४ वैशाख २०८३, शुक्रबार

आउने भयो सहकारी कर्जा सूचना केन्द्र, विशिष्टकृत संघको ढाँचामा स्थापना हुने

२०७७ जेठ ३, शनिवार
आउने भयो सहकारी कर्जा सूचना केन्द्र, विशिष्टकृत संघको ढाँचामा स्थापना हुने

काठमाडौं, ३ जेठ

सहकारी संघ/संस्थाको वित्तीय कारोबारको जोखिमलाई न्यूनीकरण गर्न विशिष्टकृत सहकारी संघको ढाँचामा कर्जा सूचना केन्द्र स्थापना हुने भएको छ ।

त्यस्तै सोही ढाँचामा सहकारी बचत तथा कर्जा सुरक्षण कोषको स्थापना हुने भएको छ । राष्ट्रिय सहकारी महासंघ व्यवस्थापनबाट तयार भएको कार्यविधिलाई संचालक सदस्यहरुको सुझावको आधारमा परिमार्जन गरी मन्त्रालयमा पेश गर्ने निर्णय भएको छ ।

राष्ट्रिय सहकारी महासंघको शुक्रबार १९० औं संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा बसेको सो बैठकले सहकारी ऐन अनुरुप स्थापना हुने कर्जा सूचना केन्द्र र सहकारी बचत तथा कर्जा सुरक्षण कोषको स्थापनाको आधार, सदस्यता, पूजी संरचना, सांगठनिक ढाचा लगायतका व्यवस्थाहरु मन्त्रालयले स्वीकृत गरे बमोजिम हुने भएकोले महासंघले यस भन्दा अगावै उक्त केन्द्र र कोष स्थापनाका लागि सरोकारवाला निकायहरुसंग छलफल गरी विनियमको मस्यौदा तयार गरेको थियो ।

यसै गरी बैठकले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, उपचार तथा नियन्त्रण कोषमा योगदान गर्ने निर्णय गरेको छ । त्यसका लागि विभिन्न सहकारी संघ संस्थाबाट हालसम्म १२ लाख भन्दाबढी जम्मा भइरहेकोमा सो रकममा महासंघबाट थप गरी नेपाल सरकारको कोषमा सहकारी अभियानको तर्फबाट एकमुष्ठ योगदान गर्ने निर्णय गरेको हो । साथै, बैठकले विश्वभर फैलिएको कोरोना भाइरसको यस विषम परिस्थितिमा सहकारी क्षेत्रमा देखिएका चुनौती र अवसरका विषयमा समेत छलफल गरी त्यसको समाधानका लागि तत्काल पहलकदमी गर्ने निर्णय भएको महासंघका अध्यक्ष मिनराज कँडेलले बताउनुभयो । बैठकले सहकारी अभियानले गरेको योगदानको तथ्यांकलाई वैज्ञानिक रुपमा अभिलेखिकरण गरी सम्बन्धी निकायहरुमा पेश गर्ने समेत निर्णय गरेको छ ।

लकडाउनको समयमा सदस्य तथा किसानको उत्पादन संकलन गरी बजारीकरण गर्ने कार्यमा सहकारीले उल्लेखनिय योगदान गरेको, स्थानीय, प्रदेश र केन्द्र सरकारको कोरोना नियन्त्रण, उपचार र रोकथाम कोषमा सहयोग गरेको विषयमा समेत छलफल भयो ।

कोभिड १९ का कारण महासंघले यस आर्थिक बर्षमा आयोजना गर्ने भनेका करिब एक दर्जनबढी कार्यक्रम स्थगित गर्ने निणर्ण गरेको छ । बचत तथा ऋणको सन्दर्भ ब्याजदर पुनरावलोकनका महासंघले नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्याललाई केन्द्रीय विषयगत संघहरुबाट प्रतिनिधित्व गराउने निर्णयलाई अनुमोदन गरेको छ । त्यसैगरि बैठकले नेपाल सरकारको आर्थिक बर्ष २०७७÷०७८ को आर्थिक विधेयक र नीति तथा कार्यक्रम र बजेटमा पठाएको सुझावको विषयमा समेत छलफल भएको थियो ।

भर्चुअल बैठकमा महासंघका अध्यक्ष कँडेल, निर्वतमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, महाप्रबन्धक तथा बोर्डका सदस्यसचिव चित्राकुमारी थाम्सुहाङ सुब्बा भने कार्यालयमा नै उपस्थिति हुनु भएको थियो । महासंघले पहिलो पटक भर्चुअल बोर्ड बैठक गरेको हो ।

अभिलेख

लोकप्रिय