१४ भदौ २०८३, आईतवार

बागलुङमा सहकारी बैंकको अन्तरक्रिया

२०७५ असार १०, आईतवार
बागलुङमा सहकारी बैंकको अन्तरक्रिया

IMG_3606

बागलुङ । प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समृद्धीको अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सहकारी क्षेत्रसंग सहकार्य गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आइतबार बागलुङमा आयोजना गरेको बैंक र सदस्य संघ संस्थाहरुबीचको अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रमको उद्घाटनपछि बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रदेश सरकारले पर्यटन, उर्जा, कृषि र उद्योगलाई प्राथमिकीकरण गरेर विकासमा जुट्ने योजना बनाएको जानकारी गराउदै उनले त्यसका लागि सहकारी क्षेत्रमा रहेको श्रम, सीप र पूँजिलाई परिचालन गर्न आव्हान गरे ।

कार्यक्रममा संघीय संसदका सदस्य डा.सूर्य पाठकले सहकारी, निजी र राज्य मिलेर गरिव तथा विपन्न जनताको आर्थिक सामाजिक अवस्था सुधारका लागि सक्रिय भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रम बैंकका प्रबन्धक सञ्चालक के.बी.उप्रेतीको अध्यक्षता, सञ्चालक रामबहादुर जिसीको सञ्चालन र बागलुङ शाखाका प्रमुख सन्तोष घिमिरेको स्वागतमा सम्पन्न गरेका थिए ।

कार्यक्रममा बैंकको परिचय, वर्तमान अवस्था र आगामी योजनाका बारेमा बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहजीकरण गरेका थिए ।

सोही अवसरमा बैंकको बागलुङ शाखामा आर्थिक वर्ष २०७३÷०७४ मा उत्कृष्ट कार्य गर्ने सिवाइसी वचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित कारोबार गर्ने अभियान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई प्रमुख अतिथि मन्त्री गुरुङले सम्मान गरेका थिए ।

बागलुङ, पर्वत, म्याग्दीका १ सय जना सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा सहकारी बैंक र सदस्य संघ संस्थाहरुबीच सहकार्य, सहकारी अभियानलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गरिएको थियो ।

२०६५ सालमा स्थापना भएको सहकारी बैंकको बागलुङ शाखामा सो क्षेत्रका २ सय ४५ सहकारी संघ संस्था शेयर सदस्य, २ करोड ८० लाख शेयर रकम, २० करोड निक्षेप र १२ करोड लगानी रहेको शाखा प्रमुख सन्तोष घिमिरेले जानकारी दिए ।

अभिलेख

लोकप्रिय