१८ भदौ २०८३, बिहिबार

डिडिए गर्दा पनि किन देखिएन महाप्रभु साकोसको ५ करोड हिनामिना ?

२०७८ असार २२, मङ्गलबार
डिडिए गर्दा पनि किन देखिएन महाप्रभु साकोसको ५ करोड हिनामिना ?

काठमाडौं : दाङ स्थित साविकको श्री महाप्रभु बचत तथा ऋण सहकारी संस्थामा भएको अनियमितताले नयाँ मोड लिएको छ । हरियाली साकोस, श्री महाप्रभु साकोस, बिहानी साकोस र जनजिविका साकोस एकीकरण भई देउखुरी साकोस बनेको छ । साबिकको महाप्रभुका सञ्चालक, कर्मचारी र लेखा परिक्षक गरी २५ जना विरुद्ध अदालतमा मुद्दा परेको छ । भुमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रदेश नं. ५ बाट २०७७ पौष २७ गते चार वटा सहकारी भई एकीकरण भई देउखुरी बनेको थियो ।

महाप्रभु साकोसमा ५ करोड २७ लाख हिनामिना भएको आरोपमा छानविन चलिरहेको छ । रकम हिनामिनाको आरोपमा केही महिना अघि पाँच जना कर्मचारी पक्राउ परेका थिए । सो मध्ये एक जना साधारण तारेखमा छुटेका छन् भने बाँकी चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । रकम हिनामिना प्रकरणमा सह लेखापाल विक्रम राना प्रमुख दोषी देखिएको प्रहरीले जनाएको छ ।

केही दिन अघि साविकको महाप्रभु साकोसका तत्कालिन सञ्चालक समितिका पदाधिकारी, ऋण समिति, लेखा परीक्षकहरूलाई समेत अनुसन्धानका लागि अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको पछि घटनाले थप नयाँ मोड लिएको हो । अदालतले पक्राउ पुर्जी जारी गर्नेमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० रहेका छन् । सुवेदी साविक महाप्रभु साकोसका पूर्व लेखा तथा सुपरिवेक्षण समितिको संयोजक रहनुभएको थियो ।

अदालतले संस्थाका पूर्वअध्यक्ष किरण भण्डारी, साविक अध्यक्ष रुकमांगत ज्ञवाली, पूर्व उपाध्यक्ष रामबहादुर कुँवर, साविक उपाध्यक्ष कृष्णप्रसाद उपाध्यय पौडेल, पूर्व सचिव हिमानन्द पाण्डे, साविक सचिव हरिप्रसाद भुसाल, पूर्व सह सचिव माधव शर्मा, साविक कोषाध्यक्ष रामकृष्ण पौडेल, पूर्व व्यवस्थापक गुरुप्रसाद सुवेदीलाई पक्राउ पुर्जी जारी गरेको छ । यस्तै, सदस्यहरु केशवराज आचार्य, कमला पौडेल, धर्मराज अधिकारी, शारदा भुसाल, कमला बेलबासेलाई पक्राउ पुर्जी जारी गरेको छ । पूर्व लेखा तथा सुपरिवेक्षण समितिका संयोजक विष्णुबहादुर थापा, सोही समितिका सदस्यद्वय तुलसीराम पोख्रेल, युवराज भुसाल, लेखापरीक्षकद्वय गोविन्दप्रसाद भण्डारी र गंगाबहादुर केसीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।

हिनामिनाको घटना कसरी बाहिरियो ?

संस्थाको कारोबार नियमित भैरहेको थियो । संस्था एकीकरणमा जाने निर्णय पनि भयो । एकीकरणको लागि स्वतन्त्र लेखा परिक्षकबाट सम्पत्ती तथा दायित्व मूल्यांकन (डिडिए) भयो । एकीकरणमा जाने चार वटै संस्थाको डिडिए सिए बाटै भएको थियो । डिडिए रिर्पोटमा पनि हिनामिना भएको तथ्य खुल्न सकेन । सबै संस्थाको डिडिए भैसकेपछि एकीकरण प्रक्रिया सुरु भयो । सदस्यको खातामा भएको हिसाब र मेन लेजरको हिसाब नमिलेपछि रकम हिनामिनाको आशंक गरियो । महाप्रभु साकोसको सदस्यको खातामा रकम धेरै र मेन लेजरमा रकम कम भएको पुष्टी भएपछि हिनामिना भएको घटना बाहिरिएको हो ।

त्यसलगत्तै संस्थाका अभिभावक निकाय नेफ्स्कूनले अनुसन्धान सुरु गर्यो । जिल्ला प्रहरीसम्म रकम हिनामिनाको उजुरी पुग्यो । प्रहरी कार्यालयले लुम्बिनी प्रदेश सहकारी मन्त्रालय र नेफ्स्कूनलाई अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउन सहयोग गरिदिन पत्र लेख्यो । अनुसन्धानको प्रतिवेदन प्रहरीलाई बुझाएपछि प्रहरीले संस्थाका कर्मचारीलाई पक्राउ समेत गर्यो ।

