२२ कात्तिक २०८३, आईतवार

अपांग विद्यार्थीलाई हातेमालोको सहयोग

२०७४ जेठ १७, बुधबार
अपांग विद्यार्थीलाई हातेमालोको सहयोग

hatemalo

सिमरा । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संंस्थाको दशौं वार्षिकोत्सवको तेस्रो दिन मंगलबार अपांग सेवा संघमा वौद्धिक अपाड्ड विद्यार्थीलाई पाठ्यसामाग्री र संघलाई फ्रिज हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक डा. कृष्ण पौडेलले अपाड्ड विद्यार्थीहरुको पठनपाठन, शिक्षादिक्षा र भरणपोषण राज्यको दायित्व हुनुपर्ने बताउनुभयो । पछिल्लो समय राज्य सामाजिक सुरक्षातर्फ गम्भिर भएपनि त्यो अझै पर्याप्त हुन नसकेको बताउदै डा. पौडेलले जिम्मेवार नागरिक र संस्थाहरुले पनि यथाशक्य सहयोग गर्नुपर्ने बताउनुभयो । डा. पौडेलले सहकारीहरु सामाजिक उत्तदायित्वको पर्याय भएको कारण हातेमालोले समुदायको वित्तिय एवम् आर्थिक सशक्तीकरणसंगै सामाजिक उत्तरदायित्वमा पनि भूमिका खेलिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपाड्ड महासंघका मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष एवम् अपाड्ड सेवा संघ बाराका अध्यक्ष गंगा वाग्लेले स्थापनाको छोटो अवधिमा हातेमालोले गरेको प्रगतिको प्रशंशा गर्दै आफनो संस्था र विद्यार्थीहरुलाई निरन्तर सहयोग गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो । अपाड्डका क्षेत्रमा आफुहरुले उदाहरणीय ढंगले काम गरिरहेको बताउदै यसमा सहयोगका लागि वाग्लेले सबैलाई आग्रह गर्नुभयो ।

संस्थाका उपाध्यक्ष विनोद कलवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालकहरु पेशल मुल्मी, सुशिला आचार्य र बरुण गौतम, शिक्षा समिति सदस्य दिलिप दाहाल, पूर्व सञ्चालक कुमारनाथ त्रिपाठी, व्यवस्थापक बरुण गौतमलगायतले बोल्नुभएको थियो ।

प्रदेश नं. २ को उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा स्थान बनाएको हातेमालोले आफनो दशौं स्थापना दिवसको अवसरमा जेठ १४ गतेदेखि सप्ताहव्यापी रुपमा विभिन्न रचनात्मक क्रियाकलापहरु गरिरहेको छ । सोहीक्रममा भोलि जेठ १७ गते विद्यार्थी सहकारी अभिमुखीकरण, जेठ १८ गते छातापिप्रा स्वास्थ्यचौकीमा सामाग्री हस्तान्तरण, जेठ १९ गते सिमरा बजारमा दिपावली र जेठ २० गते सम्मान, पुरस्कारलगायत स्थापना दिवस विशेष कार्यक्रम रहेको छ ।
हाल संस्थामा हाल २७०० सदस्यहरुवीच करीव २७ करोडको कारोवार भइरहेको छ । वित्तिय सहजीकरण अलावा सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि सहकारीले काम गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय