विशेष सम्पादकीय : ‘सहकारीको श्रीबृद्धि हाम्रो अठोट’
आज ५८ औं राष्ट्रिय सहकारी दिवस : सहकारीखबर डट कमका निम्ति पनि विशेष दिन हो भन्न हामी रुचाउँछौं । वि सं २०१३ साल चैत्र २० गतेबाट सुरु भएको सहकारी अभियान यस वर्ष ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ मूलनाराका साथ देशव्यापी रूपमा रचनात्मक क्रियाकलाप गरी यो दिवस मनाइँदैछ । ठीक दुई वर्ष अघि सहकारी विभागका तत्कालीन रजिष्ट्रार केदार न्यौपानेको हातबाट आजकै दिन सहकारीखबर डट कमको यात्रा आरम्भ गरेका थियाैं । सहकारी खबर नामैले पनि हामी विशुद्ध सहकारी क्षेत्रमा हुने गतिविधिलाई प्रथामिकता दिएर समाचार र विचार सम्प्रेषण गर्दछौं ।
वर्तमान युग सूचनाको हो । अहिले हरेक नागरिक सञ्चारको सहज पहुँचमा छ । तर सञ्चारलाई नै व्यवसायको रूपमा सञ्चार उद्योग स्थापना गर्ने र त्यसलाई दिगो तवरले अगाडि बढाउने हाम्रो संकल्प आजका दिनसम्म आइपुग्दा सफल रहेको हामी अनुभूत गर्छौं । यो यात्रा सहज बनाउन हामी एक्लैको प्रयास कदापी प्रयाप्त थिएन र हुने छैन पनि । सहकारीखबर डट कमको उदेश्यलाई सफलतापूर्वक यहाँसम्म ल्याइपुर्याउन यहाँहरू थुप्रैको योगदान छ । को–अपरेटिभ मिडिया सोलुसन प्रालीद्वारा सञ्चालित सहकारीखबर डट कम तेस्रो वर्ष प्रवेशको यो अवसरमा विशेषगरी हाम्रो आरम्भका सहयात्री लगायत सबै सुभेच्छुक, सहयोगी हात र हौसलाप्रति आभार प्रकट गर्न चाहन्छ ।
विशेषगरी श्रद्धेय पाठक, सिर्जनशील पत्रकार, लगनशील कर्मचारी, सहयोगी सहकारी संघ/संस्था, विज्ञापनदाता र एजेन्सीलगायतमा हामी कृतज्ञ छौं । हामीले गुजारेका दुई वर्षको दौरानमा धेरै संघर्ष, औधी हौसला र अनुपम अनुभवहरू संगालेका छौं । पछिल्लो युगको पत्रकारिताका रूपमा स्थापित बन्दै गएको अनलाईन मिडिया मार्फत हामीले सहकारी क्षेत्रमा देखिएका केही विकृति, धेरै सफलताका कथा र केही नीतिगत विषयमा गहकिला विषय उठान गर्न सकेको आत्मानुभूति गरेका छौं । यहाँ सम्म आईपुग्दा को–अपरेटिभ मिडिया सोलुसन प्राली ग्रुपको रूपमा संस्थागत विकासको क्रममा छ । हामी अझै परिपक्व भएको दावी गर्दैनौं, सत्य यत्ति हो कि सहकारीको क्षेत्रमा हामी पहिलो सन्तानका रूपमा भने स्थापित हुन सकेका छौं । र यो अवसरमा हामी त्यो स्थानलाई अझै उँचाइमा पुर्याउने दृढता समेत व्यक्त गर्दछौं ।
सहकारी पत्रकारीताको सुरुवात भएको धेरै समय नभए पनि यो परिवेशमा सहकारी क्षेत्रका समाचारलाई अनलाईन मार्फत पस्कनु चुनौतपूर्ण कार्य हो । आम पाठकलाई सुसूचित गराउने मूल दायित्वबाट हामी कहिल्यै बिमुख हुने छैनौं । सहकारीखबरले विगतमा निष्पक्ष कभरेजको आम रूपमा जुन प्रशंसा पाएको छ, त्यसले हामीलाई जिम्मेवारपूर्ण व्यवसायिक भएर अघि बढ्न थप उर्जा मिलेको छ । सहकारी क्षेत्रलाई संस्थागत गर्न सहकारीकर्मीलाई घचघच्याउनका साथै सहकारी क्षेत्रमा देखिएका विकृतिलाई निरुत्साहित गर्न हामी कटिवद्ध छौं । यति भनिरहँदा सहकारी मूल्य र मान्यताका पक्षमा हाम्रो पहरेदारी अझ बलियो गरी हुने प्रण पनि हामी यही अवसरमा पुनः दोहोर्याउन चाहन्छौं ।
अन्तमा फेरि पनि सहकारी दिवसका अवसरमा सम्पूर्ण सहकारीकर्मीहरूमा सहकारी खबर डट कमको हार्दिक मंगलमय शुभकामना । जय सहकारी ।
काजी श्रेष्ठ
सम्पादक
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार