२२ कात्तिक २०८३, आईतवार

बाली बिमाप्रति कृषकको चासो बढ्दै

२०७१ पुष १९, शनिवार
बाली बिमाप्रति कृषकको चासो बढ्दै

बनेपा। काभ्रेपलाञ्चोक जिल्लामा बाली बिमाप्रति कृषकको चासो बढेको छ । जिल्ला कृषि विकास कार्यालय धुलिखेलको आयोजनामा कृषक, कृषक प्राविधिक र सरोकार भएकाबीच भएको गोष्ठीमा उनीहरूले बाली बिमालाई प्रभावकारी बनाउन आग्रह गर्दै सरकार र बिमा कम्पनीले यसलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।
जिल्लाको फुलबारी गाविसका कृषक उद्धवप्रसाद हुमागाईंले बालीको लागतभन्दा उत्पादनको बिमा हुनुपर्नेमा जोड दिँदै उत्पादन बिमा भए कृषक उत्साहित हुने बताए।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले बिमालाई फजुल खर्चका रूपमा नलिन आग्रह गर्दै बैंक कृषकमैत्री नभएको उल्लेख गरे ।
जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ कृषि विकास अधिकृत दीपक पौडेलले सरकारले बाली बिमा नभएको अवस्थामा क्षति भए कृषकलाई क्षतिपूर्ति दिन नसक्ने नीति तय भएको उल्लेख गर्दै सहकारी संस्थामार्फत बाली बिमा गराउनुपर्ने बताए ।
उनले जोखिम नभएका बालीको बिमा आवश्यक नभएको उल्लेख गर्दै व्यावसायिक खेतीमा जोखिम न्यूनीकरण गर्न बाली बिमा गर्नुपर्ने बताए ।
निजी इन्सुरेन्स कम्पनीका उदयराम कायस्थले कृषकका लागि बाली बिमा अपरिहार्य र आवश्यक भएको उल्लेख गर्दै कृषकसँग सहकार्य गर्न तयार रहेको जानकारी दिए ।
काभ्रेपलाञ्चोकमा बाली बिमालाई प्रभावकारी बनाउन कार्यालयले सहजीकरण गर्न लागेको छ । बाली बिमा खाद्यान्न, तरकारी फलफपूल, च्याउलगायतका खेतीमा गरिने कार्यालयले जनाएको छ ।

अभिलेख

लोकप्रिय