ब्राण्डेड संस्था थियो महाप्रभु
साविकको महाप्रभु साकोस पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आवद्ध थियो । नेफ्स्कूनले २०७१ सालदेखि सुरु गरेको प्रोबेसन कार्यक्रममा महाप्रभुले दोस्रो पटक ब्राण्ड प्राप्त गरेको संस्था हो । सहकारी संस्थालाई सबल, दिगो, विश्वसनीय र सदस्य मैत्रीका साथै वित्तीय रुपमा सक्षम बनाउन नेफ्स्कूनले प्रोबेसन सुरु गरेको थियो । ब्राण्डेड संस्थामा ठूलो रकम हिनामिना हुँदा ब्राण्ड माथी नै प्रश्न चिन्ह उठेको छ । दुई पटकसम्म ब्राण्ड प्राप्त गरिसकेको संस्थामा भएको रकम हिनामिनाले ब्राण्ड माथी नै प्रश्न चिन्ह उठाएको छ । संस्थाले पाएको ब्राण्डमा नेफ्स्कून र सहकारी विभागले प्रमाणिकरण गरेको थियो ।

ब्राण्डको लागि नेफ्स्कूनले संस्थाको परिक्षण गरेको ब्राण्ड दिने गर्दछ । लेखा परिक्षकले गरेको लेखापरिक्षणलाई नै आधार मानेर ब्राण्ड दिने नेफ्स्कुनका प्रशासकीय प्रमुख सञ्जयराज तिमिल्सेनाले बताउनुभयो । ‘एक वर्ष भित्र संस्था कुनै कारणले दुर्घटना भएतापनि सदस्यको पैसा फिर्ता गर्न सक्नेको ज्ञारेन्टी ब्राण्डले गर्दछ’, उहाँले भन्नुभयो । नेफ्स्कूनले लेखा परिक्षण नगर्ने र लेखा परिक्षकले नै गरेको लेखा परिक्षणको आधारमा ब्राण्ड दिने उहाँको भनाई छ । ब्राण्डेड भनिएको संस्थामा समेत यति ठूला घोटला लुकिनु सानो कुरा पक्कै होईन ।
साबिकको हरियाली साकोस पनि ब्राण्डेड संस्था हो । उसले तीन पटक ब्राण्ड प्राप्त गरेको थियो ।

बचत फिर्ताको चाप बढ्यो

पछिल्लो दिनमा संस्थामा बचत फिर्ताको चाप बढेको छ । गाउँपालिका अध्यक्ष समेतलाई अदालतले पक्राउ पुर्जी जारी गरेपछि सदस्यहरु आफ्नो बचत झिक्न थालेको छ । विशेष गरी साविकको महाप्रभु संस्था रहेको सेवा केन्द्रबाट बचत फिर्ता धेरै जान थालेको छ । बचत फिर्ता लैजाने सदस्यहरुलाई संस्थाले रोकेको छैन । यस बीचमा संस्थाले नेफ्स्कूनबाट ३ करोड रुपैयाँ कर्जा लगिसकेको छ ।
बचत फिर्ताको माग बढेको संस्थाका व्यवस्थापक उमेश चौधरीले जानकारी दिनुभयो । मुख्य कार्यालय र अन्य सेवा केन्द्रमा सामान्य बचत फिर्ता भएको र महाप्रभु सेवा केन्द्रमा अत्याधिक बढेको उहाँको भनाई छ । ‘अहिलेसम्म बचत फिर्ता रहेका छैनौं’, उहाँले भन्नुभयो, ‘हामीले व्यवस्थापन गरिरहेका छौं । अभिभावक निकायसँग पनि समन्वय गरिरहेका छौं ।’ मुद्दाको फैसला चाँढै आएमा संस्था बचत फिर्ता नहुनेको उहाँको बुझाई छ ।

सफ्टवेयर कम्पनीका सञ्चालक थुनामा
हिनामिनामा सहयोग गर्ने प्रमुख कारण सफ्टवेयर देखिएको छ । सफ्टवेयरमा राखिएको हिसाब नमिल्दा हिनामिना भएको प्रष्ट भैसकेको छ । हाल सफ्टवेयर कम्पनीका सञ्चालक अन्य केही कारणले थुनामा छ । सोही कारण सफ्टवेयरमा हिसाब हेर्न पाईएको छैन । के कसरी हिनामिना भएको हो भन्ने विषयमा अनुसन्धान गर्न सफ्टवेयर कम्पनीको सहयोग अवश्यक छ ।

अभिलेख

लोकप्रिय