३० असार २०८३, मङ्गलबार

साना किसान सहकारी पुनर्वासमा अनियमितता, नियामकले समेत वेवास्ता गरेपछि सदस्यद्वारा कार्यालयमा ताला

२०७७ पुष ६, सोमबार
साना किसान सहकारी पुनर्वासमा अनियमितता, नियामकले समेत वेवास्ता गरेपछि सदस्यद्वारा कार्यालयमा ताला

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका– ५ स्थित साना किसान सहकारी संस्थामा सदस्यहरुले ताला लगाएका छन् । भवन निमार्ण गर्दा सञ्चालक समितिले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरुले संस्थामा ताला लगाएका हुन् ।

सदस्यहरुले अनियमितता बारे छानबिन र सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । सत्यतथ्य सार्वजनिक नगरेसम्म लेखापरीक्षण समेत गर्न सदस्यहरुले रोक लगाएको छ । संस्थाले आर्थिक वर्ष २०७६÷०७७ को लेखापरिक्षण समेत गर्न सकेको छैन । पुष भित्र संस्थाको साधारण सभा गरिसक्नु पर्ने कानुनी प्रवधान भएपनि हालसम्म लेखापरिक्षण गरेको छैन । रेट्रोफिटिङ्ग सहित माथिल्लो तला, दुईतिर पर्खाल, शौचालय, समरसिबल मोटर जडानमा आर्थिक अनियमितता गरेको सदस्यको आरोप छ ।

संस्थाले लेखापरिक्षण गरी भ्रष्टाचारको तथ्य सामसुम पार्न खोजेको समेत आरोप लगाएका छन् । सञ्चालक समितिका पदाधिकारीहरुले एक दिनमा सकिने बैठक २÷३ दिन लगाएर बैठक लम्ब्याई बैठक भत्ता खाने गरेको, कर्जाको धितो मुल्याङ्कन गर्ने भनी सर्बसाधारणबाट रकम असुल्ने गरेको, सञ्चालक समितिमा बसिसकेका मान्छे अन्य उपसमितिमा पनि बसेको, सामाग्री खरिद समिति बिना कोटेशन आह्वान नगरी आफु खुशी भवन निर्माण गरेको, साधारण सभाबाट योजना तर्जुमा पारित नगरी ब्यवस्थापकले आफुखुशी खर्च गर्ने गरेको आरोप सदस्यहरुले लगाएका छन् ।

सञ्चालक समितिले कार्यालयको रेट्रोफिटिङ्ग गरि माथिल्लो तला थप्दा आर्थिक अनियमितता भएको आरोप लगाएका हुने । सो सहकारीमा हुँदै आएको चरम आर्थिक अनियमितताको छानबिनका लागि शेयर सदस्यहरुले अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा समेत उजुरी दिए पनि सुनुवाइ नभएको शेयर सदस्यहरु बताउँछन् । त्यस्तै जिल्ला प्रशासन, नगरपालिकामा समेत सदस्यहरुले उजुरी दिएका छन् । उजुरी दिएको लामो समयहुँदा समेत कुनै निकायले चासो नदिएपछि तालाबन्दी गरेका हुन् ।

संस्थामा कुनै पनि किसिमको आर्थिक अनियमितता नभएको अध्यक्ष शोभा सुयलले बताउनुभयो । विभिन्न निकायमा उजुरी सदस्यहरुले दिएको र आर्थिक अनियमिता भेटिए कारबाही भोग्न तयार रहेको उहाँले बताउनुभयो । सदस्यहरुकै कारण लेखापरिक्षण समेत गर्न नसकेको अध्यक्ष सुयलले बताउनुभयो । सदस्यहरुकै म्याण्डेट अनुसार भवन निर्माण गरेको र अनियमितता देखिए सञ्चालक समिति, भवन निर्माण उप समिति, कर्मचारी कारबाहीको भागीदार हुने उहाँले बताउनुभयो ।

‘६ जना सदस्यहरुले ताला लगाउनु भएको हो’, उहाँले भन्नुभयो, ‘संस्थामा २५ सय सदस्य रहनुभएको छ । अन्य सदस्यहरुले कारोबार गर्न पाउनु भएको छैन । संस्थामा ताला लगाउनुभन्दा सत्यतथ्य छानविन गर्न सहजिकरण गर्नुपर्छ ।’

अभिलेख

लोकप्रिय