'आर्थिक समृद्धिका लागि सहकारी एउटा महत्वपुर्ण माध्यम हो'
नेत्रराज पौडेल,
अध्यक्ष, जिल्ला सहकारी संघ, धादिङ
सहकारी अभियानमा लाग्नु भएको कति समय भयो ?
विशेषगरी अनौपचारिक रुपमा साना किसान विकास आयोजनाबाट सहकारी अभियानमा प्रवेश गरेको हुँ । त्यतिबेला सहकारीको भन्दा पनि किसानहरुको लागि लाभ हुने हिसाबले अप्रत्यक्ष रुपमा संलग्न थिएँ । त्यसको अतिरिक्त आफ्नै गाउँघरमा सञ्चालित सहकारीमा आफुले सक्दो सहयोग गर्दै आएको थिएँ । सहकारीलाई प्रबद्र्धन गर्नुपर्छ र यो गाउँको उपयुक्त माध्यम हो भनेर अलि अगाडि देखि नै लागियो । संस्थागत रुपमा आफैँ संगठित भएर आफ्नै अगुवाईमा २०६३ सालमा हाईवे बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरेर सहकारीमा प्रवेश गरेको हुँ । हालसम्म पनि अध्यक्ष नै छु ।
धादिङको सहकारी अभियान बारेमा बताईदिनुस् न ।
धादिङको सन्दर्भमा पञ्चायत कालमा विशेषगरी निर्देशित सहकारीको रुपमा रहेको थियो र त्यसको बीचमा खासै विकास भएको पार्इँदैन । २०४८ सालमा सहकारी ऐन आईसकेपछि धादिङमा सहकारीको गतिविधि अघि बढेको हो । यद्यपि यो भन्दा अगाडि २०१९ सालमा निलकण्ठले साझा सहकारीको रुपमा काम गर्न थाल्यो । त्यसले पनि खासै धेरै गतिविधि अगाडी बढाएको पाईँदैन । जब २०४८ मा सहकारी ऐन आएपछि प्रारम्भिक सहकारी दर्ता हुन थाले । अभियान अगाडी बढ्दै गईसकेपछि छाता संगठनहरुको महसुश सबैतिर हुन थाल्यो र यही सन्दर्भमा २०५४ मा धादिङमा पनि धादिङ जिल्ला सहकारी संघ गठन भयो । संस्थागत रुपमा छाता संगठन २०५४ मा जिल्ला सहकारी संघ स्थापना गरेर आफ्ना कामहरु अगाडी बढाएको पाईन्छ ।
सहकारी ऐन २०४८ आउनुभन्दा अगाडी धादिङमा कतिवटा सहकारी सञ्चालनमा थिए ?
लगभग ५० वटा प्रारम्भिक सहकारी थिए । तिनीहरु सबै जिवित छैनन् निस्क्रिय भईसकेका छन् र भएकाहरु पनि साझालाई सहकारीमा परिणत भई सञ्चालन भएका छन् । तिनीहरु खासै चर्चामा पनि आएका छैनन् ।
जिल्ला संघ स्थापना हुनु भन्दा अगाडी जिल्लामा कति वटा सहकारी संस्था थिए ?
विशेषगरी जिल्ला संघ बन्नको निम्ति तत्कालिन अवस्थामा ७ वटा संस्थाहरु भए पुग्थ्यो । संघ स्थापना हुनु भन्दा अगाडी जिल्लामा ५४ सहकारी थिए । १५ वटा सहकारी संस्थाहरु मिलेर जिल्ला संघ गठन भएको हो ।
जिल्ला संघमा कति वटा संघ संस्था आवद्ध भएका छन् ?
धादिङमा प्रारम्भिक संस्थाहरु ४ सय १५ वटा रहेका छन् । त्यसमध्ये १ सय ७६ वटा जिल्ला संघमा आवद्ध छन् । जिल्लामा विशेष संघ ५ वटा छन् । यी ५ वटा मध्ये तरकारी तथा फलफुल जिल्ला संघ आवद्ध भएका छैनन् । यो बाहेकका सबै जिल्ला संघमा आवद्ध छन् ।
जिल्लाका सबै सहकारीलाई संघमा आवद्ध गराउने केही योजना छन् ?
