अब सहकारीले ऋण लगानी गर्दा सेवा शुल्क लिन नपाउने

काठमाडौं । सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्क हटाइने भएको छ । सहकारीले ऋण लगानी गर्दा सदस्यबाट चर्को शुल्क लिने गरेको गुनासो आएपछि यसलाई हटाउन लागिएको विभागका रजिष्टार केशवप्रसाद रेग्मीले जानकारी दिए । “सहकारीले ऋण लगानी गर्दा धेरै शुल्क उठाउने गरेको गुनासो आएको छ,” रजिष्ट्रार रेग्मीले भने, “यसलाई कसरी हटाउन सकिन्छ भनेर गृहकार्य भइरहेको छ ।”
सहकारी ऐन २०७४ मा सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्क रजिष्ट्रारले तोक्न सक्ने व्यवस्था छ । तर, यसबारेमा संस्थाको कार्यविधिमा समेत तोक्न सकिने दोहोरो व्यवस्था ऐनमा गरिएको छ ।
सहकारी ऐनमा सेवा शुल्कबारे कुनै व्यवस्था थिएन । सहकारीहरुले ऋण लगानी गर्दा धेरै सेवाशुल्क लिन थालेपछि सहकारी दर्ता तथा नियमन मापदण्ड २०६८ मा १ प्रतिशत भन्दा बढी सेवाशुल्क लिन नपाउने व्यवस्था गरिएको थियो ।
मापदण्डको उक्त व्यवस्थालाई धेरै सहकारीहरुले अटेर गर्दै आएका छन् । अहिले पनि सहकारी संस्थाहरुले ऋण लगानी गर्दा ऋणको ३ प्रतिशतसम्म सेवाशुल्क लिने गरेका छन् । यसैगरी छोटो अवधिको मात्र लगानी गर्ने र नवीकरण गर्दा समेत सेवाशुल्क उठाउने गरेका छन् ।
सेवाशुल्कबाहेक ऋण व्यवस्थापन, फर्म शुल्क, धितो मूल्यांकनलगायतका शीर्षकमा पनि सहकारीले चर्को शुल्क उठाउने गरेका छन् । विभागका रजिष्टार रेग्मी सहकारीहरुले उठाउने सेवाशुल्कलाई व्यवस्थित गर्ने अधिकार ऐनले रजिष्टारलाई दिएको दाबी गर्छन् । “ऐनअनुसार नै सेवाशुल्कलाई व्यवस्थित गर्न खोजेका हौं,” उनले भने, “जथाभावी शुल्क उठाउन नपाउने व्यवस्था गर्छौं ।”
विभागको तथ्यांकअनुसार २०७३ साल फागुनसम्म देशभर ३४ हजार ३ सय सहकारी दर्ता भएका छन् । जसमा ६१ लाख सदस्य रहेको र ७५ अर्ब ७४ करोड सेयर पुँजी जम्मा भएको छ । यसैगरी २ खर्ब ९८ अर्ब बचत संकलन र २ खर्ब ९२ अर्ब ऋण लगानी गरेका छन् । बचत तथा ऋण १३ हजार र बहुउद्देश्यीय सहकारी ४ हजारले वित्तीय कारोबार गर्दै आएका छन् । यसबाहेक अन्य विषयगत सहकारीहरु पनि बचत तथा ऋण कारोबारमै केन्द्रित रहेका छन् ।
सहकारी ऐन–२०७४ दु्ई महिनाअघिबाट कार्यान्वयमा आएको हो । ऐनकै व्यवस्था अनुसार सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी नियमावली समेत निर्माण गरिरहेको छ । विभागले ठूलो कारोबार गर्ने सहकारी संस्थाबाट ऐन कार्यान्वयन गर्ने तयारी गरिरहेको छ ।
ऐनले बचत तथा ऋण लगानीमा विभिन्न मापदण्ड तोक्नुका साथै सहकारीमा गलत काम गर्नेलाई कारबाही समेत बढाएको छ । यो व्यवस्था पूर्णरूपमा कार्यान्वयन भएपछि सहकारीमा अहिले देखिएका समस्या समाधान हुने सरकारी अधिकारीले दाबी गर्दै आएका छन् ।
साभारः कारोबार दैनिक
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
