१८ भदौ २०८३, बिहिबार

साउनदेखि सहकारीमा ‘गो–एएमएल’ सफ्टवयर अनिवार्य

२०७८ साउन ११, सोमबार
साउनदेखि सहकारीमा ‘गो–एएमएल’ सफ्टवयर अनिवार्य

काठमाडौं : १० करोडभन्दा बढी निक्षेप वा पुँजी भएको बचत तथा ऋणको कारोबार गर्ने सहकारीले गो–एएमएल सफ्टवयर सिस्टममार्फत नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईमा एसटिआर/टिटिआरको रिर्पोटिङ गर्नेपर्ने कानुन लागू भएको छ ।

यस विषयमा संघीय सरकार, सहकारी विभागले गत पुस २२ गते नै निर्णय गरेको थियो । उक्त निर्णय अब हरेक सहकारीले गो–एएमएल सफ्टवयर सिस्टममार्फत एसटिआर/टिटिआर को रिर्पोटिङ गर्नुपर्ने हुन्छ ।

सीमा कारोबार प्रतिवेदन (टिटिआर) र शंकास्पद कारोबार प्रतिवेदन (एसटिआर) तोकिएको ढाँचामा पठाउन सहकारी विभागले सर्कुलर समेत जारी गरेको छ ।

सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन २०७४ को दफा १९ र २० बमोजिम सबै सीमा कारोबार प्रतिवेदन (टिटिआर) र शंकास्पद कारोबार प्रतिवेदन (एसटिआर) अनिवार्य बुझाउनु पर्ने व्यवस्था छ ।

१० करोडभन्दा बढी बचत परिचालन गर्ने, बचत तथा ऋणको कार्य गर्ने सहकारी संस्थाले नाम, ठेगाना, दर्ता नं. र कारोबार रकमको विवरण सहितको सुचि सहकारी विभाग र वित्तीय जानकारी इकाईमा पठाउनु पर्नेछ । विभागका अनुसार सबै सहकारी संस्थामा रहेका एएमएल–सिएफटि कार्यान्वयन अधिकारीको नाम, इमेल र मोबाईल नम्बर समेत सहकारी विभाग र वित्तीय जानकारी इकाईमा पठाउनुपर्ने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले गत वर्षको माघ १ गते वाणिज्य बैंकहरु र असार महिनादेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि यो प्रणाली लागू गरिसकेको छ । यो सफ्टवेयर कार्यान्वयन भएपछि चेक जम्मा गर्न जानेले पनि सहकारीलाई सबै विवरण पेश गर्नु पर्ने हुन्छ । प्रणाली कार्यान्वयन भएपनि सहकारीमा अवैध रकम कसैले जम्मा गर्न नसक्ने र गरिहाले उसलाई वित्तीय जानकारी इकाईले सहजै पहिचान गरी सम्पत्ति शुद्धिकरण ऐन अनुसार कारबाही गर्न सक्नेछ ।

‘गो–एएमएल’ सफ्टवयर लागू भएपछि सहकारीमा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी नियन्त्रण हुने सहकारी विभागका उप रजिष्ट्रार सुरेन्द्रराज पौडेलले जानकारी दिनुभयो । ‘हिजोका दिनमा सहकारीले हुलाक वा अन्य कुनै माध्यमबाट प्रतिवेदन वित्तीय जानकारी इकाईमा बुझाउनु पर्ने हुन्थ्यो । अब गो–एएमएल सफ्टवयर सिस्टममार्फत एसटिआर÷टिटिआर प्रतिवेदन सहजै पठाउन सकिने भएको छ’, उहाँले भन्नुभयो । यसको नियमन राष्ट्र बैंकले गर्ने र त्यसको जानकारी विभाग समक्ष पनि आउने उहाँको भनाई थियो ।

के हो गो–एएमएल ?

गो–एएमएलको पुरा रुप ‘गो–एन्टि मनी लाउण्डरिङ’ हो । यसलाई संयुक्त राष्ट्र संघले अघि सारेको हो ।

राष्ट्र संघले ‘युनाइेटड नेशन्स अफिस अन ड्रग्स एण्ड क्राइम (युएनओडीसी)’ मार्फत सम्पति शुद्धीकरण निवारणका लागि यस्तो व्यवस्था अघि सारेको हो ।

मुलतः विकासोन्मुख देशहरुमा हुने सम्पति शुद्धीकरणलाई रोक्न यो व्यवस्था अघि सारिएको हो ।

१० लाख भन्दा बढीको कारोबार गर्ने सदस्यको टिटिआर अर्थात (थ्रेस होल्ड ट्रान्ज्याक्सन रिपोर्ट)लाई सुक्ष्म निगरानी हुनेछ । अर्काे एसटिआर अर्थात सस्पिसिअस(शंकास्पद) ट्रान्ज्याक्सन रिपोर्ट(शंकास्पद कारोबार विवरण) पनि निगरानीमा रहनेछ । यसमा एकै व्यक्तिको खातामा धेरै व्यक्तिले एकै दिनमा पटक पटक गरि १० लाख भन्दा बढी रकम झिक्ने वा डिपोजिट राख्ने काम गर्यो भने त्यो विवरण सिधै वित्तिय जानकारी इकाई(एफआईयु)मा जानेछ ।

पिईएफ अर्थात पोलिटिकल्ली एक्सपोज्ड पर्सन(राजनीतिक चिनारी भएका व्यक्ति)हरुको खाता र कारोबार पनि यसले निगरानीमा राख्छ ।

कुनै पार्टीको उच्च तहको नेता वा उच्च तहका कर्मचारीहरुको कारोबार यसमा समेटिन्छ । उनीहरुको बैंकिङ कारोबारको विवरण पनि सिधै एफआईयुमा जान्छ । त्यस्तो सबै विवरण फ्याक्टा(फरेन एकाउन्ट ट्याक्स कम्प्लायन्स) मा गएर चेक जाँच गरिन्छ ।

अभिलेख

लोकप्रिय