५ वैशाख २०८३, शनिवार

आदर्श सञ्चारलाई राष्ट्रिय सहकारी व्यवसाय पुरस्कार

२०७५ चैत २०, बुधबार
आदर्श सञ्चारलाई राष्ट्रिय सहकारी व्यवसाय पुरस्कार

बागलुङ, २० चैत
साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७५ पाउने भएको छ ।
राष्ट्रिय सहकारी महासंघले ६२ औ राष्ट्रिय सहकारी दिवसका अवसरमा आदर्श सञ्चार सहकारीलाई गण्डकी प्रदेशका तर्फबाट यस वर्षको उत्कृष्ट व्यवसाय पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
महासंघले देशका विभिन्न सहकारीहरुलाई उत्कृष्ट सहकारीको रुपमा घोषणा गरेको छ । सहकारी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने सहकारीहरुको नाम घोषणा गर्दा गण्डकी प्रदेशबाट बागलुङको आदर्श सञ्चार सहकारी संस्था उत्कृष्ट सहकारीमा परेको हो । आदर्शले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७५ प्राप्त गर्नेछ । त्यसैगरी प्रदेश नम्बर १ बाट झापाको शुभलक्ष्मी सहकारी संस्था, २ नम्बर प्रदेशबाट सर्लाहीको मनोकामना बहुउद्देश्यीय सहकारी संस्था, ३ नम्बर प्रदेशबाट ललितपुरको लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था, ५ नम्बर प्रदेशबाट रुपन्देहीको सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था, कर्णाली प्रदेशबाट सुर्खेतको साना किसान सहकारी संस्था र सुदुरपश्चिम प्रदेशबाट कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्था पुरस्कृत हुने भएका छन् । त्यस्तै यस वर्षको उत्कृष्ट सहकारी पुरस्कार सहकारी संघहरुमध्येबाट बहुउद्देश्यीय सहकारी संघ ललितपुरले प्राप्त गर्ने जनाईएको छ ।
महासंघले राष्ट्रिय सहकारी दिवसका अवसरमा उत्कृष्ट सहकारी पुरस्कार र उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार घोषणा गर्ने तथा अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा पुरस्कृत गर्ने गर्दै आइरहेको छ ।
सूचना र सञ्चारका क्षेत्रमा निरन्तर रुपमा दैनिक र साप्ताहिक पत्रिका प्रकाशनका साथै सहकारी र सञ्चारका क्षेत्रमा आदर्श सञ्चारले गरेको कामको मूल्यांकन गरेर पुरस्कृतका लागि छनोट गरिएको छनोट उपसमितिले जनाएको छ ।

अभिलेख

लोकप्रिय