छापा मार्फत हाम्रो सहकारी अभियान चौंथो वर्षमा
को–अपरेटिभ मिडिया सोलुसन प्रा.लिद्वारा सञ्चालित www.sahakarikhabar.com (सहकारीखबर डटकम) स्थापनाको चौथो वर्षमा प्रवेश गरेको छ । नेपाल प्रेस काउन्सिलमा दर्ता भई पत्रकारिताको मुल मर्म, सत्य तथ्य र निष्पक्षतामा आधारित भई हामी सहकारीका हरेक गतिविधि समेट्दै आएका छौं । मुलधारको मिडियाले सहकारीका विषयबस्तुलाई प्राथमिकता दिन कन्जुस्याई गरिरहेको प्रतित भइरहेका बेला हामी भने सहकारीको मुलमन्त्र पछ्याउदै अनवरत यात्रामा छौं ।
वर्तमान युग सूचनाको युग हो । अहिले हरेक नागरिक सञ्चारको सहज पहुँचमा छन् । पछिल्लो समय नेपालको पत्रकारितामा अनलाइन पत्रकारिता पनि स्थापित बन्दै गएको छ । अनलाईनहरुको सशक्त र रचनात्मक हस्तक्षेप बढेको छ । सहकारीखबर डटकमले अनलाइन मिडियामार्फत सहकारी क्षेत्रमा देखिएका विकृति–विसंगति, त्यस क्षेत्रमा प्राप्त सफलता, राज्यलाई गरेको योगदान, नीतिगत क्षेत्रमा देखिएका कमजोरी, सुधार गर्नुपर्ने पक्ष लगायतका बारेमा गहकिला विषय उठान गर्दै आएको छ । स्थापनाको छोटो समयमै अनलाइनले लोकप्रियता हाँसिल गर्न सफल भएको छ । यो सबै तपाई प्रबुद्ध पाठकहरुकै कारण सम्भव भएको हो ।
नेपालको सहकारी अभियानमा संचार माध्यम मार्फत एक अभियन्ताको रुपमा सहकारीखबर डटकम उभिएको छ । नेपालको सर्वाधिक लोकप्रिय सहकारी अनलाइन पत्रिकाको रुपमा सहकारीकर्मीको ढुकढुकी बन्न सफल भएको छ । नेपालको सहकारी आन्दोलनलाई द्रुत गतिमा अगाडी बढाउनका लागि सञ्चार क्षेत्रको भूमिका बिना प्राय असम्भव हुन्छ । यस कुरालाई मनन गरेर हामीले सहकारी क्षेत्रका सफलताका कथा, यसमा आउन सक्ने समस्यालाई मात्र उजागर गरेका छैनौं सहकारीमा आउन सक्ने सम्भावित संकटका विषयमा समेत सजग गराउने प्रयास गरेका छौं ।
यो यात्रा सहज बनाउन हामी एक्लैको प्रयास कदापी प्रयाप्त थिएन र हुने पनि छैन । सहकारीखबर डट कमको उद्धेश्यलाई सफलतापूर्वक यहाँसम्म ल्याइपुर्याउन यहाँहरू थुप्रैको योगदान छ । हामीले गुजारेका तीन वर्षको दौरानमा धेरै संघर्ष, औधी हौसला र अनुपम अनुभवहरू संगालेका छौं । पछिल्लो युगको पत्रकारिताका रूपमा स्थापित बन्दै गएको अनलाईन मिडिया मार्फत हामीले सहकारी क्षेत्रमा देखिएका केही विकृति, धेरै सफलताका कथा र केही नीतिगत विषयमा गहकिला विषय उठान गर्न सकेको आत्मानुभूति गरेका छौं । हामी अझै परिपक्व भएको दावी गर्दैनौं, सत्य यत्ति हो कि सहकारीको क्षेत्रमा हामी पहिलो सन्तानका रूपमा भने स्थापित हुन सकेका छौं । र यो अवसरमा हामी त्यो स्थानलाई अझै उँचाइमा पुर्याउने दृढता समेत व्यक्त गर्दछौं ।
यहाँ सम्म आईपुग्दा को–अपरेटिभ मिडिया सोलुसन प्राली ग्रुपको रूपमा संस्थागत विकासको क्रममा छ । हामी सहकारी अनलाइन रेडियो, सहकारी रेडियो कार्यक्रम, पत्रिका प्रकाशनको गृहकार्यमा जुटिरहेका छौं । आशा छ यहाँहरुको सहयोग विगतमा झै रहनेनै छ । आम पाठकलाई सुसूचित गराउने मूल दायित्वबाट हामी कहिल्यै बिमुख हुने छैनौं । सहकारीखबरले विगतमा निष्पक्ष कभरेजको आम रूपमा जुन प्रशंसा पाएको छ, त्यसले हामीलाई जिम्मेवारपूर्ण व्यवसायिक भएर अघि बढ्न थप उर्जा मिलेको छ ।
नेपालको अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा रहेको सहकारी क्षेत्रले थुप्रै चुनौतीको सामना गरिरहेको छ । ती चुनौति विरुद्ध लड्दै सहकारीलाई अर्र्थतन्त्रको मेरुदण्डका रुपमा अगाडी बढाउन सक्ने सम्भावनालाई जनतामाझ छर्लगं पार्ने माध्यम भनेकै सञ्चार क्षेत्र हो । सञ्चार क्षेत्रको विकास र विस्तार विना सहकारीको सम्भावना छैन ।
सहकारी क्षेत्रलाई संस्थागत गर्न सहकारीकर्मीलाई घचघच्याउनका साथै सहकारी क्षेत्रमा देखिएका विकृतिलाई निरुत्साहित गर्न हामी कटिवद्ध छौं । यति भनिरहँदा सहकारी मूल्य र मान्यताका पक्षमा हाम्रो पहरेदारी अझ बलियो गरी हुने प्रण पनि हामी यही अवसरमा पुनः दोहोर्याउन चाहन्छौं ।
अन्तमा, सहकारीखबर डट कम चौथो वर्ष प्रवेशको यो अवसरमा विशेषगरी हाम्रो आरम्भका सहयात्री लगायत सबै सुभेच्छुक, सहयोगी हात र हौसलाप्रति आभार प्रकट गर्न चाहन्छ । विशेषगरी श्रद्धेय पाठक, सिर्जनशील पत्रकार, लगनशील कर्मचारी, सहयोगी सहकारी संघ संस्था, विज्ञापनदाता र एजेन्सीलगायतमा हामी कृतज्ञ छौं ।
२०१३ साल चैत २० गते बाट सुरु भएको नेपालको सहकारी आन्दोलन ५९ औं वर्षमा प्रवेश गरेको छ । साथै सहकारी दिवसको अवसरमा सम्पूर्ण सहकारीकर्मीहरुमा हार्दिक शुभकामना दिन चाहन्छौं । सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई सहकारी संचालकले व्यवहारिक रुपमा अवलम्बन नगर्दा तथा नियमन निकायले चासो नदिदा केही सहकारीमा समस्या देखिएको छ । तिनलाई बेलैमा समाधान गरेर अगाडी बढेमा सुखद भबिष्य प्रतिक्षारत छ ।
जय सहकारी ।
काजी श्रेष्ठ
सम्पादक
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
