२२ कात्तिक २०८३, आईतवार

गणेशजल सहकारीको वार्षिकोत्सवः स्वास्थ्य शिविरदेखि भाषणकला सम्म

२०७५ जेठ ९, बुधबार
गणेशजल सहकारीको वार्षिकोत्सवः स्वास्थ्य शिविरदेखि भाषणकला सम्म

Sequence 01.Still003 (1)

सुर्खेत : सामान्यता धेरैजसो संघसंस्था वा सहकारी संस्थाहरुले स्थापना दिवसहरुमा आसन र भाषण गर्ने प्रचलन चलिआएको छ । बिहानदेखि तामझाम गर्ने र साँझ वार्षिक उत्सव समारोह गर्ने कार्य मात्रै गरिएको पाइन्छ । तर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ मा रहेको ‘गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ले भने आफ्नो एघारौँ वार्षिकोत्सव सेवामूलक कार्य गरेर मनाएको छ । वार्षिकोत्समा सस्थाले स्वास्थ्य परीक्षणसम्बन्धी शिविर, रक्तदान, क्षमता विकाससम्बन्धी कार्यहरु गरेको छ ।

प्रस्तुत छ, सप्ताहव्यापी कार्यक्रमको अंशः

पहिलो दिन :

सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन जेठ १ गते गणेशजलले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० रहरपुरमा निःशुल्क मधुमेह परीक्षण गरिएको छ । रहरपुर र आसपासका समुदायमा बसोबास गर्ने गणेशजलका १ सय ४९ जना शेयर सदस्यले शिविरमा आफ्नो स्वास्थ्य जाँच गराएका छन् ।

स्वास्थ्य जाँचका क्रममा खासगरी थारु समुदायका शेयर सदस्यमा उच्च रक्तचापको समस्या रहेको पाइएको छ । रहरपुरको मधुमेह परीक्षण शिविरमा प्रमुख अतिथि रहेका वीरेन्द्रनगर १० का वडा अध्यक्ष रत्न बहादुर बुढाले सहकारीहरु अवब आफ्नो शेयर सदस्यहरुलाई हरेक तरिकाबाट सुविधा उपलव्ध गराउनुपर्ने बताए ।

यस्तै, जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसीले गणेशजल सहकारी आफ्ना शेयर सदस्यहरुप्रति हरेक दृष्टिकोणबाट नियाल्ने प्रयासस्वरुप सदस्यको घरदैलोमा विभिन्न कार्यक्रम संचालन गरेकाले संस्थाको प्रशंसा गरे ।

दोस्रो दिन :

दोस्रो दिन जेठ २ गते बिहानै पिपिरा चौकमा पनि मधुमेह जाँच शिविर भयो । पिपिराको शिविरमा पिपिरा, गाग्रेताल, सुव्वाकुना, चारकुनेलगायतका क्षेत्रमा बसोबास गर्ने शेयर सदस्यहरुले आफ्नो स्वास्थ्य जाँच गराएका थिए ।

पिपिरामा भएको शिविरमा ९३ जना शेयर सदस्यको मधुमेह परिक्षण गरिएको छ ।

जेठ १ र २ गते गरी दुई दिनको परिक्षणमा गरी २ सय ४२ जना शेयर सदस्यले आफूमा मधुमेह भए÷नभएको थाह पाउन स्वास्थ्य जाँच गरेका थिए ।

शिविरमा शेयर सदस्यहरुलाई स्वास्थ्य समस्या समाधानका लागि उचित सल्लाहसमेत दिइएको थियो । त्यसैगरी वीरेन्द्रनगर–११ स्थित पिपिरामा भएको शिविरका प्रमुख अतिथि वीरेन्द्रनगर ११ का वडा अध्यक्ष नन्दाराम शर्माले सदस्यको घरदैलौमा पुगेर स्वास्थ परीक्षण गर्ने कार्य संस्थाको प्रशंशनीय कार्य रहेको बताए । गणेजल सरकारी संस्थाले गरेका यस्ता कार्यहरुबाट अरुले पनि पाठव सिक्नुपर्ने उनले औँल्याए ।

तेस्रो दिन :

सप्ताहव्यापी कार्यक्रमअन्र्तगत जेठ ३ गते जुम्लारोडस्थित गणेशजलको मुख्य कार्यालय परिसरमा खुला रक्तदान गरिएको छ । सहकारी संस्थाका शेयर सदस्यहरुले जोखिममा परेका बिरामीलाई सहयोग गर्नका लागि रक्तदान गरेका हुन् ।

