२२ कात्तिक २०८३, आईतवार

विशेष सम्पादकीय : छापा मार्फत हाम्रो सहकारी अभियान पाँचौं वर्षमा

२०७३ चैत २०, आईतवार
विशेष सम्पादकीय : छापा मार्फत हाम्रो सहकारी अभियान पाँचौं वर्षमा

को–अपरेटिभ मिडिया सोलुसन प्रा.लिद्वारा सञ्चालित www.sahakarikhabar.com (सहकारीखबर डटकम) स्थापनाको पाँचौं वर्षमा प्रवेश गरेको छ । नेपाल प्रेस काउन्सिलमा दर्ता भई पत्रकारिताको मुल मर्म, सत्य तथ्य र निष्पक्षतामा आधारित भई हामी सहकारीका हरेक गतिविधि समेट्दै आएका छौं । मुलधारको मिडियाले सहकारीका विषयबस्तुलाई प्राथमिकता दिन कन्जुस्याई गरिरहेको प्रतित भइरहेका बेला हामी भने सहकारीको मुलमन्त्र पछ्याउदै अनवरत यात्रामा छौं ।

वर्तमान युग सूचनाको युग हो । अहिले हरेक नागरिक सञ्चारको सहज पहुँचमा छन् । पछिल्लो समय नेपालको पत्रकारितामा अनलाइन पत्रकारिता पनि स्थापित बन्दै गएको छ । अनलाईनहरुको सशक्त र रचनात्मक हस्तक्षेप बढेको छ । सहकारीखबर डटकमले अनलाइन मिडियामार्फत सहकारी क्षेत्रमा देखिएका विकृति–विसंगति, त्यस क्षेत्रमा प्राप्त सफलता, राज्यलाई गरेको योगदान, नीतिगत क्षेत्रमा देखिएका कमजोरी, सुधार गर्नुपर्ने पक्ष लगायतका बारेमा गहकिला विषय उठान गर्दै आएको छ । स्थापनाको छोटो समयमै अनलाइनले लोकप्रियता हाँसिल गर्न सफल भएको छ । यो सबै तपाई प्रबुद्ध पाठकहरुकै कारण सम्भव भएको हो ।

नेपालको सहकारी अभियानमा संचार माध्यम मार्फत एक अभियन्ताको रुपमा सहकारीखबर डटकम उभिएको छ । नेपालको सर्वाधिक लोकप्रिय सहकारी अनलाइन पत्रिकाको रुपमा सहकारीकर्मीको ढुकढुकी बन्न सफल भएको छ । नेपालको सहकारी आन्दोलनलाई द्रुत गतिमा अगाडी बढाउनका लागि सञ्चार क्षेत्रको भूमिका बिना प्राय असम्भव हुन्छ । यस कुरालाई मनन गरेर हामीले सहकारी क्षेत्रका सफलताका कथा, यसमा आउन सक्ने समस्यालाई मात्र उजागर गरेका छैनौं सहकारीमा आउन सक्ने सम्भावित संकटका विषयमा समेत सजग गराउने प्रयास गरेका छौं ।

यो यात्रा सहज बनाउन हामी एक्लैको प्रयास कदापी प्रयाप्त थिएन र हुने पनि छैन । सहकारीखबर डट कमको उद्धेश्यलाई सफलतापूर्वक यहाँसम्म ल्याइपुर्याउन यहाँहरू थुप्रैको योगदान छ । हामीले गुजारेका तीन वर्षको दौरानमा धेरै संघर्ष, औधी हौसला र अनुपम अनुभवहरू संगालेका छौं । पछिल्लो युगको पत्रकारिताका रूपमा स्थापित बन्दै गएको अनलाईन मिडिया मार्फत हामीले सहकारी क्षेत्रमा देखिएका केही विकृति, धेरै सफलताका कथा र केही नीतिगत विषयमा गहकिला विषय उठान गर्न सकेको आत्मानुभूति गरेका छौं । हामी अझै परिपक्व भएको दावी गर्दैनौं, सत्य यत्ति हो कि सहकारीको क्षेत्रमा हामी पहिलो सन्तानका रूपमा भने स्थापित हुन सकेका छौं । र यो अवसरमा हामी त्यो स्थानलाई अझै उँचाइमा पुर्याउने दृढता समेत व्यक्त गर्दछौं ।

आशा छ यहाँहरुको सहयोग विगतमा झै रहनेनै छ । आम पाठकलाई सुसूचित गराउने मूल दायित्वबाट हामी कहिल्यै बिमुख हुने छैनौं । सहकारीखबरले विगतमा निष्पक्ष कभरेजको आम रूपमा जुन प्रशंसा पाएको छ, त्यसले हामीलाई जिम्मेवारपूर्ण व्यवसायिक भएर अघि बढ्न थप उर्जा मिलेको छ ।

नेपालको अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा रहेको सहकारी क्षेत्रले थुप्रै चुनौतीको सामना गरिरहेको छ । ती चुनौति विरुद्ध लड्दै सहकारीलाई अर्र्थतन्त्रको मेरुदण्डका रुपमा अगाडी बढाउन सक्ने सम्भावनालाई जनतामाझ छर्लगं पार्ने माध्यम भनेकै सञ्चार क्षेत्र हो । सञ्चार क्षेत्रको विकास र विस्तार विना सहकारीको सम्भावना छैन ।

सहकारी क्षेत्रलाई संस्थागत गर्न सहकारीकर्मीलाई घचघच्याउनका साथै सहकारी क्षेत्रमा देखिएका विकृतिलाई निरुत्साहित गर्न हामी कटिवद्ध छौं । यति भनिरहँदा सहकारी मूल्य र मान्यताका पक्षमा हाम्रो पहरेदारी अझ बलियो गरी हुने प्रण पनि हामी यही अवसरमा पुनः दोहोर्याउन चाहन्छौं ।

अन्तमा, सहकारीखबर डट कम पाँचौं वर्ष प्रवेशको यो अवसरमा विशेषगरी हाम्रो आरम्भका सहयात्री लगायत सबै सुभेच्छुक, सहयोगी हात र हौसलाप्रति आभार प्रकट गर्न चाहन्छ । विशेषगरी श्रद्धेय पाठक, सिर्जनशील पत्रकार, लगनशील कर्मचारी, सहयोगी सहकारी संघ संस्था, विज्ञापनदाता र एजेन्सीलगायतमा हामी कृतज्ञ छौं ।

२०१३ साल चैत २० गते बाट सुरु भएको नेपालको सहकारी आन्दोलन ६० औं वर्षमा प्रवेश गरेको छ । साथै सहकारी दिवसको अवसरमा सम्पूर्ण सहकारीकर्मीहरुमा हार्दिक शुभकामना दिन चाहन्छौं । सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई सहकारी संचालकले व्यवहारिक रुपमा अवलम्बन नगर्दा तथा नियमन निकायले चासो नदिदा केही सहकारीमा समस्या देखिएको छ । तिनलाई बेलैमा समाधान गरेर अगाडी बढेमा सुखद भबिष्य प्रतिक्षारत छ ।
जय सहकारी ।

सम्पादक

अभिलेख

लोकप्रिय