नेफ्स्कूनलाई कारबाही गर्ने हिम्मत कस्को ?
काजी श्रेष्ठ/
हुन त आजभोली हरेक विषय ‘संक्रमित’ छन् । संक्रमणकालको नाममा अहिले जसले जे गर्न पनि छुट जस्तै भएको छ । नियमनकारी निकाय पनि संक्रमणकालिन रोगले झन बढी संक्रमित भएको दृष्ठान्तहरु यत्रतत्र पाइन्छ । यही नाममा सानादेखि ठूलाभन्दा ठूला विसंगति र विकृतिहरु ढाकिएर बसेका छन् । अँध्यारो हुनलाग्दा बत्ति हुँदैन ! धारामा पानी थाप्न लाग्दा थोपो झर्दैन ! राजधानीकै सडक धुलोधुँवा र खाल्डोको अर्को नामजस्तै भएको छ । बाटोमा हिंड्ने बटुवाले हरेक सय पाइलामा ज्यान जोगाउन मुस्किल छ । पैसा तिर्छु देउन, भन्दा यो मुलुकमा ग्याँस पाईँदैन । पेट्रोलियमको मूल्य १ रुपैयाँ बढ्दा यात्रुले पाँच रुपैयाँ महंगो भाडा तिर्नुपर्छ । अहिले २३ रुपैयाँ मूल्य घटिसक्दा सवारी भाडा घटेको खबर कतै सुन्न र पढ्न पाइँदैन ।
यस्तै विकृति र अनियमनको अर्को नाम बनेको छः सहकारी । सहकारीको नाममा राजनीति गरेर पार्टीमा उदाउँदै जाने । सहकारीको नाम भजाएर व्यक्तिगत जोहो गर्ने । सहकारीको खोलमा अकुत कमाएर पार्टीमा हैसियतवाला बन्ने अहिले होड जस्तै चलेको छ । सहकारीको केन्द्रिय निकायमा बसेर सहकारीको सफलताका लागि एक सिन्को नभाँच्ने तर त्यही नाममा राजनीतिक हैसियत बनाउन उद्धतहरुको कमी यहाँ छैन । सहकारीलाई सहकारीको मर्म र उदेश्य भन्दा पनि त्यसलाई पार्टीको भर्तीकेन्द्रजस्तै बनाउने सँस्कार नै बन्दै गएको छ । सहकारीको क्षेत्रमा सेवा गर्नका लागि सहकारीकर्मीभन्दा बढी पार्टीको सदस्यता भए पुग्ने अवस्थाको विकास भएको छ ।
यतिबेला संक्रमणकालको नाममा ठूलालाई भन्दा सानालाई सकसको अवस्था देखिएको छ । सानालाई सिन्को भाँच्दा लाग्ने कानुन ठूलाले रुखै सखाप पार्दा पनि पात नहल्लिने अवस्था सहकारी क्षेत्रमा देखिएको छ । यसमा सरकारी निकाय र त्यहाँका कर्मचारी मौन हुनुमा सायद सहकारी क्षेत्र नेताहरुको वाहुल्यता भएको क्षेत्र बन्दै गएकाले हुनुपर्छ ।
यस्तै परिघटनाको एउटा गतिलो उदाहरण बनेको पाइयो नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) । नेफ्स्कूनले संचालन गरेको ‘अन्तरलगानी कार्यक्रम’ नियम विपरित भन्ने शिर्षकको समाचार सहकारीखबरमा केही समय अघि प्रकाशित भयो । समाचारका कारण पंक्तिकारले समेत विभिन्न आलोचना सुन्नु पर्यो ।
वास्तवमै उक्त समाचारले गर्दा सहकारी अभियानदेखि विभिन्न सरकारी निकायमा समेत हल्लिखल्ली मच्चियो । नेफ्स्कूनले २०५३ सालदेखि बचत तथा ऋणको कारोबार गर्दै आएको हो । बैंक वा सो सरह १० वटा फिल्ड कार्यालय (शाखा कार्यालय) मार्फत बचत तथा ऋण कारोबार गर्दै आएको छ । तर नेफ्स्कूनले संचालन गरेको बचत तथा ऋणको कारोबार गर्ने कानुनी आधारविनै संचालन गरेको समाचार म आफैले खोज अनुसन्धान गरेर लेखेँ र प्रकाशित गरेँ । नियमक निकाय सहकारी तथा गरीबी निवारण मन्त्रालय र सहकारी विभाग यस विषयप्रति कत्ति पनि जानकार नभएको पाइयो । के आधारमा बचत तथा ऋणको कारोबार गरेको छ भन्ने नियमनकारी निकायलाई अत्तोपत्तो छैन । कसरी र कुन कानुनलाई टेकेर नेफ्स्कूनले बचत संकलन र ऋण लगानी गर्ने हिम्मत गर्यो ? यसको जवाफ नियमक निकायसंग खोज्दा पाइँदैन । के बचत तथा ऋण सहकारी संस्थाको अभिभावक भएर नियम विपरित कार्य गर्न पाउँने अधिकार छ ? के अभिभावक लाई कानुन लाग्दैन ? यदी लाग्छ भने नियमक निकाय ०५३ सालदेखि के हेरेर बसेको छ ? प्रारम्भिक संस्थाले यसो गरेको भए के विभागले कारबाही प्रक्रिया अगाडी बढाउदैनथ्यो ? सहकारी विभागका रजिष्ट्रारलाई मेरो जिज्ञासा छ विभागले कारबाही गर्ने आँट किन नगरेको ? कि कारबारही गर्यो भने आफ्नै दानापानीमा धक्का लाग्छ भन्ने डरले हो ? होइन भने सानालाई ऐन ठूलालाई चैन किन ?
अर्को कुरा अहिले आएर नेफ्स्कूनले बचत तथा ऋणको कारोबार गर्ने भनेर विनियममा राख्दै छ । यस्तो व्यवस्था साधारणसभाबाट पारीत भएर आएको छ । के यो व्यवस्था अब लागू गर्न नेफ्स्कून सफल हुन्छ त ? हालको नियमलाई मान्ने हो भने यो व्यवस्था लागू गर्न नेफ्स्कून असफल हनेछ । किनभने हाल बचत तथा ऋणको कारोबार गर्ने नयाँ सहकारी दर्ता तथा उद्देश्यमा थप गर्न नपाउने भनेर सरकारले रोक लगाइ सकेको छ । यसर्थ नेफ्स्कून यस विषयमा असफल हुने निश्चित छ । तर भित्र भित्रै यहाँ चलखेल हुने सम्भावना छ । नेफ्स्कूनमा सहकारीकर्मी भन्दा पनि एक से एक राजनीतिककर्मी बढी छन् । सहकारीकर्मीको खोल ओडेर छिरेका ति नेताहरुले सहकारीको मर्ममा खेलवाड गरिरहेको यो तितो सत्य हो । उनीहरु सहकारीका बारेमाभन्दा पनि राजनीतिकाबारेमा बढी चासो राख्छन् । त्यसैले विभाग र मन्त्रालयका लागि पनि यो चुनौतिको विषय हो किः सरकारले बनाएको नियमलाई कार्यान्वयन गर्ने या एउटा सहकारीको नाममा मनोमानी गर्ने संस्थाले बनाउन चाहेको गलत बाटोलाई खुलाई दिने ?
यो पनि पढ्नुस्
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार