३० असार २०८३, मङ्गलबार

नेफ्स्कूनको ब्याजदर न्यूनतम ७ प्रतिशत कायम

२०७७ पुष १५, बुधबार
नेफ्स्कूनको ब्याजदर न्यूनतम ७ प्रतिशत कायम

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले अब एक अंकको ब्याज दरमै ऋण सेवा उपलब्ध गराउने भएको छ ।

सहकारीमार्फत कृषि क्षेत्र प्रवर्धनका लागि नेफ्स्कूनले सदस्यहरुलाई १ वर्षका लागि ७ प्रतिशत ब्याजदरमा ‘कृषि थोक ऋण’ उपलब्ध गराउने भएको छ । अब साकोसहरुले आफ्ना सदस्यहरुको कृषिकर्मलाई व्यावसायिकीकरण गर्न नेफ्स्कूनबाट ७ प्रतिशतमा थोक ऋण सेवा लिन सक्नेछन् ।

त्यसैगरी, ‘आपतकालीन तरलता सापटी’ शीर्षको ऋणमा पनि ब्याजदर ७ प्रतिशत नै कायम गरिएको छ । सहकारीहरुलाई उत्पादनको क्षेत्रमा जोड्नुपर्ने राष्ट्रिय आवश्यकता सम्बोधन गर्न र कोभिडको प्रतिकुलताका कारण सदस्य संघ/संस्थाहरुमा आवश्यक पर्न सक्ने तरलता संकट समाधानका लागि नेफ्स्कूनले यी दुवै ऋण सेवाका शीर्षकको ब्याजदर परिमार्जन गरी ७ प्रतिशत कायम गरेको हो ।

देशभरका बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघले बचतको अघिल्लो ब्याजदरमा कुनै परिवर्तन नगरी ऋणको ब्याजदर मात्र कम गरेको हो । नेफ्स्कूनको यो कदमले सहकारीको ऋणमा कम र बचतमा बढी ब्याजदरको सैद्धान्तिक आधारको पुष्ट्याइँ समेत गरेको छ ।

उत्पानशील क्षेत्रमा लगानी प्रवर्धन गर्न नेफ्स्कूनले विभिन्न ऋण शीर्षकमा ०.२५ प्रतिशतदेखि २.५ प्रतिशतसम्म ब्याजदर घटाएको छ । नेफ्स्कूनले भोली अर्थात् पुस १५ गतेदेखि लागू हुने गरी ऋणका अन्य शीर्षकहरुमा समेत ब्याजदर घटाएको छ ।

अभिलेख

लोकप्रिय