संस्थाका अध्यक्ष प्रेमकुमार विसीका अनुसार १० जनाले रक्तदान गरेका छन् । रक्तदानमा सहभागी भएका शेयर सदस्यहरुले आफूहरुले दान गरेको रगतले कसैको जीवन बाँच्ने आशा व्यक्त गरे ।

रक्तदानमा आफ्नो मन्तव्यका क्रममा कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर–३ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले गणेशजलले रचनात्मक कार्य गरी अरुलाई उदाहरण प्रस्तुत गरेको भन्दै संस्थाको प्रशंसा गरे ।

चौँथो दिन :

वार्षिकोत्सव विशेष कार्यक्रमअन्तर्गत चौँथो दिन जेठ ४ गते बिहान वीरेन्द्रनगरको एयरपोर्ट चोकनजिक गणेशजलको आयोजनामा निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन गरियो ।

शिविरमा वीरेन्द्रनगर नगरपालिका १०, ११ र १२ का शेयर सदस्यहरुले सहमागिता जनाए । शिविरमा ८९ जना शेयर सदस्यहरुले दाँतसम्बन्धी परीक्षण गराएका कैलालीको घोडाघोडीमा रहेको भैरवी पञ्चकोशी दन्त सेवा प्रा.लि.का स्वास्थ्यकर्मी नविन शाहले बताए । उनका अनुसार १३ जनाको दाँत फालिएको र ११ जनाको दाँतमा फिलिङ् गरिएको थियो ।

शिविरमा वीरेन्द्रनगर वडानम्बर १२ का वडा अध्यक्ष लोकप्रसाद चालिसेले जनताको आर्थिक स्तर वृद्धि गर्ने र समुदायको आर्थिक समृद्धिका लागि सहकारी क्रान्ति नै सफल क्रान्ति हुने बताए । उनले एउटै व्यक्ति धेरै सहकारीमा जेलिने भन्दा पनि एउटै सहकारीमा राम्रोसँग कार्य गर्नुपर्नेमा जोड् दिए ।

पाँचौँ दिन :

जेठ ५ गते सहकारीको मुख्य कार्यालयको सभाहलमा शेयर सदस्यका सन्तान तथा बाल सदस्यहरुबीच वक्तृत्वकला प्रतियोगिता गराइएको छ । प्रतियोगितमा १३ जना बाल बचतकर्ताहरुले सहभागिता जनाएका थिए । ‘सहकारी शिक्षा आजको आवश्यकता’ विषयक प्रतियोगितामा वीरेन्द्रनगर–१२ की प्रमिला गुरुङ्ग प्रथम, वीरेन्द्रनग–३ की स्वस्तिका सिंह ठकुरी द्वितीय, वीरेन्द्रनगर–८ की स्वस्तिका भण्डारी तृतीय भएकी छन् । सहकारीका अनुसार प्रथमले एक हजार पाँच सय, द्वितीयले एक हजार र तृतीयले पाँचसय रुपैयाँ पुरस्कार प्राप्त गरे ।

वक्तृत्वकलाले आफ्ना शेयर सदस्यका सन्तान तथा बाल सदस्यको क्षमता विकासमा महत्वपूर्ण योगदान गरेको संस्थाका प्रवन्धक रंगा सिंहले बताए । प्रतियोगिताको निर्णायकको रुपमा अध्यक्ष प्रेमकुमार विसी र शिक्षा उपसमिति संयोजक पूर्ण बहादुर शाही रहेका थिए ।

छैटौँ दिन :

संस्थाका सचिव अशोक राजीका अनुसार जेठ ६ गते कृषि व्यवसायिक केन्द्र घुस्रामा सहकारी शिक्षा, टोल भेला तथा अन्तक्र्रिया गरिएको छ ।
अन्तक्र्रियामा संस्थाका शिक्षा समिति संयोजक पूर्ण बहादुर शाहीले गणेशजल सहकारीले कृषकहरुका लागि सञ्चालन गरेको एग्रोभेट अत्यन्त प्रभावकारी रहेको बताए ।

यस्तै सहकारीका अध्यक्ष प्रेमकुमार विसीले सहकारीले अवब कृषि गरिरहेका शेयर सदस्यहरुलाई लक्षित गरी तरकारी हाटबजार सञ्चालन गर्ने बताए । कृषिलाई आधुनिकीकरण र व्यवसायिक बताउनुपर्नेमा समे उलने जोड् दिए ।

