७ असोज २०८३, बुधबार

ग्रामिण भेगमा पँहुच विस्तार गर्दै बचत संघ काभ्रे

२०७६ फागुन १९, सोमबार
ग्रामिण भेगमा पँहुच विस्तार गर्दै बचत संघ काभ्रे

सन्तोष तिमल्सिना

बनेपा, १९ फागुन

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले ग्रामिण भेगमा स्थापना भई संचालनमा रहेका साकोसहरुलाई संघमा आवद्धता गरी ग्रामिण भेगमा समेत सहकारीको पँहुच विस्तार गर्ने भएको छ ।

संघका उपाध्यक्ष इन्द्रप्रसाद अधिकारीले संघले आगामी दिनमा काभ्रेका स्थानीय निकायहरुसँग समन्वय गरी ग्रामिण भेगमा स्थापना भएका सहकारीहरुको विकास लागि सेवा केन्द्रहरु स्थापना गरी संघले डाँडापारीदेखि कोशीपारी भेगसम्मका सहकारीहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको बताउनु भयो ।

जिल्ला बचत संघ काभ्रेको आयोजना तथा जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सह– आयोजनामा जिल्लामा कार्यरत सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रममा जिल्ला बचत संघको गतिविधि तथा वित्तीय अवस्थाका बारेमा संघका उपाध्यक्ष इन्द्र प्रसाद अधिकारीले प्रस्तुतीकरण गर्नु भएको थियो ।

सह– आयोजक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धुलिखेलका अध्यक्ष उद्धव प्रसाद बडालको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उक्त संस्थाका ब्यवस्थापक नवराज वडालले जनमुखी साकोसको संक्षिप्त परिचय सहितको प्रतिवेदन संस्थाको प्रस्तुत गर्नु भएको थियो ।

“साकोसहरुको संस्थागत विकासका लागि सक्षम जिल्ला संघ” भन्ने परिकल्पनाका साथ वि.स २०५३ सालमा स्थापित काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडमा हालसम्म २३३ वटा सहकारी संस्थाहरु आवद्ध रहेका छन् ।

सहकारी संस्थालाई प्रविधिमैत्री बनाई सामुदायिक विकास, संस्थाहरुको क्षमता अभिबृद्धि, अन्तर लगानी कार्यक्रम मार्फत बचत संकलन तथा ऋण परिचालन, सहकारी विकास तथा प्रवद्धृन कार्यक्रम, सहकारीहरु बिच समन्वय र सञ्जाल विकास, कानुनी परामर्श तथा सहयोग, सहकारी कर्जा सूचनाकेन्द्र सञ्चालन जस्ता कार्यहरु संचालन गर्दै आएको बचत संघले आगामी काभ्रेका १३ वटै स्थानीय तहमा सेवा विस्तार गर्ने लक्ष्य लिएको संघका उपाध्यक्ष अधिकारीले बताउनु भयो ।

राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लगायतका सहकारीका छाता संगठनहरुमा आवद्धता रही विभिन्न सरकारी निकाय तथा गैर सरकारी संस्थाहरुसंग समन्वयात्मक भूमिका निर्वाह गरी उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघ बनाउने अभियानमा लागेको संघका प्रबन्धक गुरु प्रसाद ढकालले जानकारी दिनु भयो ।

अभिलेख

लोकप्रिय