१८ भदौ २०८३, बिहिबार

२५ प्रतिशत नागरिक सहकारीमा आवद्ध

२०७८ असार २३, बुधबार
२५ प्रतिशत नागरिक सहकारीमा आवद्ध

काठमाडौं : नेपालको हालको जनसंख्या २,९४,०४,४०७ (दुई करोड ९४ लाख ४ हजार ४ सय ७ जना) रहेको छ । जसमध्ये २४.८६ प्रतिशत जनसंख्या सहकारीमा आवद्ध भएका छन् ।

सहकारी विभागले जारी गरेको पछिल्लो तथ्याङ्कले प्रत्येक ४ जना नेपाली नागरिक मध्ये एक जना सहकारीमा आवद्ध रहेको देखिन्छ । हाल सहकारीमा आवद्ध रहेको जनसंख्या ७३ लाख ७ हजार ४ सय ६२ रहेको छ ।

३४ हजार ८ सय ३७ सहकारी संघ/संस्थाहरु रहेको भए पनि कतिपय सहकारी संघ/संस्थाहरु एकीकरण भएको तथा कतिपय संस्था निश्कृय रहेका कारण प्रारम्भिक सहकारी संस्थाहरुको संख्या २९ हजार ८ सय ८६ कायम भएको प्रारम्भिक आंकलन गरिएको छ ।

बागमती प्रदेशको कूल जनसंख्या मध्ये ५० प्रतिशत सहकारीमा आवद्ध

बागमती प्रदेशको कुल जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ रहेको छ । बागमती प्रदेशमा ४९.१५ प्रतिशत जनसंख्या सहकारीमा आवद्ध भएको विभागले जारी गरेको पछिल्लो तथ्याङ्ले देखाउँछ । यस प्रदेशका २७ लाख १७ हजार ४ सय ६९ नागरिक सहकारीमा आवद्ध रहेको तथ्याङ्ले देखाउँछ । सहकारीमा आवद्ध कुल सदस्यमध्ये ३७.२० प्रतिशत सदस्य बागमती प्रदेशका मात्र रहेका छन् ।

सदस्य आवद्धता, सहकारी संंस्थाहरुको संख्याको हिसाबले मात्र होइन, बागमती प्रदेश पुँजी, बचत र ऋण लगानी र रोजगारी सिर्जनामा पनि निकै अगाडि छ । बागमती प्रदेशले सहकारीको कुल पुँजीका ५५ प्रतिशत हिंस्सा ओगटेको छ । सहकारीले संकलन गरेको कुल बचतको ४५ प्रतिशत र सहकारीले सदस्यलाई लगानी गरेको ऋण मध्ये ४७ प्रतिशतको कारोबार बागमती प्रदेश एउटै मात्र हुन्छ । त्यसैले सहकारी अभियानको नेतृत्व गर्ने प्रदेशका रुपमा समेत यो प्रदेश परेको देखिन्छ । ८८ हजार ३ सय ९ जनालाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ । बागमती प्रदेश एक्लैको यसमा ४० प्रतिशत योगदान रहेको छ । यो प्रदेशमा नेपालको कुल एरियाको १३.७९ प्रतिशत भू–भाग पर्दछ । बागमती प्रदेशमा १३ जिल्ला रहेका छन् । जसमध्ये काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, दोलखा, काभ्रेपलाञ्चोकमा सहकारीको संख्या बढी रहेको पाइन्छ ।

बागमती प्रदेशमा १० हजार ४ सय १८ सहकारी संस्थाहरु रहेका छन् । जुन कुल सहकारी संस्थाहरुको संख्याको ३४.८५ प्रतिशत हो । यो सबैभन्दा बढी सहकारी संघ÷संस्थाहरु रहेको प्रदेश पनि हो । सहकारीमा देखिएका विकृति र विसंगतिहरु पनि यसै प्रदेशमा रहेको विश्लेषण गरेको पाइन्छ । धेरै ठूलो कारोबार हुने स्थानमा केही सुधार गर्नुपर्ने पक्ष पनि देखिने भएकाले सहकारी संघ÷संस्थाहरुको शुद्धिकरणका लागि यस प्रदेशमा प्रभावकारी रुपमा कार्य गर्न सकेको खण्ड महत्वपूर्ण उपलब्धी हासिल हुने देखिन्छ ।

प्रदेश नं. २ मा १० प्रतिशत मात्र नागरिक सहकारीमा आवद्ध

प्रदेश नं. २ धेरै जनसंख्या भएको दोस्रो प्रदेश हो । यहाँ ५४ लाख ४ हजार १ सय ४५ जना नागरिक रहेको तथ्याङ्कले देखाएको छ । जसमध्ये १०.२७ प्रतिशत नागरिक मात्र सहकारीमा आवद्ध रहेका छन् । ५ लाख ५५ हजार १ यस ९५ जना मात्र सहकारीमा आवद्ध छन् तर त्यहाँ सहकारीको संख्या ४ हजार १ सय ५३ रहेको छ ।

यसरी हेर्दा सहकारीमा सहभागी रहेका सदस्यहरुलाई समान रुपमा सहकारीमा भाग लगाउँदा पनि एउटा सहकारीमा १ सय ३४ जना सदस्य रहेको देखिन्छ । जसकाकारण धेरै सहकारी संस्था दर्ता मात्र भएर रहेको हुन सक्ने आशंका गर्न गाह्रो हुँदैन । सहकारीको संख्याको हिसाबले भने करीब १४ प्रतिशत संस्था यस प्रदेशमा छन् । पुँजी २.५१ प्रतिशत, बचत ४.८६ प्रतिशत, ऋण ३.५३ प्रतिशत सहभागीता देखिन्छ । रोजगारी सिर्जनामा भने १३ प्रतिशत योगदान छ ।

