३० असार २०८३, मङ्गलबार

नेपाल सहकारी बैंक स्थापना गर्न राष्ट्र बैंकमा आवेदन

२०७७ चैत ११, बुधबार
नेपाल सहकारी बैंक स्थापना गर्न राष्ट्र बैंकमा आवेदन

काठमाडौं : प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडले बैंक स्थापनाको प्रक्रिया अघि बढाउनका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिएको छ । नेपाल सहकारी बैंक लि. तदर्थ समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई बैंक स्थापना गर्न स्वीकृत प्रदान गर्न आग्रह गर्दै पत्र बुझाएका हुन् ।

बैंक दर्ताको कानुनी पक्रिया बमोजिम सहकारी विभागले नेपाल राष्ट्र बैंकमा पत्र पठाएपछि सहकारी बैंकको टोलीले गर्भनरलाई भेटेर पत्र बुझाउँदै बैंक स्थापनाको औचित्यका बारेमा जानकारी गराएका थिए । पत्र बुझ्दै गर्भनर अधिकारीले कानुनमा भएको व्यवस्था अनुसार अघि बढ्ने बताउनुभयो । राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, अध्यक्ष भण्डारी, बैंकका सञ्चालक ज्ञानेन्द्र पौडेल, दिलीप पौडेल, सल्लाहकार भानुभक्त ढलकासहितको टोलीले गर्भनरलाई भेटेर बैंक स्थापनाको औचित्य बारेमा जानकारी गराएका थिए ।

राष्ट्रिय अर्थतन्त्रमा सहकारीको योगदान अभिबृद्धि गर्न,सहकारी क्षेत्रलाई दिगो र गुणस्तरीय बैंकिङ्ग तथा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य राखी नेपाल सहकारी बैंक लिमिटेड लि. स्थापना गर्न लागिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

सहकारी ऐन, २०७४ अनुसार प्रस्तावित बैंकले सहकारी विभागमा यस अघि नै आवेदन दिएर प्रक्रिया अघि बढाएको छ । अहिले मुलुकमा एउटामात्र सहकारी बैंक भएकाले अरु बैंक पनि आवस्यक भएको राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले बताउनुभएको थियो । ३० हजार भन्दा बढी सहकारी संघ÷संस्थाहरूबाट ८ खर्बभन्दा बढीको निक्षेप परिचालन गरी सोही बराबरको कर्जा लगानी भएकाले बैंक आवश्यक रहेको पौडेलले बताउनुभयो ।

सहकारी ऐन, २०७४ को दफा १४ को उपदफा (३) मा व्यवस्था भए बमोजिम बैंक दर्ताको लागि उक्त दफाको उपदफा (२) मा उल्लेखित कागजातका अतिरिक्त राष्ट्र बैंकको पूर्व स्वीकृती पत्रका लागि आवेदन दिएको बैंकले जनाएको छ । बैंक स्थापनाको लागि प्रकृया अगाडि बढाउन सहकारी विभागमा पत्राचार गरिदिन समेत आग्रह गरेको बैंकका सञ्चालक ज्ञानेन्द्र पौडेलले अनुरोध गर्नुभयो ।

भेटमा नेपाल सहकारी बैंकका सल्लाहकार भानुभक्त ढकालले एउटा मात्र बैंकले सबैसहकारीलाई सेवा दिन नसक्ने भएकाले अर्को सहकारी बैंक आवश्यक रहेको बताउनुभयो ।

सहकारीमा तीन लाख भन्दा बढी नागरिकहरूले रोजगारी प्राप्त गरेका छन् । ७३ लाख भन्दा बढी नागरिकहरूले सहकारी संघ÷संस्थाहरूबाट प्रत्यक्ष सेवा तथा सुविधाहरू प्राप्त गरेका छन् ।

अभिलेख

लोकप्रिय