सहकारीबाट कोरोनाकालमै सात टन अर्गानिक कफी विदेश निर्यात
सिन्धुपाल्चोक : कोभिड–१९ को संक्रमणबीच सम्पूर्ण व्यापार ठप्पप्रायः छ । जिल्लाबाट चीन जोड्ने उत्तरी तातोपानी नाका एकतर्फी मात्र खोलिएको छ । तर कोरोना कालमै पनि सिन्धु कफी सहकारी संघबाट वार्षिक सात टन अर्गानिक कफी विदेश निर्यात रोकिएको छैन ।
कृषि क्षेत्रमा विकसित मानिएका देश जापान, अस्ट्रेलियादेखि कोरियासम्म अर्गानिक कफी कोभिडअघिझैं हवाई र जलमार्गबाट निर्यात गरिरहेको जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोककी अध्यक्ष मञ्जु खड्का (मन्दु) ले जानकारी दिइन् ।
‘कोभिड र कफीमा रोग लाग्ने समस्याले केही उत्पादनमा कमी ल्यायो । कृषक केही निरुत्साहित भए । तर तीन देशमा सिन्धुको कफी लोकप्रिय भएकाले निर्यात रोकिएको छैन,’ खड्का भन्छिन्, ‘यसले सम्पूर्ण कृषकको मात्रै नभई देशको नाम राखेको छ ।’ जिल्लाभर १ सय २४ हेक्टर क्षेत्रफलमा भइरहेको कफी तीन देशमा निर्यातयोग्य ‘कफी ग्रिन बिट’ प्रतिकिलो ९ डलरमा बिक्री हुने र पर्याप्त माग हुने गरेको उनले सुनाइन् ।
२०६४ सालदेखि एउटा सामाजिक संस्थाबाट सुरु गरिएको कफी खेतीलाई सहकारी संघबाट व्यवस्थित बनाएर जिल्लामा पहिलो पटक सुरु गरिएको हो । जिल्ला कफी सहकारी संघबाट ‘अर्गानिक सर्टिफिकेसन’ सकेर तीन देशमा वार्षिक सात टन कफी निरन्तर निर्यात गरिँदै आएको छ ।
खड्काका अनुसार कोरियामा ‘ब्युटिफुल कफी कोरिया’, अस्ट्रेलियामा ‘हिमालयन अर्गानिक कफी अस्ट्रेलिया’ र जापानमा ‘कफी अफ नेपाल’ जस्ता संस्थाले संस्थागत व्यापारका रूपमा कफी लैजाने गरेका छन् । ‘यसबराबर आउने मुनाफा प्रत्येक आम कफी किसानलाई प्रतिकिलो १० रुपैयाँ बराबर बाँडिन्छ । उहाँहरूको प्रत्येक कफीसम्बन्धी समस्यालाई हरसम्भव हेर्ने गर्छौं,’ उनले भनिन् ।
राजधानी काठमाडौंदेखि अन्य स्थानीय बजारका लागि भने गत शुक्रबारबाट ‘सिन्धु अर्गानिक कफी’ नामक ब्रान्डको लोगो राखेर बिक्रीका लागि लगिएको छ ।
जिल्लाभरको कफी उत्पादन, प्रशोधन र बजारीकरणको जिम्मा लिएको कफी सहकारी संघले नेपालमा ‘सिन्धु अर्गानिक कफी’ ब्रान्डिङ गरे पनि विदेशी भूमिमा सहकारी संघकै नाममा निर्यात गरिँदै छ । जिल्लाभरका १२ वटा सहकारी र १८ समूहका व्यावसायिक कफी कृषक सहकारीसँग सम्पर्कमा रहिरन्छन् ।
जिल्लाभर गरी वार्षिक उत्पादन हुने ३० टनभन्दा बढी कफीबाट मात्रै वार्षिक करिब २ करोड आम्दानी हुने गरेको छ । बाह्रबिसे, चौतारा साँगाचोकगढी, मेलम्ची नगरदेखि अन्य पाँच गाउँपालिकभर झन्डै २ हजार १ सय ५० कृषक परिवार व्यावसायिक कफी खेतीमा छन् । असार महिनामा लगाइने कफीका बोटबाट पूरा उत्पादन लिन तीन वर्षको समय लाग्छ ।
कान्तिपुरबाट साभार
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार