५ वैशाख २०८३, शनिवार

के हो युनिभरसिटी को-अपरेटिभ र को-अपरेटिभ युनिभरसिटी ?

२०७६ माघ २४, शुक्रबार
के हो युनिभरसिटी को-अपरेटिभ र को-अपरेटिभ युनिभरसिटी ?

युनिभरसिटी सहकारी र सहकारी युनिभरसिटी फरक विषय हो । युनिभरसिटी र युनिभरसिटिका कलेजहरूमा स्थापना भएका सहकारीलाई युनिभर सिटी सहकारी भनिन्छ । युनिभरसिटीका विद्यार्थी, प्राध्यापक र कर्मचारी मिलेर स्थापना गरिने सहकारी संस्थालाई नै युनिभरसिटी सहकारी भनिन्छ भने सहकारीको विषयमा अध्यापन गराउने विश्वविद्यालयलाई चाँही कोअरेटिभ युनिभरसिटी भनिन्छ ।

केशव बडाल

नमुना युनिभरसिटी सहकारी संस्थाहरू जापान, कोरिया, भारत लगायतका देशमा स्थापना भएका छन् । यसले युनिभरसिटीका विद्यार्थी, प्राध्यापक र कर्मचारीलाई संस्थामा आबद्ध गर्छ । यसले न्यूनतम सहकारीको ज्ञान दिन्छ । सहकारीको आधारभूत दर्शन, सिद्धान्त र मूल्य मान्यता सहितको ज्ञान दिने र जीवनयापनमा सहकारीले कसरी कार्य गर्दछ भन्ने बुझाउने कार्य गर्छ । साथै युनिभरसिटी भित्र आवश्यक पर्ने स्टेशनरी, क्म्प्युटर लगायत उपभोगय वस्तु सुलभ रूपमा उपलब्ध गराउन सहकारी मोडेलको अवलम्बन गरिएको हुन्छ । कोरियामा युनिभरसिटी सहकारी ३५ वटा छ । यस्ता युनिभरसिटी सहकारीको केन्द्रीय संघ समेत बनेको छ र त्यो अन्तराष्ट्रिय सहकारी महासंघको सदस्य समेत भएको छ ।

जापानमा पनि युनिभरसिटी सहकारी छन् । जापानका युनिभरसिटी सहकारी संघका प्रबन्ध संचालक सिचिमाइतका अनुसार नेशनल फेडरेसन अफ युनिभरसिटी कोअपरेटिभ जापान (ल्ँग्ऋव्) मा २१९ सदस्य संस्था छन् । यी २१९ संस्थामा १५ लाख सदस्य छन् । विद्यार्थी, कर्मचारी र प्राध्यापकहरू संस्थाका सदस्य रहेका हुन्छन् । जसमा विद्यार्थीको सख्या ९० प्रतिशत छ । १० प्रतिशत शिक्षक, कर्मचारीहरू सदस्य बनेका हुन्छन् । यस्ता युनिभरसिटीमा भर्ना हुँदा नै विद्यार्थी कर्मचारी र प्राध्यापकसँग सहाकारीको न्यूनतम सेयर रकम लिने गरिएको हुन्छ । क्षमता हुनेले वढि सेयर पनि किन्ने गर्छन । यही श्रोतले युनिभरसिटीमा आवश्यक पर्ने स्टेशनरी, पुस्तक, प्रयोगशाला उपकरण, कम्प्युटर, प्रिन्टर र आवश्यक सामग्री खरिद गर्छन र नियमित रूपमा नियम अनुसार साधारणसभा बस्छ । बेलाबखत सामाजिक कार्यक्रममा भाग लिन्छ र यस्ता सहकारी संस्थाका विद्यार्थीहरू सहर र ग्रामीण क्षेत्रको फिल्डमा गएर समस्या समाधानमा योगदान गर्छन । यसले गर्दा युनिभरसिटीका विद्यार्थीहरू खोज अनुसन्धानमा क्षमतावान हँुन्छन् ।

