२२ कात्तिक २०८३, आईतवार

साकोसको वित्तिय र संस्थागत क्षमता अभिवृद्धि गर्न नेफ्स्कून र सक्षमबीच सहकार्य

२०७३ भदौ १३, सोमबार
साकोसको वित्तिय र संस्थागत क्षमता अभिवृद्धि गर्न नेफ्स्कून र सक्षमबीच सहकार्य

nefscsun

काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको वित्तिय र संस्थागत क्षमता अभिवृद्धि गर्न सक्षमसंगको सहकार्यमा एक परियोजना शुरुवात गरेको छ ।

नेफ्स्कून र युकेएड सक्षमले एक कार्यक्रमबीच वित्तिय पहुँचको विस्तार गर्ने परियोजना सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेफ्स्कूनले नेपालको मध्ये र सुदुर पश्चिमका बचत तथा ऋण सहकारी संस्थाहरुको संस्थागत क्षमताको विकास र उनीहरुको थोक कर्जामा पहुँच विस्तार गर्न सहयोग गर्ने जनाएकाे छ । परियोजनाले ग्रामिण भेगमा रहेका संस्थाहरुको पहुँच नेफ्स्कूनमा सजिलोसँग पुर्याउन नेफ्स्कूनले क्षेत्रिय कार्यालयहरु दाङ र डडेल्धुरामा विस्तार गर्नुका साथै सक्षमले त्यस क्षेत्रका बचत तथा ऋण सहकारीलाई नेफ्स्कूनको अन्तरलगानी कार्यक्रम तथा अन्य स्रोतहरुमार्फत थोक कर्जा लिन मद्दत गर्ने बताइएकाे छ । यसका अलावा अहिले थोक कर्जा उपयोग गरीरहेका सहकारीहरुको थप ऋण प्रदान गर्ने क्षमता विस्तार गर्न सहयोग पुर्याउने छ ।

यस परियोजना मार्फत नेफ्स्कूनले २ सय सहकारी संस्थाहरुको क्षमता विकास गर्नेछ । यस मार्फत सहकारी संस्थाहरुले तीस हजार नयाँ सदस्यलाई वित्तिय सेवा प्रदान गर्ने परियोजनाको उद्देश्य रहेको छ । क्षमता अभिवृद्धि पछि यी सहकारीले नेफ्स्कून लगायत अन्य थोक कर्जा प्रदान गर्ने संस्थामार्फत कैलाली, डडेल्धुरा, डोटी, बैतडी, कञ्चनपुर, रोल्पा, प्युठान, दाङ, रुकुम र सल्यान जिल्लाका ग्रामिण क्षेत्रमा ६ अर्ब भन्दा बढी ऋण परिचालन गर्ने जनाएको छ ।

परियोजना सम्झौता हस्ताक्षर कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेले सहकारी र थोक कर्जाले नेपालको ग्रामिण क्षेत्रमा वित्तिय सेवा पुर्याउन महत्वपूर्ण योगदान गरेको बताए । दुर्गम क्षेत्रमा थप पहुँच पुर्याउन सहकारीको क्षमता विकास अपरिहार्य रहेको बताउँदै घिमिरेले सक्षमसंगको यस परियोजनाले सहकारीको क्षमता अभिवृद्धि गर्न र सदस्यलाई गुणस्तरिय सेवा प्रदान गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा बोल्दै सक्षमका टोली प्रमुख बलजित बोहराले नेपालको विकास र समृद्धि ग्रामिण क्षेत्रका मानिसहरुको सशक्तिकरण र उनीहरुको वित्तिय सेवा पुग्ने बहुँचसँग जोडिएको बताए । नेफ्स्कूनले सहकारी मार्फत अहिले गरिरहेको कामले ग्रामिण क्षेत्रका मानिसहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुर्याएको उनको भनाई थियो ।
त्यस्तै नेफ्स्कूनका प्र्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले दुर्गम क्षेत्रका मानिसहरुलाई गुणस्तरिय वित्तिय सेवा विस्तार गर्न अत्यावश्यक भईसकेको बताए । सक्षमसँगको सहकार्यमा सहकारीहरुको क्षमता अभिवृद्धि गरी सफल र दिगो कार्यान्वय गर्न जरुरी रहेको उनको भनाई थियो ।

सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बेलायत सरकार र नेपाल सरकार बीचको द्धिपक्षिय सहयोगमा लुइस बर्जर द्धारा अन्य संस्थासँगको सहकार्यमा नेपालमा कार्यान्वयन भईरहेको छ ।

प्रकाशित मिति: २०७३ भदाै १३ गते

अभिलेख

लोकप्रिय