३ वैशाख २०८३, बिहिबार

बैंकिङ क्षेत्रमा कडाई गर्दा सहकारीमा ऋणको माग बढ्ने भन्दै अर्थमन्त्री भेट्न पुग्यो बैंकर्स संघको टोली

२०७६ माघ ६, सोमबार
बैंकिङ क्षेत्रमा कडाई गर्दा सहकारीमा ऋणको माग बढ्ने भन्दै अर्थमन्त्री भेट्न पुग्यो बैंकर्स संघको टोली

काठमाडौं, ६ माघ ।

कम्पनी तथा व्यक्तिले नै ऋण माग गर्दा अनिवार्य रुपमा कर चुक्ताको प्रमाणपत्र चाहिने व्यवस्थासँगै बैंकमा ऋणको माग घटेपछि नेपाल बैकर्स संघको टोलीले अर्थमन्त्री डा युवराज खतिवडालाई भेटेको छ ।

बैकर्स संघका अध्यक्ष भुवन दाहालको नेतृत्वमा गएको टोलीले करचुक्ता अनिवार्य चाहिने व्यवस्था थ्रेसहोल्ड राखेर कार्यान्वयन गर्न सुझाव दिएको छ ।

‘कर चुक्ता र करमा र बैंकमा एउटै विवरण चाहिने व्यवस्था राम्रो छ,यसलाई ऋणको आकार अनुसार थेस्रहोल्ड राखेर कार्यान्वयन गर्दा राम्रो हुन्छ भन्ने हामीले सुझाव दिएका छौ,’संघका अध्यक्ष भुवन दाहालले बैठकपछि भने ।

संघले बैंकिङ क्षेत्रबाट ऋण लिदामात्र कर चुक्ता र एउटै विवरण अनिवार्य हुने तर,सहकारीबाट ऋण लिदा त्यो व्यवस्था नचाहिने निर्णय हुँदा सहकारीमा ऋणको माग बढ्ने कुरालाई पनि ख्याल गर्न अनुरोध गरेको छ ।

‘बैंकमा हुने ऋणको माग कर सम्बन्धि व्यवस्थाको कारण सहकारीमा सरेको देखिन्छ,सहकारी क्षेत्रलाई पनि त्यो व्यवस्था कार्यान्वयन गर्नुपर्छ,भन्ने हाम्रो माग हो,’अध्यक्ष दाहालले थपे ।
अहिले राष्ट्र बैंकले कम्पनी तथा फर्मलाई ऋण लिनको लागि कर कार्यालयमा बुझाएको विवरण र बैंकमा बुझाएको विवरण एउटै हुनुपर्ने व्यवस्था गरेको छ । बैंकले कर कार्यालयको वेवसाइटमा गएर ऋण माग गर्ने कम्पनी तथा फर्मले बुझाएको करको विवरण हेर्न सक्ने व्यवस्था छ । सो व्यवस्थाले साना तथा मझौला व्यवसायीले बैंकबाट ऋण पाउन सकेका छैनन् ।

यस्तै व्यक्तिगत तर्फ घरकर्जा र अटोलोनमा ऋण लिदा बुझाउने आम्दानी कर बुझाएको हुनुपर्ने व्यवस्था छ । यद्यपी केन्द्रीय बैंकले कृषि र रेमिटेन्सको आयमा भने कर चुक्ताको विवरण नचाहिने उल्लेख छ ।

अर्थमन्त्री डा खतिवडासँगको भेटमा बैकर्स संघका कार्यसमिति सदस्य तथा पूर्व अध्यक्षहरु सहभागि थिए भने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी पनि सहभागी थिए ।
बैंकर्स संघले कर चुक्ता चाहिने व्यवस्था पहिलो चरणमा डेढ करोड हुँदै एक करोड गर्दै अनिवार्य बनाउदा राम्रो हुने सुझाव दिएको छ ।

संघका अध्यक्ष दाहालले करको दायरा बढाउने निर्णय राम्रो भएको र बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीले ३६ प्रतिशत संस्थागत रुपमा ३० प्रतिशत कर तिरेको बताएका थिए ।
भेटमा अर्थमन्त्री खतिवडाले बैंकरलाई परेको असजिलो कुन निकायबाट सम्बोधन गर्ने त्यो अनुसार काम हुने आस्वस्त पारेका थिए ।

उनले बैंकहरुलाई सरकारले भनेको प्राथमिकता प्राप्त तथा सहुलियत पूर्ण कर्जामा लगानी बढाउन भनेका थिए । राष्ट्र बैंकले अहिले बैंकहरुलाई संख्या नै तोकेर सहुलियत पूर्ण कर्जा प्रवाह गर्न भनेको छ ।

अर्थमन्त्री खतिवडाले दाेहाेराे ब्यालेन्सिट बनाउने काम राेक्न बैंक सहयाेग आवश्यक भएको र त्यो व्यवस्थाबाट पछाडि फर्कने सम्भावना नरहेको बताएका थिए ।

बैंकर्स संघले भने सहुलियत पूर्ण कर्जामा कतिपय बैंकको अनुभव नभएको भन्दै विपन्न वर्ग कर्जाजस्तै होलसेलमा दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ ।
‘विपन्न वर्ग कर्जा होलसेल लेन्डिङ गर्दा हुने व्यवस्था छ,यस्तै खाले व्यवस्था सहुलियत पूर्ण कर्जामा पनि हुनुपर्छ भन्ने हाम्रो माग हो,’दाहालले भने ।
बैठकमा अर्थमन्त्री खतिवडाले पछिल्लो समय ब्याजदरमा स्थिरता कायम गर्न बैंकहरु सफल भएको भन्दै स्थिरता कायम गरेर अगाडि बढ्न सुझाव दिएका थिए ।

साभार : क्लिकमाण्डु डट कम

अभिलेख

लोकप्रिय