व्यवहारीक ज्ञान र युनिभरसिटीले दिने ज्ञान बिच तालमेल गराउन र समाज उपयोगी जनशक्ति निर्माणमा यस्ता सहकारीले ठोस योगदान गर्न सक्छन् । वास्तवमा जापानका युवा विद्यार्थीमा देशभक्तिपूर्ण भावनाको बिकास गर्न आफ्नो देशमा विकासको गति अघि बढाउन र विज्ञान प्रविधिको क्षेत्रमा कस्तो र केमा बढी जोड दिनुपर्छ भनेर खोज अनुसन्धान गर्न मद्दत पुगेको छ । कृषि र गैरकृषि क्षेत्रमा अब कसरी जानुपर्छ भन्ने उपाय पत्ता लगाउने युनिभरसिटी सहकारी अत्यन्त सहयोगी भएको कुरा उनले बताए । सहकारी क्षेत्र मानवीय आवश्यकताका यावत क्षेत्रमा जाने हुँदा युनिभरसिटीले उत्पादन गर्ने सबै संकायका विद्यार्थीले सहकारीको बारे महत्वपूर्ण ज्ञान आर्जन गर्ने हुँदा, डाक्टर इन्जिनियर, वैज्ञानिक, वकिल, प्राध्यापक, कृषि र गैर कृषि विज्ञ सबैले सहकारीका आधारभूत शिक्षा यूनिभरसिटीबाटै सदस्यको हैसियतबाट सिक्ने हुँदा देशको हर क्षेत्रका जनशक्तिलाई सहकारीको ज्ञान हुनुले सामाजिक भावना, सामाजिक उत्पादन सम्बन्ध सामाजिक व्यवसायमा सकारात्मक सोच निर्माण गर्न युनिभरसिटी सहकारीले योगदान गरेको कुरा सिचीमाइतको अनुभव थियो ।

यसै गरी भारतमा युनिभरसिटी सहकारीमा २० वर्षदेखि लगातार काम गर्दै आएका डा. डुग्रेका अनुसार भारतभरीमा ९००० युनिभरसिटी सहकारी भएको बताउँछन् । यस्ता युनिभरसिटी क्याम्पस सहकारी संस्था छन् । यस्ता संस्था, केरला, कर्नाटका, गुजरात, तामिलनाडुमा बढी छन् । उत्तर भारतमा त्यति छैन । यस्ता युनिभरसिटी कोअपरेटिभ स्थापना गर्न नेशनल कोअपरेटिभ डेभलपमेन्ट कर्पाेरेसनले प्रोत्साहन गर्ने गरेको छ । डा. डुग्रेले बैगलोरमा युनिभरसिटी कोअपरेटिभ स्थापना गर्न जाँदा सुरूमा असहयोग भएको अनुभव सुनाएका थिए । पछि यसको आवश्यकता महसुस गरी विश्वविद्यालय र कलेजहरूमा सहकारी स्थापना भएका थिए ।

कोअपरेटिभ युनिभरसिटी के हो ?

युनिभरसिटी सहकारीबारे हामीले माथि चर्चा ग¥यौं, अब सहकारी युनिभर सिटीबारे केही चर्चा गर्न जरूरी छ । यो सन्दर्भमा विश्वका विभिन्न देशहरूमा के कस्तो अवस्था छ, सहकारी युनिभरसिटिको आवश्यकता बोध भएको छ कि छैन बारे यहाँ चर्चा गर्नु सान्दर्भिक हुन्छ । खास गरी १९८३ पछिको आर्थिक समायोजन कार्यक्रम, १९९० पछिको लिवरलाइजेशन, ग्लोबलाइजेशन, प्राभटाइजेसनको माहोल विश्वव्यापी रूपमा आएपछि सहकारीको महत्व, आवश्यकता, सहकारी शिक्षाको आवश्यकता बढेको छ ।

सन् २०११ को सेप्टेम्बर २६ देखि २८ सम्म तान्जानियाको मोसि कलेज अफ कोअपरेटिभ एण्ड विजनेस स्टडिजले अन्तर्राष्ट्रिय सहकारी अनुसन्धान महासम्मेलन आयोजना गरेको थियो । यो महासम्मेलन विकासमा पछाडि परेको अफ्रिका र अफ्रिकाको सब साहारन क्षेत्रलाई केन्द्रित गरेर आयोजना गरिएको थियो । यसले विश्व सहकारी आन्दोलन विगत, वर्तमान र भविष्य बारे सघन र गहन विमर्स गरेको थियो । यसलाई इन्टरनेशनल कोअपरेटिभ रिसर्च कन्फ्रेन्स फर अफ्रिका नाम दिइएको भए पनि विश्वका लागि महत्वपूर्ण कार्यक्रम थियो । यहाँ २३ वटा कार्यपत्र प्रस्तुत भएका थिए । यी कार्यपत्र प्रस्तोताहरू सबै नै विश्वस्तरका अर्थशास्त्री, सहकारी विज्ञ, मानव शास्त्री, समाज शास्त्रीका लब्ध प्रतिष्ठित व्यक्तिहरू थिए । त्यो कार्यक्रम राज्य वा सहकारी संघ/महासंघले गरेको थिएन, युनिभरसिटी कलेज अफ कोअपरेटिभ आफैले गरेको थियो । यो छलफलले निम्न निष्कर्ष निकालेको थियो ।