प्रदेश नं. १ मा २० प्रतिशत जनता सहकारीमा आवद्ध
प्रदेश १ को कूल जन संख्याको २०.६३ प्रतिशत सहकारीमा आवद्ध रहेको पाइन्छ । ४५ लाख ३४ हजार ९ सय ४३ मध्ये प्रदेश १ मा ९ लाख ३५ हजार ७ सय नागरिक मात्र सहकारीमा आवद्ध छन् । प्रदेश १मा सुनसरी, मोरङ, झापाका सहकारी सफल देखिन्छन् । सहकारीमा आवद्ध कुल सदस्य मध्ये १२.८० प्रतिशत प्रदेश १ का सदस्य छन् । यस प्रदेशमा १५.८५ प्रतिशत सहकारी रहेका छन् । ८.७२ प्रतिशत पुँजी निर्माणमा प्रदेश १ को योगदान छ । देशको १७.५ प्रतिशत भू–भाग यस प्रदेशमा रहेको छ ।

गण्डकीमा ४६ प्रतिशत नागरिकको आवद्धता
गण्डकी प्रदेशमा ४६.२६ प्रतिशत मानिस सहकारीमा आवद्ध छन् । यहाँको कुल जनसंख्या २४ लाख १३ हजार ९ सय ७ रहेकोमध्ये सहकारमिा आवद्ध संख्या ११ लाख १६ हजार ६ सय ३२ रहेको छ । गण्डकी प्रदेशमा सहकारीको संख्या २ हजा र६ सय ७१ छ । जुन कुल सहकारीको ९ प्रतिशत हुन आउँछ ।

यसरी हेर्दा एक सहकारीको भागमा ४ सय १८ जना पर्न आउँछ । यसरी हेर्दा सदस्यताको हिसाबले यो प्रदेश बलियो मानिन्छ । बागमती प्रदेशमा एक सहकारीको भागमा २ सय ६१ जना पर्न जान्छ । गण्डकी प्रदेशमा सहकारीले दिएको रोजगारीमध्ये ९ प्रतिशत योगदान छ । सहकारीमा रोजगारी गर्नेलाई उचित श्रमको मुल्य पाएको हुन सक्ने यसले आंकलन गर्न सकिन्छ ।

लुम्बिनी प्रदेशमा १९ प्रतिशत नागरिक सहकारीमा
लुम्बिनी प्रदेशमा सहकारीमा आवद्ध हुने नागरिकको संख्या ८९८,६११ छ । यहाँको कुल जनसंख्या ४,८९१,०२५ छ । यसरी हेर्दा यहाँका १८.३७ प्रतिशत मानिस सहकारीमा आवद्ध छन् । करीब ६ जना मध्ये एक जना सहकारीकर्मी छन् भन्न सकिन्छ । यो चौथो सबैभन्दा धेरै जनसंख्या भएको प्रदेश पनि हो क्षेत्रफलको हिसाबले पनि यो तेस्रो ठूलो प्रदेश हो ।

सहकारीले सिर्जना गरेको कुल रोजगारी मध्ये यस प्रदेशले ८ प्रतिशत योगदान गरेको छ । यहाँ कुल संख्या मध्ये १२.५६ प्रतिशत सहकारी रहेका छन् । सहकारीमा आवद्धताको हिसाबले यहाँ पनि सहकारीको संख्या बढी रहेको पाइन्छ । सहकारीको कुल पुँजीको ६.१९ प्रतिशत पुँजी यस प्रदेशले निर्माण गरेको छ ।

कर्णाली प्रदेश ३४.६६ प्रतिशत आवद्ध
कर्णाली प्रदेशमा ३४.६६ प्रतिशत मानिस सहकारीमा आवद्ध रहेका छन् । कर्णाली प्रदेशको जनसख्ंया ११ लाख ६८ हजार ५ सय १५ रहेको छ । भू–भागको हिसाबले सबैभन्दा ठूलो प्रदेश भए पनि जन संख्याको हिसाबले यो सातौं स्थानमा छ । यहाँको सुर्खेत जिल्लामा सबैभन्दा बढी जनसंख्या छ भने सहकारी पनि यही जिल्लामा बढी रहेका छन् । २८.९ प्रतिशत यहाँको जनसंख्या गरिवीको रेखामुनी रहेको तथ्याङ्कले देखाएको छ । बहुआयामिक गरिबी ५१.७ रहेको बताइन्छ । त्यसैले गरिबी निवारणका लागि यस प्रदेशलाई सहकारीले फोकस गर्नुपर्ने निवर्तमान अध्यक्ष बडालको बुझाई छ । कुल सहकारीको ६.६१ प्रतिशत सहकारी यहाँ छन् ।

सुदुरपश्चिम प्रदेशमा ३४.६६ प्रतिशत आवद्ध

सुदुरपश्चिम प्रदेशमा २१.२८ प्रतिशत मानिस सहकारीमा आवद्ध रहेका छन् । यहाँको जनसंख्या २५ लाख ५२ हजार ५ सय १७ रहेको छ । ५ लाख ४२ हजार ९ सय ८९ जना सहकारीमा आवद्ध छन् । यस प्रदेशमा २ हजार ६० वटा सहकारी छन् । जुन कुल सहकारी संस्थाको ७ प्रतिशत हो । रोजगारी सिर्जनामा भने यो प्रदेश पछाडि परेको छ, जुन केवल ३.१९ प्रतिशत योगदान छ ।

अभिलेख

लोकप्रिय