वार्षिक उत्सव

Sequence 01.Still004

वार्षिकोत्सवको मुख्य दिन जेठ ७ गते जिल्ला समन्वय समितिमा भव्य समारोह गरिएको छ । वार्षिकोत्सव समारोहमा उत्कृष्ट महिला सदस्यतर्फ दिर्घा विसी, उत्कृष्ट पुरुषतर्फ समिर भण्डारी, उत्कृष्ट बाल बचतकर्तातर्फ समृद्धि आले मगर, लघुवित्ततर्फ शान्तिनगर, गणेशजल, महिला विकास केन्द्र र केन्द्र नम्बर ३ कृषि व्यवसायिक केन्द्र घुस्राका उत्कृष्ट सदस्य भक्तबहादुर विसी, उत्कृष्ट रेमिट्यान्सतर्फ खड्गबहादुर विश्वकर्मा तथा कर्मचारीतर्फ व्यवस्थापक रंगा सिंहलाई सम्मान गरिएको छ ।

समारोहको प्रमुख अतिथिमा कर्णाली प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी तथा राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक पदम दाहाल र जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृतकुमार विसी विशिष्ट अतिथी रहेका थिए ।

यस्तै, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण भण्डारी, जिल्ला कृषि सहकारी संघ सुर्खेतका पञ्चकला रावत, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल र कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापालगायतको सहभागिता थियो ।

समारोहमा भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री केसीले सरकारले गर्न नसकेका धेरै कामहरु सहकारीका माध्यमबाट सम्भव हुने बताईन् । एक फरक प्रसंगमा मन्त्री केसीले आफ्नो कार्य क्षेत्रका सदस्यको हितका निम्ति सदस्यहरुलाई स्वरोजगार गराउन मन्त्रालयले सहकारीहरुसंग समन्वय गरी काम गर्ने बताइन् ।

कर्णाली प्रदेशका विभिन्न सहकारीहरुसंग छलफल गर्दै सहकारीका मापदण्डअनुसार सञ्चालन भएका सहकारीहरुलाई सम्मान गरिने र नियम विपरित सञ्चालित सहकारीहरुलाई कारबाहीको दायरामा ल्याइने मन्त्री केसीले बताईन् ।

सहकारीले नयाँ मोडेलमा सदस्यलाई उत्पादनतिर लगाउनुपर्नेमा जोड् दिँदै उनले आफ्ना सदस्यहरुका चाहनाअनुसार गणेशजल सहकारीले काम गरिरहेकोमा खुशी व्यक्त गरिन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक पदम दाहालले कर्णाली प्रदेशमा सहकारीहरुले बचत तथा ऋण सञ्चालन, लघुवित्त मात्र सञ्चालन गरेर मात्र नहुने बताए । उनले उद्देश्यअनुसार सदस्यको सेवामा लाग्नुपर्ने र प्रदेश सरकारले सहकारीलाई विशेष महत्वका साथ हेर्नुपर्ने बताए ।

साथै कर्णाली प्रदेश विविधताको खानी भएकाले पर्यटनतिर पनि गणेशजल सहकारीले सेवा सञ्चालन शुरु गर्न लागेकोमा खुशि व्यक्त गरे ।
जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत विसीले सहकारीहरु आफ्नो मूल्य मान्यतामा रही उदाहरण पेश गर्नुपर्ने चुनौति रहेकोले गणेशजलले यस कार्यमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा बचत तथा ऋण संघका अध्यक्ष कृष्ण भण्डारी, जिल्ला कृषि संघका अध्यक्ष पञ्चकला रावतले संस्थालाई सफतलाको शुभकामना व्यक्त गरे ।

पहिलो अस्पताल चलाउने 

जिल्लामै पहिलो पटक गणेशजल वहुउद्देश्यीय सहकारी संस्थाले अस्पताल सञ्चालन गर्ने भएको छ । नागरिकको स्वास्थ्य सेवालाई सहज बनाउनका लागि सहकारीकै माध्ययमबाट अस्पताल सञ्चालन गर्न लागिएको सहकारीले घोषणा गरेको छ ।

स्थापना दिवशकै अवसरमा संस्थाका अध्यक्ष प्रेमकुमार विसीले अस्पताल सञ्चालन गर्नेदेखि अन्य सेवामूलक कार्य सञ्चालन गर्ने घोषणा गरे । संस्थाले अब अस्पताल, एम्वुलेन्स सञ्चालन गर्ने तथा कृषि हाटबजार सञ्चालन गर्ने उनले बताए ।

कार्यक्रमको सहजिकरण संस्थाका सचिव अशोक राजीले गरेका थिए ।

गणेशजल वहुउद्देश्यीय सहकारी संस्थाले हाल बचत तथा ऋण, लघुवित्त कार्यक्रम, कृषि तथा एग्रोभेट, रेमिट्यान्स सेवा केन्द्र र सेरोफेरो ट्राभल्स एण्ड टूर्स प्रा.लि. सञ्चालन गरेको छ ।

अभिलेख

लोकप्रिय