२२ कात्तिक २०८३, आईतवार

सहकारी क्षेत्रमा भूकम्पले पुर्याएको क्षतिको विवरण अझै आएन

२०७२ असार ५, शनिवार
सहकारी क्षेत्रमा भूकम्पले पुर्याएको क्षतिको विवरण अझै आएन

रुद्रराज योगी- 

काठमाडौं । विनाशकारी भूकम्प गएको डेढ महिना वित्दा पनि सहकारी क्षेत्रमा भएको क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन । सरकारी निकाय र सहकारी अभियान एक आपसमा सहकार्य नगर्दा पूर्ण विवरण आउन ढिलाई भएको हो । सहकारी संघ/संस्था समेत छुट्टा छुट्टै रुपमा विवरण संकलनमा लागेका छन् ।

राष्ट्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ, नेपाल कृषि सहकारी केन्द्रीय संघका साथै जिल्लाका संघहरु क्षतिको विवरण संकलन गरिरहेको छ । यि निकायले आ आफ्नै तरिकाबाट विवरण संकलन गरेका कारण छुट्टा छुट्टै विवरण आउने निश्चित छ । धेरै वटा संघ/संस्थाले छुट्टाछुट्टै रुपमा क्षतिको विवरण भर्न भन्दै फारम पठाएपछि सहकारी क्षेत्रमा थप अन्यौल बढेको एक सहकारीकर्मीले बताए ।

सहकारी तथा गरीबी निवारण मन्त्रालयका अनुसार हाल सम्म एक सय सहकारी संस्थाको कार्यालयमा क्षति पुगेको तथ्याङ्क आएको प्रवक्ता विष्णु प्रसाद पोखरेलले जानकारी दिए । ‘कुन जिल्लामा के कति क्षति भएको भनेर विवरण संकलन भईरहेको छ’ पोखरेलले भने, ‘केही समय पछि पूर्ण विरण आउने छ ।’ नुवाकोट र दोलखामा रहेको डिभिजन सहकारी कार्यालयमा पनि क्षति पुगेको उनले जानकारी दिए ।

राष्ट्रिय सहकारी संघले संकलन गरेको विवरण अनुसार काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, काठमाडौं, ललितपुर, भक्तपुर जिल्लामा नौ सय जना सहकारीका सदस्यका मृत्यु भएको छ ।
संघले दिएको विवरण अनुसार बचत तथा ऋण सहकारीका २ सय ९३ कार्यालय, साना किसान कृषि सहकारी ७२, दुग्ध उत्पादक सहकारी १ सय ८, कफी उत्पादक सहकारी ७, चिया उत्पादक सहकारी १, तरकारी तथा फलफूल सहकारी १०, जुनार सहकारी ११, संचार सहकारी ५, बहुउद्देश्यीय सहकारी ५ र अन्य सहकारीका ६ कार्यालयमा क्षति पुगेको छ ।

त्यस्तै भूकम्पका कारण हाल सम्मको विवरण अनुसार ६८ करोड ६९ लाख ६२ हजार ७४ रुपैंया बराबरको क्षति पुगेको संघका वरिष्ठ प्रवन्धक चित्रा कुमारी सुब्बाले जानकारी दिईन । विवरण अनुसार बचत तथा ऋण सहकारीमा १२ करोढ ३८ लाख ६९ हजार ३७ रुपैंया बराबरको क्षति पुगेको छ । त्यस्तै साना किसान कृषि सहकारी ७ करोड २० लाख रुपैंया, दुग्ध उत्पादक सहकारी ४ करोड २८ लाख रुपैंया, कफी उत्पादक सहकारी २३ करोड ८६ लाख ६९ हजार ३७ रुपैंया, चिया उत्पादक सहकारी ३ लाख ५० हजार रुपैंया, तरकारी तथा फलफूल सहकारी एक करोड ६३ लाख रुपैंया, जुनार उत्पादक सहकारी एक करोड ५० लाख रुपैंया बराबरको क्षति पुगेको उनले जानकारी दिईन । त्यसैगरी संचार सहकारी २ करोड ७५ लाख रुपैंया, बहुउद्देश्यीय सहकारी ४९ लाख ३७ हजार रुपैंया र अन्य सहकारीका ५३ लाख ३७ हजार रुपैंया बराबरको क्षति उनले बताईन । ‘केही विषयगत सहकारी अझै विवरण आउनु सकेको छैन’, सुब्बाले भनिन्, ‘विवरण आएकाहरुको पनि पूर्ण विवरण होइन ।’ पूर्ण विवरण आउन अझै केही समय लाग्ने उनले बताईन ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले भूकम्पबाट क्षति पुगेका आफ्ना सदस्यहरुको राहतका लागि छुट्टै राहत कोष बनाएको छ । कोषमा ५० लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको र कोषबाट क्षति पुगेका संस्थालाई सहयोग गर्ने उसको योजना छ । कोषबाट सदस्य संस्थाको क्षतिका आधारमा सहयोग गरिने, उनीहरुको पुर्नस्थापनाका लागि शिक्षा तथा तालिम संचालन गर्नका लागि खर्च गरिने नेफ्स्कूनले बताएको छ ।

भूकम्पबाट क्षति भएका जिल्लामा अस्थाई कार्यालय राखेर सहकारीहरुले सेवा दिइरहेका छन् । त्रिपाल, टेन्टमा अस्थाई कार्यालय राखेर सदस्यलाई आकस्मिक सेवा दिइएको सहकारीहरुले जनाएका छन् । जिल्ला सहकारी संघ दोलखाका अनुसार भूकमपमा परेर ५ सय २० वटा सहाकारीमा क्षति पुगेको छ । भूकम्पमा भवन भत्किदा ति संस्थाको कम्प्युटर, फर्निचरलगायतका सामाग्री पूर्ण रुपमा क्षति भएको र सेवा संचालन गर्न नसकिएको संघले जानकारी दिएको छ ।

के कति क्षति भयाे त ?

sk

अभिलेख

लोकप्रिय