जिल्ला संघमा आवद्ध हुनै पर्ने कानुनी रुपमा अनिवार्यता छैन । किनभने अहिलेकोे मापदण्डले हरेक प्रारम्भिक संस्थाहरु एक तह माथिको संघमा आवद्ध हुनुपर्छ भनेको छ । जस्तो साना किसानसँग सम्वन्धित संस्थाहरु साना किसान जिल्ला सहकारी संघमा जान सक्ने भए । वचत तथा ऋण सहकारी संघका जिल्ला वचत तथा ऋण सहकारी संस्थामा जान सक्ने भए । बहुउद्देश्यीय सहकारी संस्थाहरु बहुउद्देश्यीय जिल्ला संघमा जान सक्ने भए । त्यसैले एक तहमाथि कोही त्यसको सदस्य बनिसकेका छन् भने त्यसलाई अनिवार्यताको हिसाबले तपाई आउनुस् भन्न चाहिँ अप्ठ्यारो हुन्छ । तर जिल्ला संघको सदस्य चाँहि जुनसुकै माथिल्लो तहमा सदस्य बनेपनि जिल्ला संघमा आउने कुरामा उनीहरु स्वतन्त्र छन्, आउन सक्छन् ।
सहकारी संस्थाहरु जिल्ला संघमा सदस्य बनेर के फाईदा हुन्छ ? संघले आफ्ना सदस्यलाई के कस्ता सेवाहरु प्रदान गर्दै आएको छ त ?
जिल्ला सहकारी संघले सबैभन्दा पहिलो कुरो त यसको उद्देश्य र कार्यपद्धतिको बारेमा प्रष्ट पार्नुपर्छ । यो समन्वयकारी निकाय हो । संघ अभियानको नेतृत्वदायी निकाय पनि होे । सरकारसँग लभिङ गर्ने कुरामा यसको भुमिका रहन्छ । हामी जिल्ला भरिका संस्थाहरुको अगुवाबाट आएका छौँ । यसले संस्थाहरुको समस्यालाई सम्बोधन गर्नको निम्ति एउटा कसिलो आवाज प्रदान गर्छ । कतिपय जिल्लाहरुमा जिल्ला संघहरुको आफ्नै आन्तरिक स्रोतहरु र स्थायी किसिमका पुँजि, घर जग्गा पनि प्राप्त गरेका छन् । तर ति ठाउँमा अरु प्रारम्भिक कामहरु पनि सहकारी संस्थाहरुलाई आवश्यक पर्ने कामहरु भएका छन् । ति संस्थाहरु आफैमा उनीहरुको भर पर्दो, आकर्षक, विकासको केन्द्र बनेको छ ।
अहिले जिल्लामा समग्र सहकारीको अवस्था कस्तो छ ?
जिल्लामा ४ सय १५ वटा प्रारम्भिक संस्था स्थापना भएका छन् । ४६ वटा गाविस र १ नगरपालिका भएको जिल्लामा आफैँमा धेरै भईसकेको छ । विषय प्रकृतिका हिसावले यो विशिष्टिकरण हुँदै जिल्लामा १६ प्रकृतिका सहकारीहरु विभिन्न कार्य पद्धति अनुसार काम गरिराखेका छन् । कामकै हिसावले भन्ने हो भने वित्तिय हिसाबले धादिङ जिल्लामा यो असार मसान्तको लगानी रेकर्ड मात्र २ अर्ब २३ करोड सहकारी माफर््त जिल्लामा लगानी भएको छ । यसरी हेर्दा समग्रमा धादिङ जिल्लामा सहकारीको पहुँच वित्तिय हिसावले, संख्यात्मक हिसावले, सन्तुलनको हिसावले, व्यक्ति सदस्यका हिसावले, कार्यप्रणालिको हिसावले यसले सबै पक्ष समेट्दै सहकारी हाम्रो साथी बन्न सक्छ ।
जिल्लामा संख्याको हिसाबले भन्ने हो भने सहकारी संस्थाहरुको नयाँ स्थापना भन्दा पनि भएका संस्थाहरुको एकिकरण गर्नतिर जानुपर्छ । एउटै व्यक्ति धेरै वटा सहकारीको सदस्य बनेका छन् । यसले गर्दा वास्तविक सहकारीको सदस्य संख्या कति भन्ने कुरामा पनि एकिन तथ्याङ्क आउन सकेको छैन ।
उत्पादन मुलक क्षेत्रमा सहकारीको सहभागिता कस्तो छ ?
सहकारी उत्पादन, उपभोग र बजारीकरणमा जोड्नुपर्छ । अझ बढी फस्टाउने र सदस्यहरुको आर्थिक समृद्धिको परिकल्पना गरी उत्पादनमुखि सहकारीमा पुग्नुपर्छ । यो चिजमा व्यवसायिक हिसाबले सहकारीकै माध्यमबाट एकदम सानो भन्नुपर्छ । त्यस्तो उल्लेख्य रुपमा जान सकिएको छैन । तर सहकारीले आफ्ना सदस्यहरुलाई आफ्नो लगानी परिचालन गरेर उत्पादनको क्षेत्र विस्तार गर्ने र विकास गर्ने तर्फ सहकारी लाग्नुपर्छ ।
उत्पादन मुलक क्षेत्रमा काम गर्ने सहकारीको कुनै तथ्याङ्क छ ?
