२२ कात्तिक २०८३, आईतवार

धौलागिरिका सहकारीकर्मीले गरे पश्चिमका सहकारीको अवलोकन

२०७३ जेठ २६, बुधबार
धौलागिरिका सहकारीकर्मीले गरे पश्चिमका सहकारीको अवलोकन

visit sahakari

बागलुङ । धौलागिरि अञ्चल कार्यक्षेत्र रहेको डिभिजन सहकारी कार्यालय बागलुङको संयोजन तथा विभिन्न सहकारी संघ संस्थाहरुको सहयोगमा ५ दिने सहकारी अध्ययन अवलोकन भ्रमण सोमबार सकिएको छ ।

धौलागिरिका बागलुङ, पर्वत र म्याग्दीका २४ जना सहकारीकर्मीहरुको एक टोलीले स्याङ्ग्जा, बाँके, सुर्खेत र कञ्चनपुरका ५ वटा सहकारी संस्थाहरुको अवलोकन गरेका हुन् । टोलीले उपकार बचत तथा ऋण सहकारी संस्था स्याङ्जा, कोहलपुर शित भण्डार सहकारी बाँके, जनहितकारी बचत तथा ऋण सहकारी सुर्खेत, सिद्धार्थ बहुउद्देश्यीय सहकारी सुर्खेत, सिद्धार्थ सूचना तथा सञ्चार सहकारी संस्था सुर्खेत र उदयदेव बहुउद्देश्यीय सहकारी संस्था कञ्चनपुरको अवलोकन गरेको डिभिजन सहकारी कार्यालयका प्रमुख विष्णुप्रसाद शर्र्माले जानकारी दिए । वचत तथा ऋणको कारोबार गर्ने लगायत शित भण्डार सञ्चालन गरेका र च्याउ लगायत उत्पादनका काम गरेका सहकारीको अवलोकन गरेको सहभागीहरुले बताएका छन् ।

अन्य जिल्लाका सहकारीहरुले गरेका राम्रा कामहरुको बारेमा जानकारी लिएर धौलागिरि अञ्चलका सहकारीहरुलाई थप प्रभावकारी र सवल बनाउने उदेश्यले गरिएको भ्रमण प्रभावकारी रहेको शर्माको भनाई छ । सहकारीकर्मीहरुले एक आपसमा छलफल गर्दा सकारात्मक कुरालाई बढाउन र कमजोरीहरुलाई सच्याउन सहयोग पुग्ने भएकाले डिभिजन सहकारी कार्यालयको संयोजनमा भ्रमण सम्पन्न गरिएको उनको भनाइ छ ।

मध्य तथा सुदुर पश्चिमका सहकारीहरुले गरेका धेरै राम्रा कुराहरु धौलागिरिका सहकारीहरुका लागि अनुकरणीय हुने र धौलागिरिका सहकारीले गरेका राम्रा कामले त्यताका सहकारीहरुलाई पनि फाइदा पुगेको भ्रमण टोलीमा संलग्न राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले बताए । सहकारी मार्फत उत्पादन, प्रशोधन र बजारीकरणलाई व्यवस्थित गराउन अझै धेरै अध्ययन, अवलोकन, योजना आवश्यक रहेको भन्दै जिसीले सबै सहकारीहरुले आफ्ना सदस्यहरुले उत्पादन गरेका वस्तुहरुको व्यवस्थान गर्न सकेमा मात्रै सहकारी मार्फत आर्थिक विकास संभव रहेको बताए । भ्रमणले धौलागिरिका सहकारीकर्मीहरुमा उत्साह जागेको छ, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सके सहकारी क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले बताए ।

टोलीमा जिल्ला सहकारी संघ बागलुङ र म्याग्दीका पदाधिकारी तथा सदस्यहरु, बागलुङ पर्वत र म्याग्दीका अन्य विषयगत सहकारी संघ तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक डिलबहादुर केसीले जानकारी दिए ।

अभिलेख

लोकप्रिय