१६ भदौ २०८३, मङ्गलबार

चोरको टार्गेटमा सहकारी, सात सहकारी लुट्ने युवक पक्राउ

२०७८ असार १५, मङ्गलबार
चोरको टार्गेटमा सहकारी, सात सहकारी लुट्ने युवक पक्राउ

काठमाडौं : निषेधाज्ञाको समयमा काठमाडौंका विभिन्न स्थानका सहकारी संस्थामा चोरी भएको घटना बाहिरीएको छ । विभिन्न सात वटा सहकारीबाट नगद तथा सुन चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नुवाकोट वेल्कोट नगरपालिका घर भएका २२ वर्षीय दीपक गजुरेललाई पक्राउ गरेको हो । उनलाई प्रहरीले उनलाई शनिबार गौशालामा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

उनको साथबाट प्रहरीले सीसा काट्ने मेसिन, मास्टर चाबी, विभिन्न बैकको खातामा जम्मा गरेको नगद समेत बरामद गरेको थियो । गजुरेलले अहिलेसम्म विभिन्न ७ वटा सहकारीबाट ४३ लाख ९७ हजार ३ सय २६ रुपैयाँ चोरी गरेको देखिएको छ। त्यस्तै ९ तोला सुनसमेत चोरी गरेको आरोप रहेको प्रहरीले जानकारी दिएको छ।

गजुरेलले २०७७ माघ १५ गते बानेश्वरको बेबिलोन उपभोक्ता सहकारी संस्थाबाट ७ लाख २ हजार ६ सय ३६ रुपैयाँ चोरी गरेका थिए। त्यस्तै शंखमुलको घर संसार सहकारीबाट २ लाख २४ हजार ९४ रुपैयाँ, मित्रपार्कको पन्च श्री बचतबाट १४ लाख ९८ हजार रुपैयाँ, कोटेश्वरको सिमश स्वामी बचतबाट २ लाख रुपैयाँ चोरी गरेको खुलेको हो। त्यस्तै मैतीदेवीको एउटै घरमा रहेका ज्येष्ठ आइडोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख रुपैयाँ नगद तथा मोबाइल तथा ल्यापटप १–१ थान र गौथली बचत तथा ऋण सहकारी संस्थाबाट नगद २ लाख ५८ हजार रुपैयाँ तथा ९ तोला सुन चोरी भएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अभिलेख

लोकप्रिय