सहकारीले उत्पादन गरेको कफी अमेरिका, जापान र कोरिया निर्यात हुन थाल्यो
तनहुँ, १२ फागुन
तनहुँमा कफी खेती फस्टाउँदै गएको छ। तनहुँमा उत्पादित कफी अमेरिका, जापान र कोरियालगायत मुलुकमा निर्यात हुन थालेपछि फस्टाएको हो।
तनहुँको कफी गुणस्तरयुक्त भएकाले विदेशबाट माग बढी हुने गरेको तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अध्यक्ष शिव बोहोराले जानकारी दिनुभयो। विगत एक दशकदेखि यहाँको कफी तेस्रो मुलुकमा निर्यात हुँदै आएको बोहोराले बताउनुभयो।
जिल्लामा उत्पादित कफी ल्याब टेस्टबाट समेत उच्च गुणस्तरयुक्त प्रमाणित भएको बोहोराले बताउनुभयो। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको समन्वयमा जिल्लामा उत्पादित कफी तेस्रो मुलुक निर्यात गरिएको उहाँले जानकारी दिनुभयो। जिल्लाका १२ वटा कफी उत्पादक कृषि सहकारी संस्था तथा व्यक्तिगत रुपमा उत्पादित कफी जिल्ला कृषि सहकारी संघमार्फत बोर्डको समन्वयमा ती मुलुकमा निर्यात हुने गरेको उहाँले जानकारी दिनुभयो।
भानु नगरपालिका–१० मा सबैभन्दा बढी कफी उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ। उक्त वडामा मात्रै १० वटा कफी उत्पादन गर्ने सहकारी संस्था रहेको अध्यक्ष बोहोराले बताउनुभयो। बोहोराले भानु नगरपालिका–१० चोक चिसापानीमा चार रोपनी जग्गामा व्यावसायिक कफी खेती गर्नुभएको छ। उहाँ विगत १७ वर्षदेखि कफी खेतीमा संलग्न हुँदै आउनुभएको छ।
‘अन्य बालीभन्दा कफीमा धेरै आम्दानी हुने हुँदा कफी खेतीमा लागेको हुँ, धेरै मेहेनत पनि गर्नुपर्ने खेती होइन’, उहाँले भन्नुभयो। एउटा बोटबाट एक वर्षमा कम्तीमा एक हजार रुपियाँसम्म आम्दानी हुने उहाँको अनुभव छ। त्यस्तै बन्दीपुर र देवघाट गाउँपालिकामा समेत कफी उत्पादन गर्ने सहकारी र कृषकहरू रहेका छन्। हेल्भेटास नाक संस्थाको सहयोगमा गाउँमै स्थापना गरिएका संकलन केन्द्रमा कफी संकलन गरी उक्त केन्द्रमार्फत मूल्य भुक्तानी दिने व्यवस्था मिलाइएको छ।
प्रत्येक सहकारी संस्थामा राखिएका पल्पर मेसिनबाट कफीको प्रशोधन गर्ने व्यवस्थासमेत मिलाइएको बोहोराको भनाइ छ। समुन्द्री सतहबाट एक हजारदेखि दुई हजार मिटरसम्म उचाईको जमीन कफी उत्पादनको लागि योग्य हुने कफी कृषक कृष्णबहादुर खड्काले जानकारी दिनुभयो। खड्काले चार रोपनी क्षेत्रफलको जग्गामा कफी खेतीका साथै नर्सरी स्थापना गर्नुभएको छ। नर्सरीमा उत्पादित कफीका बिरुवा सबै कफीका प्रारम्भिक सहकारीले खरिद गरेर कृषकलाई बिक्री वितरण गर्ने गरेको खड्काले बताउनुभयो।
जिल्लाको ४१ हेक्टर क्षेत्रफलको जमीन कफी खेती गर्न योग्य रहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। जिल्लामा वार्षिक १५ मेट्रिक टन ग्रिन विन कफी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा करिब दुई सय घर परिवार कफी खेतीमा संलग्न रहेका छन्। जिल्लाको दुई हजार हेक्टर जमीन कफी खेतीका लागि उपयुक्त रहेको छ।
अरू अन्नबाली तथा फलफुलको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने हुँदा कृषक पछिल्लो समय कफी खेतीतर्फ आकर्षित भएको र कृषि ज्ञान केन्द्रले कृषकलाई त्यसतर्फ प्रोत्साहन गरेको तिवारीको भनाइ छ।
(यो समाचार नेपाल समाचारपत्रबाट साभार गरिएको हो)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार