१ वैशाख २०८३, मङ्गलबार

पारिवारिक खेती वर्ष र नेपाल

२०७१ कात्तिक १९, बुधबार
पारिवारिक खेती वर्ष र नेपाल

खेम बहादुर पाठक, अध्यक्ष
नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.

नेपालमा कुल जनसंख्याको ६६ प्रतिशत जनसंख्या कृषिमा आवद्ध रहेका छन् । ७५ प्रतिशत जनसङख्या परम्परागत कृषि प्रणालीवाट खेती गर्दछन् । जसमा १० लाख भन्दा बढि परिवार भूमीहिन छन् । कृषि क्षेत्रले करिव ३६ प्रतिशत ग्राहस्थ उत्पादनमा सहयोग पुगेको देखिन्छ । नेपालमा हाल २५.१६ प्रतिशत जनसंख्या गरिवीको रेखामुनी रहेका छन् ।
नेपालमा पारिवारिक खेती परापूर्वकाल देखिनै हुंदै आएको हो । परिवारका सदस्यहरुको प्रत्यक्ष सहर्कायमा गरीने कृषि सम्वन्धि विभिन्न कार्यहरुलाई नै पारिवारिक खेती भनिन्छ । पारिवारिक कृषि प्रणालीवाट नेपालमा दीर्घकालीन रुपमा खाद्य उत्पादन वढाउन सकिन्छ । कृषियोग्य जमीनको पूर्ण उपयोग हुन सकेमा मात्र कृषि उत्पादनमा बृद्धि हुनुका साथै आत्मनिर्भर हुन सकिने देखिन्छ । यसबाट खाद्य सुरक्षा हुनुका साथै खाद्यन्नमा आत्मनिर्भर हुन सकिन्छ । वातावरण अनुसार जमिनको व्यवस्थापन गर्न सकिन्छ । उत्पादनमा विविधता ल्याउन सकिन्छ ।

नेपाल सरकार कृषि विकास मन्त्रालयले अन्तरराष्ट्रिय पारिवारिक खेती वर्ष २०१४ को अबसरमा यस कार्यक्रमलाई विभिन्न कृषिसँग सरोकार राख्ने विभिन्न निकायहरुसँग समन्वय गरेर देशै भरी मनाउने निर्णय मिति २०७०/१२/१९ गते गरे अनुरुप राष्ट्रिय स्तरमा राष्ट्रिय निर्देशन समिति, केन्द्रिय स्तरमा कार्यान्वयन समिति र जिल्ला स्तरमा जिल्ला कृषि विकास समितिको संलग्नतामा जिल्ला भित्रका अन्य कृषिसँग सरोकार राख्ने निकायहरुसँग समन्वय गरेर कार्यान्वयन समिति गठन गरीएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.ले राष्ट्रिय कार्यान्वयन समितिको सचिवालयको काम सम्हालेको छ । यस संस्थामा आवद्ध संघ÷संस्थाहरु नेपाल सरकारका केन्द्रदेखि जिल्ला सम्मका पदाधिकारीहरु र कार्यालयहरु समेतको सहयोगमा संघले आफ्नो मातहतमा रहेका संजालसँग मिलेर ७५ जिल्ला र ५०० गा.वि.स.हरुमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

उद्देश्य

अन्तर्राष्ट्रिय पारिवारिक खेती बर्ष २०१४को मुख्य उद्धेश्य “गरिबीसंग लड्नका लागि खाद्य सुरक्षा र संप्रभुताको खोज” रहेको छ । अन्य उद्धेश्यहरु यस प्रकार रहेका छन् ।

– पारिवारिक कृषि प्रणाली साथै परम्परागत खेती तथा गरीव समूहको विकास रक्षाको लागि सरोकारवाला सवैलाई प्रभावपूर्ण नीति वनाउन जोड दिनु साथै विषेश गरी सवै राष्ट्रका सरकार र अन्तराष्ट्रिय सहयोगी संस्थाहरुलाई कार्यमूलक रणनीति तयार गरी आवश्यक वजेट समेत छुट्टाउन विशेष जोड दिई यस अन्तराष्ट्रिय पारिवारिक खेती वर्षलाई सफल वनाउने ।

– ग्रामीण संघ/संस्था, किसानका सहकारी संघ, माछा मार्ने समूहका संघ संस्थाहरुलाई सरकारका तर्फबाट वैद्यता प्रदान गरी वलियो वनाउनुका साथै उनीहरुको माग र प्रस्तावलाई समेत् कृषि सम्बन्धी नीति वनाउंदा समेट्नु पर्ने कुरामा जोड दिने ।

– पारिवारिक कृषि प्रणालीको विकास गरी दिर्घकालीन खाद्य उत्पादन र प्रर्यावरण चक्रमा समेत सहयोग पुग्ने खालका कार्यक्रम संचालन गर्नसहयोग गर्ने स्थानीय नागरीक समाज र समाजमा प्रभाव राख्ने सवै प्रतिनिधीहरुलाई चेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने ।

