२२ कात्तिक २०८३, आईतवार

सहकारीलाई वेवास्ता नगर्न दलको सुझाव

२०७२ चैत १७, बुधबार
सहकारीलाई वेवास्ता नगर्न दलको सुझाव

बागलुङ । बागलुङमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरु समाज रुपान्तरणको जगका रुपमा रहेको सहकारी क्षेत्रको प्रवद्र्धनका लागि राज्यका सबै निकायको सहयोग आवश्यक रहेको बताएका छन् ।

५९ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आदर्श सञ्चार सहकारी संस्थाले आोजना गरेको राजनीतिक दलका प्रतिनिधिहरुसंग जिल्लामा सहकारीको वर्तमान अवस्था र सम्भावना बिषयक अन्तरक्र्रिया कार्यक्रमका सहभागी दलका प्रतिनिधिहरुले यस्तो बताएका हुन् ।

राज्यले अर्थतन्त्रका तीन मध्ये मुख्य खम्बाका रुपमा लिएको सहकारी क्षेत्रमार्फत मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुने भएकाले सहकारी क्षेत्रलाई वेवास्ता नगर्न सरोकारवालाहरुलाई उनीहरुले सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले सहकारी सञ्चालन गर्न धेरै चुनौतीहरु रहेको भन्दै पर्यटन विकासमा पनि सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएका थिए । राष्ट्रिय सहकारी नीति भएता पनि कार्यान्वयन नहुनु, सहकारी शिक्षाको कमि, लक्षित वर्गमा पुग्न नसक्नु एवं दक्ष जनशक्तिको अभाव हुनु सहकारीका मुख्य चुनौतीहरु रहेको सो अवसरमा बताइएको थियो ।

कार्यक्रमको सहजिकरण गर्दै राष्ट्रिय सहकारी बैँकका सञ्चालक रामबहादुर जिसीले बागलुङमा सहकारीको योगदान सकारात्मक रहेपनि यसलाई थप विकास गर्नका लागि सबैका विचमा सहकार्य आवश्यक रहेको बताए । उनले जिल्लाको वर्तमान अवस्था र भावी संभावना विषयमा अवधारणापत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, नेकपा एमालेका जिल्ला सदस्य भरत पुरी, एकीकृत नेकपा माओवादीका सचिव राजिव घिमिरे, राप्रपाका अध्यक्ष टिकाराम सापकोटा, नेकपा मालेका मञ्जु क्षेत्री र नयाँ शक्ति अभियानका चित्र सापकोटाले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले सहकारी अभियानलाई राजनीतिक दलहरुले सकारात्मक रुपमा अगाडि बढाउन सहयोग गर्नु पर्नेमा जोड दिए ।

अभिलेख

लोकप्रिय