३० असार २०८३, मङ्गलबार

प्रविधिमा नेचुरल साकाेस एक कदम अगाडि, थप तीन सेवा शुभारम्भ

२०७७ चैत २०, शुक्रबार
प्रविधिमा नेचुरल साकाेस एक कदम अगाडि, थप तीन सेवा शुभारम्भ

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सदस्यहरुका लागि ३ वटा नयाँ सुविधा थप गरेको छ ।  संस्थाले आजबाट ती सुविधाको औपचारिक रुपमा शुरुवात गरेको हो ।

६४औं राष्ट्रिय सहकारी दिवसको ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारा रहेको र त्यसैलाई सार्थकता दिन नयाँ प्रविधि शुरु गरिएको संस्थाका कार्यकारी प्रमुख विकल्प पाठकले जानकारी दिनुभयाे । संस्थाले ई–टेलर, ई–पेमेन्ट र फोन–पे सञ्चालनमा ल्याएको हो । सदस्यहरुले संस्थाको मुख्य कार्यालयसहित सबै सेवा केन्द्रबाट उक्त सुविधा लिन सकिने पाठकले बताउनुभयाे । सदस्यहरुले नेचुरल मोबाइल एपको प्रयोग गरी उक्त सुविधाहरु लिन सक्नेछन् ।

‘ई–टेलर बैंकिङ सेवा लिनका लागि संस्थाको क्यास काउण्टरमा राखिएको क्यूआर कोड स्क्यान गरी रकम झिक्नका लागि अनुरोध गर्न सकिन्छ,’ पाठकले भन्नभयाे, ‘सदस्यले गरेको अनुरोधका आधारमा चेक बिना नै रकम उपलब्ध गराइन्छ र सदस्यले माग गरेको रकम प्राप्त गर्न सक्छन् ।’ यो सुविधा लिन संस्थाको कार्यालयमा नै जानुपर्ने हुन्छ ।

त्यसैगरी संस्थाले ई–पेमेन्ट सुविधा पनि शुरु गरेको छ । सदस्यले ई–पेमेन्ट सेवाका लागि शुरुमा एउटा फारम भरेर पिन कोड लिनुपर्ने हुन्छ । पिन कोड प्राप्त भएपछि सो को प्रयोग गरेर घरमै बसेर रकम ट्रान्सफर गर्न सकिनेछ भने पिन कोड कै आधारमा सदस्यले भुक्तानी दिन चाहेको व्यक्ति संस्थाको काउण्टरमा गई रकम भुक्तानी लिन समेत सक्छन् ।

त्यसैगरी फोन–पे ई–टेलर सुविधामार्फत सदस्यहरुले कुनै पनि बैंक तथा वित्तीय संस्थामा भएको पैसा नेचुरल सहकारीमार्फत झिक्न सक्नेछन् । यो सुविधा गैर सदस्यहरुलाई पनि उपलब्ध गराएको संस्थाले जनाएको छ । यो सुविधा निःशुल्क उपलब्ध गराएको पाठकले बताउनुभयाे ।

‘सदस्यको कुनै बैंक खातामा पैसा छ भने उसले फोन–पे मार्फत स्क्यान गरेर नेचुरलको काउण्टरबाटै पैसा झिक्न सक्छ । बैंकको शाखा खोज्दै हिँड्नु पर्दैन,  उक्त एपको प्रयोग गरी सहज रुपमा रकम निकाल्न सकिन्छ’ उहाँँले भन्नुभयो ।

संस्थाले ई–सेवा र फोन–पेसँग सम्झौता गरेर ती सेवा सञ्चालनमा ल्याएको हो । संस्थाले ती सुविधाहरुको प्रयोगको विषयमा आफ्ना बजार प्रतिनिधिहरुमार्फत सिकाउँदै आएको छ । संस्थाले छुट्टै आइटी डिपार्ट नै खडा गरेको छ । संस्थामा ५० भन्दा बढि बजार प्रतिनिधि कार्यरत छन् र उनीहरुमार्फत सम्पूर्ण सदस्यहरुलाई मोबाइल एप डाउनलोड गरी चेकलेस र क्यासलेस पेमन्टका बारेमा सिकाउँदै आएको उहाँले जानकारी दिनुभयाे ।

संस्थाले नयाँ प्रविधिहरुलाई आत्मसात गर्दै अगाडि बढेको र कोभिड १९ पछि त नयाँ नयाँ प्रविधिको प्रयोगले झनै तीब्रता पाएको उहाँको भनाइ छ । पैसाबाट पनि विभिन्न रोगका भाइरसहरु फैलिन सक्ने हुँदा सबैले प्रविधिलाई आत्मसात गर्नु अनिवार्य हुन गएको पाठकको बुझाई छ ।

प्रतिस्पर्धी बजारमा प्रविधिलाई नअपनाई संस्था दीर्घकालिन रुपमा सञ्चालन गर्न नसकिने र अबको एकदुई वर्षपछि सबै कारोबार क्यूआर कोडमय हुने हुँदा संस्थाले पनि अहिलेदेखि नै त्यस्ता प्रविधिहरुलाई भित्राई अगाडि बढेको उहाँले बताउनुभयाे । ‘संस्थाले प्रविधिलाई मात्रै भित्राएको छैन त्यसको सुरक्षाको विषयमा पनि गम्भीर रुपले हेरिराखेको छ,’ उहाँले भन्नुभयो, ‘भोलिका दिनमा हुनसक्ने सम्भावित दुर्घटना हुन नदिन समेत हामीले सचेत छौं ।’                        ‘बजारमा धेरै किसिमका सहकारी छन्, सहकारीमा समस्या पनि छ त्यसैले संस्थागत सुशासनमा चलेका, प्रविधिमा जोडिएका र सिद्धान्तअनुसार चलेका संस्थामा मात्र कारोबार गर्न म अनुरोध गर्छु’ उहाँले जोड दिनुभयो ।

अभिलेख

लोकप्रिय