सहकारी शिक्षा र सहकारी युनिभरसिटीको आवश्यकता ।
– उत्पादन ब्राण्डिङ, लेवलिङ र मार्केटिङ क्षेत्रमा सहकारी
– वित्तीय पँहुच विकासमा सहकारी
– सुशासन व्यवस्थापनमा सहकारी
– वातावरण संरक्षणमा सहकारी
– सामाजिक एक्येबद्धता र अर्थतन्त्रमा योगदान

उक्त विषयमा यो क्षेत्रमा भेट्रान अर्थशास्त्री, समाजशास्त्री, अनुसन्धानकर्ताहरूले प्रस्तुत गरेका कार्यपत्रमा विद्धान व्यक्तित्वहरूको गंम्भिर सहभागिता थियो । यहाँ उठेका अनेकौं विषयमध्ये मार्केटिङ, ब्राण्डिङ र मूल्य निर्धारणमा किसानको भूमिका प्रभावकारी हुनुपर्ने, हुन नसकेको कुरा उठेको थियो । केही स्थानमा सहकारी सिद्धान्तको नाममा उत्पादकले उपभोक्ताकै सहभागितामा, उपभोक्ताकै लाभ, उपभोक्ता कै नियन्त्रण, उत्पादकनै उपभोक्ता हुने जस्ता साँगुरा कुराले खास गरी वस्तु बजारलाई सीमित बनाउन खोजिएको बारे, परिमार्जन हुन पर्ने कुरा उठेको थियो । उत्पादन, प्रशोधन, ब्राण्डिङ, भण्डारण र वितरण सदस्य बिचमा मात्र होइन, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा लान सकिने गरी परिमार्जन गर्नुपर्ने विषय जोडदार रूपमा उठेको थियो । उपभोग्य वस्तु सदस्यमा मात्रै रहने सूत्रलाई आत्मसाथ गर्दै बसेमा सहकारीले आकार मात्रा र क्षमता विकास गर्न सक्दैन । सहकारी सामाजिक व्यवसाय भएकाले यसको दायरा साँघुरो पार्न नहुने बिचार प्रस्तुत भएको थियो । सहकारीलाई सिमित व्यक्ति, सिमित वस्तु, सीमित स्थान र सीमित उपभोक्तामा साघुरो पार्ने सोचमा आमूल परिवर्तन जरूरी भएको विचार प्रस्तुत भएको थियो । यो कार्यक्रम सम्पन्न भएको २ वर्ष पछि ४ सेप्टेम्बर २०१४ मा यही मोसि युनिभरसिटी कलेज अफ कोअपरेटिभ एण्ड बिजनेस स्टडिलाई नै मोसि कोअपरेटिभ युनिभरसिटिमा परिमार्जन गरियो । मोसी कोअपरेटिभ युनिभरसिटी र यसले उत्पादन गरेका जनशक्तिले तान्जानिमा मात्र होइन सिंगै यो क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा महत्वपूर्ण योगदान गरेको छ ।

यो युनिभरसिटीका फ्याकल्टी यस प्रकार छन् ।

फ्याकल्टी अफ कोअपरेटिभ एण्ड कम्युनिटी डेभलपमेन्ट
– फ्याकल्टी अफ विजनेश एण्ड इनफर्मेसन साइन्स
– डाइरेकटरेट रिसर्च एण्ड पोस्ट ग्राजुएट स्टडीज
– डाइरेकटरेट अफ कोअपरेटिभ लाइब्रेरी एण्ड आर्चिमस
– डाइरेकटरेट अफ अण्डर ग्राजुएट स्टडिज
– व्यरो अफ कन्सल्टेन्सी सर्भिस
– डाइरेक्टरेट अफ ह्युमनरिसोर्स म्यानेजमेन्ट एण्ड एडमिनिस्ट्रेसन

