१६ भदौ २०८३, मङ्गलबार

सहकारी अभियानको अग्रणी व्यक्तित्व बाँस्कोटालाई राष्ट्रिय पुरस्कार

२०७८ असार १९, शनिवार
सहकारी अभियानको अग्रणी व्यक्तित्व बाँस्कोटालाई राष्ट्रिय पुरस्कार

काठमाडौं : नेपालको सहकारी अभियानको अग्रणी व्यक्तित्व दिपक प्रकाश बाँस्कोटा ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित हुनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघ, नेपालले उहाँलाई ६४ औं राष्ट्रिय सहकारी दिवस (चैत २०)को दिन ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मान गर्ने घोषणा गरेको थियो । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आज आयोजित विशेष समारोहमा उहाँलाई सम्मान गरिएको हो ।  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले सम्मान गर्नुभएको थियो । उहाँ नगद पचास हजार सहित सम्मानित हुनुभएको हो ।

बाँस्कोटाले नेपालकाृ सहकारी अभियानमा पुर्याएको योगदानको कदर स्वरुप ‘राष्ट्रिय सहकारी पुरस्कार प्रदान गरिएको महासंघले जनाएको छ । सहकारी ऐन–२०४८ र नियमावली निर्माण उहाँकै नेतृत्वमा भएको थियो । समुदायको सामाजिक आर्थिक विकासमा सहकारी जस्तो शसक्त माध्यम नभएको निष्कर्ष विदेश भ्रमणबाट निकालेपछि राजनीतिलाई अल्पविराम दिएर उहाँ जनतासँग प्रत्यक्ष जोडिएको सहकारी अभियानमा पूर्णत होमिनुभएको थियो । उर्जा र शिक्षा सँगालेका युवा अनि नवीन र पहुँचयोग्य प्रविधिको उपलब्धताले सहकारीलाई समाजवादको सारथी बनाउन सकिने बताउनुहुन्छ ।

बाँस्कोटा पूर्व गृह राज्यमन्त्री, राष्ट्रिय सहकारी विकास बोर्डका प्रथम अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ सहकारी प्रारुपमा पाँचथरमा सञ्चालित कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरका अध्यक्ष, महर्षि फाउन्डेशनका अध्यक्ष लगायत अन्य केही उद्योग व्यवसाय र सामाजिक संघ संस्थाहरुमा प्रत्यक्षपरोक्ष संलग्न हुनुहुन्छ । उहाँ हाल सहकारीबाट सञ्चालित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरको पनि अध्यक्ष हुनुहुन्छ ।

अभिलेख

लोकप्रिय