– पारिवारिक कृषि प्रणालीमा महिलाको भूमिका पहिचान गराउनुका साथै कृषि सम्वन्धी विभिन्न
कुरामा महिला अधिकारलाई सुनिश्चीत गर्न जोड दिने ।

– साना कृषि उत्पादक, पराम्परागत रुपमा माछा मार्ने तथा खेती गर्ने समूह, आदिवासीहरुलाई ग्रामीण क्षेत्रबाट विस्थापित हुन वाट जोगाउने खालका नीतिहरु बनाउन सवै सरोकारवालाहरुलाई जोड दिने । साथै विशेष गरी युवाहरुलाई ग्रामीण क्षेत्रमा नै रोजगारी सिर्जना गर्न प्रगतीशील कृषि नीति वनाई कृषिको विकास गर्नजोड दिने ।

– अन्तरराष्ट्रिय व्यावसायिक खाद्य उत्पादनको पक्षमा समर्थन गर्ने र स्थानीय र क्षेत्रीय वजारमा अनुदान दिने र ग्रामीण विकास, खाद्य सुरक्षा र खाद्य आत्मनिर्भरतामा उत्प्रेरण हुने किसिमका नियमहरु वनाउने पक्षमा विशेष जोड दिने । साथै वजार, पारिवारिक खेती, खाद्य सुरक्षा जस्ता कुराहरुमा पहुँच पुर्याउन सवै राष्ट्रका सरकारहरुलाई जोड गर्ने र खाद्य सामग्री थन्काएर राख्ने र कृषि सामग्रीको आयातमा अनुदान दिने प्रक्रीयालाई वन्द गर्न लगाउने ।

– कृषि सम्वन्धी विभिन्न प्रकारका अध्ययन÷अनुसन्धान र कृषि सम्वन्धी प्रविधिको विकासका जोड दिने । स्थानीयस्तरमा भएको परपम्परागत कृषि अनुभवहरुलाई स्वीकार गरी दिर्घकालीन ग्रामीण विकास नीतिमा समावेश गरी आवश्यक मानवीय स्रोत र आर्थिक स्रोत वढाउँन जोड दिने ।

कार्यान्वयन पद्धति
संयुक्त राष्ट्र संघको आव्हानमा विश्वभर मनाउन थालिएको पारिवारिक खेति वर्ष सन् २०१४ नेपालमा पनि व्यापक रुपमा मनाउन नेपाल सरकार कृषि विकास मन्त्रालयले विभिन्न कृषिसँग सरोकार राख्ने निकायहरु रहेको राष्ट्रिय निर्देशक समिति गठन गरिएको छ । जिल्ला स्तरमा कृषि विकास समन्वय समितिलाई कार्यक्रमको संयोजन गरी संचालन गर्न जिल्ला कृषि विकास समितिलाई जिम्मेवारी प्रदान गरिएको छ । विभिन्न कार्यक्रम संयोजन गर्न कृषि विकास मन्त्रालयको योजना महाशाखा अन्तर्गत कृषि सहकारी तथा गैह्रसरकारी संस्था समन्वय शाखा लाई सम्पर्क विन्दु तोकिएको छ ।

अन्तरराष्ट्रिय पारिवारिक खेती वर्ष २०१४ राष्ट्रिय निर्देशक समिति नेपाल माननिय कृषि विकास मन्त्री हरि पराजुलीको सँरक्षकत्व र कृषि सचिव जय मुकुन्द खनालको अध्यक्षतामा रहेको छ । निर्देशक समितिको सदस्यहरुमा कृषि तथा ग्रामिण विकास योजना आयोगका निर्देशक, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयका सह सचिव, अर्थ मन्त्रालयका सह सचिव, सघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सह सचिव, वन तथा भूसंरक्षण मन्त्रालयका सह सचिव, सिँचाइ मन्त्रालयका सह सचिव, कृषि विकास मन्त्रालयका योजना शाखाका सह सचिव, कृषि तथा बन विश्वविद्यालयका उपकुलपति, सहकारी तथा गरिवी निबारण मन्त्रालयका सह सचिव, नार्क का कार्यकारी निर्देशक, कृषि विभागका महानिर्देशक, सहकारी तथा गरिवी निवारण विभागका रजिष्टार, राष्ट्रिय कृषक सञ्जालका कार्यकारी निर्देशक, राष्ट्रिय कृषक समुह महासँघका अध्यक्ष, राष्ट्रिय सहकारी संघका अध्यक्ष र नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष सदस्य सचिव रहने गरि २० सदस्य रहेका छन् ।

(साना किसान सम्मेलनमा प्रस्तुत कार्यपत्रको सम्पादीत अंश)

अभिलेख

लोकप्रिय