डाइरेक्टरेट अफ प्लानिङ एण्ड फिनान्स
– डिन अफ स्टुडेन्टस

यो युनिभरसिटीले अबको विश्व समाजलाई र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य हासिल गर्न उपयुक्त जनशक्ति निर्माणमा योगदान गरिरहेको छ ।

यो युनिभरसिटीको भिजन : सहकारीको उत्कृष्टतायुक्त शिक्षा र व्यवहार स्थापित हुनु ।

ध्येय : गुणस्तरीय शिक्षा, तालिम, अनुसन्धानमा सल्लाह दिन सक्नु, सहकारी विकासमा योगदान दिनसक्नु र सहकारी विकासमा योगदान दिन सक्ने हुनु रहेको छ । यसबाट हामी नेपालीले शिक्षा लिन जरूरी छ । यसै गरी केन्याको सहकारी युनिभरसिटीबारे पनि सामान्य चर्चा गर्न उपयुक्त हुन्छ । यो केन्याको सहकारी युनिभरसिटिको पनि उद्देश्य, लक्ष्य, समान नै छ । तान्जानियाकै जस्तै यो युनिभरसिटी संचालन गर्ने प्रकृया यस प्रकार छ । यो संचालनका लागि :

– चान्सलर
– काउन्सील
– युनिभरसिटी म्यानेजमेन्ट बोर्ड
– सिनेट
– विद्यार्थी युनियन

चान्सलर, युनिभरसिटी म्यानेजमेन्ट बोर्ड, सिनेट र विद्यार्थी यूनियनको नियुक्ति युनिभरसिटी चार्टर र ऐन बमोजिम हुन्छ । युनिभरसिटि काउनशिल शिक्षा मन्त्रालयको प्रस्तावमा क्याविनेटले पास गर्छ । यसरी सहकारी युनिभर सिटी प्रभावकारी ढंगले संचालित छ । यो युनिभरसिटी अन्तरगत ४ वटा क्याम्पस छन् । मुख्य क्याम्पस, नैरावी सी.वी.डी क्याम्पस, मेरू क्याम्पस, मोम वासा क्याम्पस छन् ।
यो पूर्ण रूपमा कृयाशील अन्य युनिभरसिटी जस्तै गरी परिचालित सहकारी युभिरसिटी हो । यसमा भाइस चान्सलर–एक , डिपुटि भाइस चान्सलर–३ जना, युनिभरसिटी सेक्रेटरी, युनिभरसिटी काउन्सील, म्यानेजमेन्ट बोर्ड, एकेडेमिक काउनशील लगायत भिन्न कमिटीहरू छन् । यसले सहकारीका दर्शन, सिद्धान्त, मूल्य मान्यतासहित सहकारी सामाजिक व्यवसायको महत्व स्थापित गर्न यो युनिभरसिटीको महत्वपूर्ण योगदान रहेको छ ।

रसियन युनिभरसिटी सहकारी

रसियन युनिभरसिटी रूसको सबैभन्दा ठूलो र पुरानो युनिभरसिटी हो । रसियन सहकारी युनिभरसिटीका अनेक शाखाहरू छन् । यसमा ४१ वटा टेक्निकल स्कूल र कलेज छन् । यो युनिभरसिटीले सहकारीसँग सँगै विविध खाले एपलाइड साइन्सका क्षेत्रमा विशिष्टीकृत शिक्षामा पनि उत्तिकै महत्व दिएको छ । यी सबै क्षेत्रबाट प्रति वर्ष सोह्र वटा शाखाबाट मात्रै २८,००० विद्यार्थी शिक्षा आर्जनगरी कार्य क्षेत्रमा जान्छन् । एकेडेमिक शिक्षा आर्जन गर्ने र विभिन्न इन्स्टिच्यूटबाट उत्तिर्ण भएर जाने ६७ वटा इन्स्टीच्यूट र युनिभर सिटीशाखाबाट ७१००० विद्यार्थी सामेल हुन्छन् । यसमा छोटो अवधिको र लामो अवधि पार गरेर उत्तीर्ण हुने संख्या सामेल छ । यी सबैमा वार्षिक करिब १०,००० दक्ष जनशक्तिको रूपमा सकृय हुन्छन् । यसरी युनिभरसिटि सहकारी र सहकारी युनिभरसिटीको संक्षिप्त जानकारीलाई आधार मानेर हामीले हाम्रो देशमा काम गर्न ढिला भैसकेको छ ।