धादिङमा कृषि सहकारीलाई उत्पादनको रुपमा राख्न सकिन्छ । जिल्लामा कृषि सहकारी २ सय २३ वटा छन् । त्यसैरी महिला उद्यमी सहकारीले पनि उत्पादन गरीराखेका छन् । जसले विभिन्न किसिमका घरेलु उत्पादनहरु गर्छन् त्यस्तै धातु निर्माण । धातु निर्माणले प्राचिन भाँडाका कामहरु गरिरहेका छन् । उत्पादनका हिसावले कफी उत्पादन सहकारी छन् । च्याउ उत्पादनका हिसावले च्याउ सहकारी छन् ।
धादिङका सहकारी कत्तिको सफल छन् ?
धादिङ जिल्लामा वित्तिय हिसावले भन्नुहुन्छ भने १ करोड देखि ५ करोडसम्म वित्तिय कारोवार गर्ने सहकारीको संख्या ४८ वटा छन् । त्यस्तै ५ करोडदेखि माथि काम गर्ने सहकारी १० वटा छ । त्यस्तै महिलाले मात्र चलाएका सहकारी ८४ वटा छ । जसले आर्थिक पहिचान गर्छन् ति सहकारीहरु विशेष दुर्घटनामा पर्न सक्दैन । ति सहकारी विकास भएका छन् । तिनीहरुको आर्थिक बृद्धि भएको छ । सहकारीले के भन्छ भने न्युनतम १ करोडको व्यालेन्स सीट १ हजार सदस्य संख्या र सहकारीको मुल्य मान्यता रहेर अगाडी बढ्यो भने त्यो सहकारी कहिल्यै पनि असफलतामा जाँदैन । त्यो विकास हुनको निम्ति चाहिँ यत्ति चिज छ भने ति सहकारी विकास हुन्छ । त्यसैले बचत तथा ऋणका हिसावले कारोवार गर्ने संस्थाहरुले पनि यसरी वित्तिय हिसावले आफैँ स्थायित्व दिन सक्ने हिसावमा बिकास भएका छन् ।
सहकारीमा देखिएको प्रमुख समस्या भनेको शिक्षा, तालिम र सूचना हो । सदस्य संघ संस्थाका सञ्चालक, कर्मचारीलाई शिक्षा तालिम कत्तिको दिनु हुन्छ ?
हामीले केन्द्रसँग समन्वय गर्ने हो । जिल्लामा बजेट त्यति हुँदैन । कहिलेकाँही डिभिजन सहकारी कार्यालयसँग समन्वय गरेर तालिमहरु सञ्चालन गरेका छौँ । साना किसानको हकमा उहाँहरुले सुरुदेखि नै तालिम दिने व्यवस्था गर्नु भएको छ । तर पूर्ण छैन । यसलाई पुर्ण बनाउनको लागि सहकारीको विनियम निर्माण गर्दै त्यहाँ सहकारीले कमाएका जति पनि वचत छ, त्यसलाई विभिन्न कोषमा छुट्याएर बोनस बाढ्न पाउने व्यवस्था छ । त्यसमाथि सामान्यतया ५ देखि १० प्रतिशत सहकारी शिक्षा कोषमा छुट्याउन सकिन्छ । र त्यही रकमबाट सहकारीले आफ्ना सदस्यलाई शिक्षा र तालिम प्रदान गर्न सकिन्छ । त्यो काममा धेरै सहकारीले बजेट पनि छुट्याएका छन् । कोष पनि छ तर कोष बमोजिम काम हुन सकेको छैन । कुनै सहकारीले कोष बमोजिम शिक्षा तालिम दिने व्यवथा पनि गरेका छन् । धेरै जसो सहकारीहरुको बजेट पनि छ, कोष पनि छुट्याइएको छ तर त्यो पैसालाई आफ्ना सदस्यको शिक्षा तालिमको सन्दर्भमा उपयोग गरेको कम पाईएको छ ।
अन्तिममा केही भन्नुहुन्छ ?
आर्थिक समृद्धिका तिन खम्बा भित्र सहकारी निकायलाई पनि राखिएको छ । त्यसका बारेमा उजागर गर्ने, जानकारी गराउने, सुसूचित गराउनुपर्छ । सहकारी अभियानले जुन रुप लिएको छ, त्यसलाई अझ राम्रो बनाएर लैजानु पर्छ । हामी त्यस कार्यमा लागि रहेका छौं । यसका निम्ति सबै क्षेत्रको सहकार्य आवश्यक छ । हामी भित्र रहेका गलत कुरालाई हटाउँदै पनि लैजानु पर्छ । यसो गर्दा कसैलाई पनि नोक्सान हुँदैन । आर्थिक समृद्धिका लागि सहकारी एउटा महत्वपुर्ण माध्यम हो । यसमा कसैले पनि दुविधा नराखे हुन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार


