मचारी र परिवारका सदस्य भेला भएर घटना र निजको बारे खोजतलाश गरेका थिए । सो विषयमा ईलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, दोलखा र स्थानीय प्रहरी बिटलाई जानकारी गराइएको थियो । खड्काले प्रयोग गर्दै मोबाइल सम्पर्क गर्दा स्वच अफ देखाएकोले अन्यौल भएको थियो ।

वेपत्ता भएका खड्काको खोजी गर्दै जाँद दुई दिनपछि जुँगु–झ्याँकु सडकखण्डको पानीडाँडा नजिकै कार्यालयभन्दा ५सय मिटर वर बाटोमुनि जंगलमा उनको शव फेला परेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ । उनको अपहरण पछि त्यसै दिन करिब ७ः३० बजे हत्या भएको प्रारम्भिक अनुसन्धानले जनाएको छ । निज खड्काको हत्या भएको सात दिन बित्दा समेत हत्यारा फेला परेका छैनन् । प्रहरी हत्यारा पत्ता लगाउन आफुसँग भएको सबै श्रोतसाधनको प्रयोग गरी अनुसन्धानमा जुटिरहेको छ । हत्या योजनावद्ध ढंगले गरिएको र पेशेवरको संलग्ना रहेको हुनसक्ने अनुमान प्रहरीको छ । प्रहरीले जुनसुकै हालत हत्याराको पत्ता लगाई कानुनको कठघरामा ल्याउने प्रतिवद्धता मृतक परिवारसँग गरेको छ । मृतक खड्काका छोरा रमेश खड्काले छिटोभन्दा छिटो हत्याराको पत्ता लगाई कानुनी कारवाही हुनुपर्ने माग गरेका छन् । हत्याराको पत्ता लागेर दण्डसजाय नभएसम्म आफुहरुले न्याय नपाउने भन्दै उनले त्यसका निम्ति राज्य र प्रशासनले सक्रियता देखाउनु पर्ने जनाए ।

मृतक खड्का विगत १० वर्षदेखि उक्त संस्थाको सुरक्षा गार्डको रुपमा काम गर्दै आएका थिए ।

मृतक खड्काबाट कार्यालयको चाबी कब्जामा लिई हत्याराले संस्थाबाट रकम समेत चोरी गरेको छ । संस्थाका अध्यक्ष प्रकाश बहादुर खड्काले दुई लाखको हाराहारी नगद चोरी भएको बताए । संस्थाका व्यवस्थपाक नैन बहादुर जिरेल कामको सिलसिलामा कार्यालय बाहिर रहेको र त्यस बीचमा संकलन भएको रकम भल्टमा राख्न नपाइएकाले उक्त रकम चोरी भएको उनले बताए । भल्टमा रहेको करिब ५ लाख समेत चोर्न प्रयास गरेको भएपनि भल्ट फुटाउन नसकी त्यसै छाडेर गएको उनले जानकारी दिए ।

२०६० सालमा स्थापना भएको उक्त संस्थाको ५ करोडको कारोबार रहेका छ । स्थानीय बासिन्दाको वित्तीय आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले दुर्गम क्षेत्रमा स्थापना भएको उक्त संस्थाले सदस्यहरुलाई आर्थिक तथा सामाजिक रुपमा सबल बनाउनका निम्ति भूमिका खेल्दै आएको छ ।

स्थानीय स्तरमा क्रुरतापूर्वक हत्या भएपछि सिंगो गाउँ अहिले स्तब्ध भएको छ । हत्यारा पत्ता नलाग्दासम्म स्थानीयहरुमा डरको अवस्था सिर्जना भएको छ ।

अभिलेख

लोकप्रिय