नेपालमा ५ वटा विकास क्षेत्रमा ५ वटा सहकारी प्रशिक्षण केन्द्र थियो र तर नयाँ संविधान आएपछि सबै क्षेत्रमा सकारात्मक कार्यसहित कार्यक्रम संचालन भए पनि सहकारी क्षेत्रका दक्ष जनशक्ति निर्माणका लागि आवश्यक कार्यक्रम अघि बढेको छैन । नेपालमा सहकारी जागरण अभियान अघि बढेको तर व्यवसायीकतामा अघि बढ्नु पर्ने अबको आवश्यकता हो । हाल प्रारम्भीक सहकारीदेखि सबै जिल्ला संघ र विषयगत जिल्ला संघ, सबै विषयगत केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक र राष्ट्रिय सहकारी महासंघका सबै संचालक समिति सदस्य र लेखा समिति सदस्यसमेत जोड्दा २ लाख ४७ हजार भन्दा बढी संचालक छन् । यस बाहेक सहकारी क्षेत्रमा नियमित रूपमा काम गरिरहेका व्यवस्थापक र अन्य कर्मचारीहरू ६४००० छन् । यी सबै सहकारी विकासका मेरूदण्ड हुन । यो जनशक्तिलाई दक्ष, प्रविधियुक्त र सक्षम बनाउन जरूरी छ । यति मात्र होइन हरेक वर्ष युनिभरसिटी र कलेज उत्तीर्ण गरेका नयाँ युवाहरू सहकारीमा जिम्मेवारी लिएर काम गर्न इच्छुक छन् । यस्तो स्थितिमा अब हाम्रा युनिभरसिटीहरूमा सहकारी अध्ययन अध्यापनको व्यवस्था मिलाउन युनिभरसिटीमा सहकारी फ्याकल्टीको विभाग स्थापना गरेर अध्ययन अध्यापन गराउने र सबै युनिभरसिटि र कलेज क्याम्पसहरूमा सहकारी विभाग र फ्याकल्टी राखेर पढ्न पढाउन प्रेरित गर्न जरूरी छ । यसका लागि त्रिभूवन विश्वविद्यालय, भूमि व्यवस्था सहकारी तथा गरिवीनिवारण मन्त्रालय, उच्च स्तरीय शिक्षा परिषदसमेतले उपयुक्त पाठ्यक्रम तयार गरी पढ्न पढाउन थाल्नु पर्छ । यतिले मात्रै पुग्दैन सातै प्रदेशमा होस्टेलसहितको सहकारी तालिम तथा प्रशिक्षण केन्द्र स्थापना गरी नियमित रूपमा १५ दिने प्रशिक्षणदेखि डिप्लोमासम्मको पढाउने व्यवस्था हुनुपर्छ । त्यसैगरी हाल कायम रहेको बानेश्वरको सहकारी प्रशिक्षण केन्द्रलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरमा उन्नत गर्न जरूरी छ । यसबारे राष्ट्रिय सहकारी महासंघले प्रयास पनि गरेको छ । तर यो राज्यले गर्नुपर्ने महत्वपूर्ण कार्य भएकाले यसबारे अबिलम्ब काम थालिहाल्नु पर्छ । दिगो बिकास लक्ष्यका सबै लक्ष्य हासिल गर्न सहकारी क्षेत्र तयार भएको यो समयमा राज्यले पनि यसलाई अवसरकै रूपमा लिन विनम्रतापूर्वक अनुरोध गर्दछौं । सहकारी विभागले यसबारे पहल गर्न जरूरी छ ।


सन्दर्भ सामग्री :

  • दिगो विकास लक्ष्य सहकारी र अन्तर्राष्ट्रिय अनुभव पुस्तक, लेखक–
    केशव बडाल
  • डकुमेन्टेसन एण्ड पब्लिकेशन डिपार्टमेन्ट मोसि युनिभरसिटी कलेज अफ
    कोअपरेटिभ एण्ड विजनेस स्टडी (MUCCOBS) तान्जनिया, २०११
  • द कोअपरेटिभ युनिभरसिटी केन्या (इन्टरनेटबाट)
  • रसियन युनिभरसिटी कोअपरेटिभ ( RUS ) सेन्ट्रो सोयूज अफ द रसियन
    फेडेरेसनको डकुमेन्टबाट

सहकारी विभागले प्रकाश गरेको सहकारी दर्पण २०७६ बाट

(लेखक सहकारी महासंघ नेपालका पूर्व अध्यक्ष हुन्)

अभिलेख

लोकप्रिय