१८ भदौ २०८३, बिहिबार

सहकारीका राम्रा अन्तर्राष्ट्रिय अभ्यास नेपालमा भित्राउनु पर्छ : सहअध्यक्ष पौडेल

२०७८ असार १९, शनिवार
सहकारीका राम्रा अन्तर्राष्ट्रिय अभ्यास नेपालमा भित्राउनु पर्छ : सहअध्यक्ष पौडेल

काठमाडौं : राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी क्षेत्रमा भएका राम्रा अन्तर्राष्ट्रिय नेपालमा अनुसरण गर्नुपर्नेमा जोड दिनुभएकाे छ ।

९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिवार शुभकामना सन्देश दिँदै सहअध्यक्ष पौडेलले सहकारी संस्थाहरु डिजिटल प्रविधिमा जोडिएर सदस्यलाई प्रविधिमैत्री सेवा दिनुपर्ने बताउनुभयो ।
विदेशमा सहकारी संस्थाहरु प्रविधि मैत्री भएकाले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपालका सहकारीले पनि सिक्नुपर्ने धारणा उहाँकाे छ । सहकारीले आधुनिक प्रविधिको प्रयोग गरे सहकारी क्षेत्रले गुणात्मक फड्को मार्ने पौडेलको धारणा छ ।
कोभिड—१९को कारण भौतिक रुपमा उपस्थित भएर सेवा लिँदा संक्रमण फैलिन सक्नेतर्फ चिन्ता व्यक्त गर्दै प्रविधिको प्रयोग गरेर सदस्यलाई सेवा दिनुपर्ने उहाँको भनाइ छ।
हरेक वर्ष जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आइएको छ । शनिवार ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका साथै २७ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।
पौडेलले जारी गरेको शुभकामना सन्देशमा सहकारीलाई समयसापेक्ष प्रविधि मैत्री बनाउँदै सदस्यलाई छिटो, छरितो र प्रभावकारी सेवा दिनुपर्ने उल्लेख छ । प्रतिस्पर्धी अर्थतन्त्रमा सहकारी संस्थालाई सवल, सक्षम, पारदर्शी र प्रतिस्पर्धी वित्तीय संस्थाको रुपमा विकास गर्न आग्रह गर्दै सहअध्यक्ष पौडेलले सहकारी संस्थामा सरल र सुलभ रुपमा प्रविधि सेवा विस्तार राज्यले सघाउनु पर्नेमा जोड दिनुभयाे ।
सहकारी ऐन, नियमावली, सहकारीको प्रस्तावित २५ वर्षे दीर्घकालीन रणनीतिले सहकारीमा प्रविधिलाई प्रयोगमा ल्याउन प्रोत्साहित गरेको पौडेलद्वारा जारी गरेको सन्देशमा उल्लेख छ ।

मुलुकभर २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था छन् । ती सहकारीमा ७३ लाख भन्दा बढी सदस्य आवद्ध छन् । संविधानले सहकारी क्षेत्रलाई तोकेको जिम्मेवारी, सहकारीको सिद्धान्त, मूल्य, मान्यता, मर्म र भावना अनुसार चल्न सहकारी दिवसले सबै सहकारीकर्मीलाई प्रेरणा प्रदान गर्नेमा सहअध्यक्ष पौडेलले विश्वास व्यक्त गरेका छन् ।
‘संविधानको मर्म अनुरुप सहकारीले समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा सघाउनु पर्छ,’ सहअध्यक्ष पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।
सहकारीले मुलुकको गरिबी न्यूनीकरण गर्दै मुलुकको आर्थिक सम्वृद्धिको सारथी बन्न सक्ने बताउँदै सहकारीमा जम्मा भएको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचलान गरेर सार्थकता दिन आग्रह गरेका छन् ।

अभिलेख

लोकप्रिय