१४ भदौ २०८३, आईतवार

श्री लालीगुराँस सहकारीको २१औं साधारण सभा सम्पन्न, अध्यक्षमा अमरदास श्रेष्ठ निर्वाचित

२०७७ मंसिर २७, शनिवार
श्री लालीगुराँस सहकारीको २१औं साधारण सभा सम्पन्न, अध्यक्षमा अमरदास श्रेष्ठ निर्वाचित

ललितपुर : पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औ वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य–समिति चयन गरेको छ । नव निर्वाचित कार्य–समितिका उपाध्क्षमा हजुरी विष्ट, सचिवमा सुरेन्द्र भण्डारी, कोषाध्यक्षमा अमृतकुमार अर्याल रहनु भएको छ ।

चारवर्षे कार्यकालको लागि भएको निर्वाचनमा सदस्यहरुमा कदम जोशी प्रधान, भोला कुमार श्रेष्ठ र आर्या सिंह भण्डारी निर्विरोध निर्वाचित हुनुभएका छन् ।
लेखा समितिको संयोजकमा पुण्यप्रसाद पोखरेल र सदस्यहरुमा विद्यादेवी पाण्डे र तिमिला रञ्जित निर्वाचित हुनुभएको छ । नवनिर्वाचि पदाधिकारी, लेखा समितिका संयोजक र सदस्यलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता रत्न अवाले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।

कोरोना भाइरसको कारण २५ जना भन्दा बढी शेयर सदस्यलाई भेला गर्न नहुने निर्देशनपछि संस्थाले मंसिर ११ देखि २६ गतेसम्म संस्थाको मुख्य कार्यालय तथा सदस्य सुविधा काउण्टरहरुमा शेयर सदस्यहरुको नामावली दर्ता भएपछि प्रतिनिधित्वको रुपमा आयोजना गरिएको साधारणसभामा संस्थाका सचिव सुरेन्द्र भण्डारीले कोरोना भाइरस संक्रमणको कारण सहकारी क्षेत्रमा परेको प्रभाव र सोको कारण भविष्यमा पर्न सक्ने असरको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कोरोना संक्रमण बाबजुद सहकारी क्षेत्रमा श्री लालीगँुरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटिडले गरेको योगदानको चर्चा गर्नुभयो । यो अवधीमा संस्थाले लगानी गरेको परियोजनामा सफलता हासिल गरेको समेत उहाँले बताउनुभयो ।

संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा उहाँले संस्थाको आ।व. ०७६÷०७७ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराउनुभयो । संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको उहाँको भनाई छ ।

सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३५ हजार सहकारी मध्ये उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताउनुभयो । पछिल्लो तथ्याङ्क अनुसार सहकारी संघ संस्थाहरुको शेयर पूँजी १ खर्ब भन्दा बढी रहेको, बचत परिचालन ८ खर्ब र सोही बराबरको ऋण प्रवाह भएको छ । उहाँले देशभरका सहकारी क्षेत्रमा प्रत्यक्ष रुपमा ३ लाख भन्दा बढी व्यक्तिहरुले रोजगारी समेत प्राप्त गरेर सहकारी बजारमा योगदान दिएको बताउनुभयो ।

सहकारी क्षेत्रको पुँजीलाई उर्जा, पर्यटन, पशुपालन, कृषि लगायत मझौला तथा ठूला परियोजना तथा उद्योगमा लगानी गर्ने वातावरण सृजना गरी सहकारी मार्फत राष्ट्रिय अर्थतन्त्रको विकास धारणा राख्दै उहाँले सहकारी मार्फत बचत ऋण लगायत उत्पादनको कार्य गर्न वर्तमान सहकारी ऐन २०७४ मा संशोधन अपरिहार्य रहेको बताउनुभयो ।

सहकारीमार्फत देशको आर्थिक विकास गर्न सहकारी मैत्री कानून निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अघि बढाउने स्पष्ट पार्नुभयो । संस्था स्थापना भएको दुई दशकमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २२ हजार पुगेको छ ।

संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म संचालन गरेको, अस्पताललाई थप गुणस्तरीय सेवा उपलब्ध गराउन सहकारी संस्था मार्फत आफ्नै भवनमा अस्पताल संचालन गर्ने तयारी गरेको छ ।

संस्थाले संस्था स्थापना भएको दिन असोज यही १५ गतेदेखि “श्री लालीगुराँस दुग्ध प्रसोधन उद्योग” संचालन भएको जानकारी गराउनुभयो । संस्थाले निकट भविष्यमा काठमाडौको नयाँ बजार, महाराजगंज, भक्तपुरको सुर्यविनायक, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायीत्व अन्तर्गत बहुउद्देश्यीय लगानी अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल, शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा श्री लालीगुराँस उच्च मावि÷कलेज, डेरी परियोजना तर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाईड्रोपावर लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ ।

साधारण सभामा संस्थाका १७ जना जेष्ठ शेयरसदस्य, संस्थाका सर्वोत्कृष्ट, उत्कृष्ट र ५ वर्षे सेवा गरेका कार्यक्रममा सर्वोत्कृष्ठ कर्मचारी सविना विष्ट सहित ५ जना उत्कृष्ठ कर्मचारीलाई नगद सहित सम्मान गरिएको छ । साथै सभाले शेयर सदस्यहरुलाई १२ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

अभिलेख

लोकप्रिय