२१ कात्तिक २०८३, शनिवार

संसद बन्द गरेर जनताको मुख बन्द गर्ने काम भैरहेको छ ः अर्थमन्त्री डा महत

२०७१ असोज ८, बुधबार
संसद बन्द गरेर जनताको मुख बन्द गर्ने काम भैरहेको छ ः अर्थमन्त्री डा महत

नवलपरासी । अर्थमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता  डा रामशरण महतले देशको राजनीति मूलधारतिर अगाडि बढेको र यो मूलधारको नेतृत्व कांग्रेसले गरिररहेको बताउनुभएको छ । नेपाली कांग्रेसको जनजागरण अभियानको समापनका अवसरमा बर्दघाट नगरसमितिले आयोजना गरेको नगरभेलामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
हरेक परिवर्तनको अगुवाई गरेको कांग्रेसले नै मूलधारको राजनीतिको नेतृत्व गरिरहेको चर्चा गर्दै उहाँले एमाले मात्र होइन जनयुद्धमा गएको माओवादीसमेत कांग्रेसको खुला प्रतिस्पर्धामूखी राजनीति र उदार बजारमूखी आर्थिक नीतितिर लम्किरहेको बताउनुभयो । उहाँको भनाई थियो, कांग्रेसका कार्यकर्ताहरुलाई आफ्नो बिचार र शक्तिका बारेमा हनुमानलाई झै सम्झाइरहनुपर्छ । कांग्रेस समकालिन राजनीतिक पार्टीमध्येकै उत्कृष्ठ र भरोसायोग्य पार्टी भएको इतिहास सम्झन आग्रह गर्दै नेता डा महतले दाउन्ने पार्टी प्यालेसमा भेला भएका हजारौं कार्यकर्ताहरु सामुन्ने भन्नुभयो, नेपाली जनताको अधिकार स्थापित गराउन र समुन्नतितिर लैजाने यस पार्टीसँग मात्र स्पष्ट दृष्टिकोण रहेको छ । कांग्रेसले अवलम्बन गरेको दृष्टिकोण नै विश्वको मूल दर्शन हो । अहिले एमाओबादी समेत यही बिचारतिर मोडिएको छ । लोकतान्त्रिक र शान्तिको बाटो देखाएकोले बन्दुकको बलमा सत्ता कब्जा गर्ने सोचमा रहेको माओबादी बन्दुक त्यागेर निर्बाचनको बाटोमा आएको छ ।

केन्द्रिकृत आर्थिक नीतिलाई २०४६ को परिवर्तनपछि उदार र खुल्ला बजारमूखी बनाउँदा अर्थतन्त्रमा ठूलो परिवर्तन आएको तथ्यांकहरु प्रस्तुत गर्दै अर्थमन्त्री डा महतले भन्नुभयो, आर्थिक र सामाजिक क्षेत्रमा ठूलो परिवर्तन आएको छ । अर्थतन्त्रको आकार २२ बर्ष अघिको तुलनामा १६ गुणाले बढेको छ । सडक सञ्जाल ७ हजार किलोमिटर रहेकोमा अहिले ६० हजार किलोमिटर पुगेको छ । नेपालीको औषत आयु १५ बर्षले बढेको छ । यस अवधिमा करिब २० लाख मानिस गरिबीको रेखामाथि उक्लेका छन । गरिबी ४९ प्रतिशतबाट घटेर २२ प्रतिशतमा झरेको छ । तोक आदेश संस्कार पूरै हटेको उदाहरण दिदै उहाँले भन्नुभयो, टेलिफोन, खानेपानी प्राप्तिका अधिकारहरु लिन समेत तोक आदेश गराउनुपर्ने र महिनौ कुर्नुपर्ने बाध्यता थियो । अहिले डेढ करोडभन्दा बढी नेपालीका हातमा मोबाइल र फोन सेवा रहेको छ ।
कांग्रेस नेतृत्वको सरकारले माओबादीको हिंसात्मक द्वन्द्वलाई समेत धान्ने आर्थिक संरचना बनाएकोले अर्थतन्त्र धराशायी हुनबाट बचेको चर्चा गर्दै उहाँले भन्नुभयो, द्वन्द्वग्रस्त अर्थतन्त्रको रुप राम्रो देख्दा विदेशीहरु छक्क पर्छन । यति लामो हिंसात्मक द्वन्द्वको सामना गरेको अर्थतन्त्र कमजोर होला भनेको त्यस्तो भएको रहेनछ भन्छन । यसको जस कांग्रेसले अवलम्बन गरेको खुला र बजारमूखी आर्थिक नीतिलाई जान्छ । यसका लागि कार्यकर्ताहरुले गौरव गर्नुपर्ने र जनतालाई यो सत्य भन्नुपर्ने खाँचो छ ।

संबिधानभन्दा बाहिरको संरचनाको कुरा गरेर संबिधानसभालाई प्रतिपक्षीले बन्दी बनाएको भन्दै उहाँले जनअभिमतको ठाडो उल्लंघन भएको बताउनुभयो । जनताको चाहना अनुरुप विकास निर्माणका कामहरुलाई अगाडि बढाउन समेत यस्ता निजी स्वार्थप्रेरित मागले अप्ठेरो परेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, राहतका कामहरु संसदमा अल्झिएका छन । हजारौं जनता विस्थापित भएका छन । यस्तो संबेदनशील अवस्थामा समेत एमाओबादीले संबिधानसभाभन्दा बाहिरको बखेडा झिकेर संसदलाई अगाडि बढ्न दिएको छैन । माओबादीले अहिले पनि जातियता र जातीय संघीयताको बखेडा झिकिरहेको, न्यायापालिकालाई स्वतन्त्र हुन नसक्ने व्यवस्था गर्न माग गरिरहेको र एकपछि अर्को बखेडा झिकिरहेको छ ।

“जनताको अभिमत स्पष्ट आइसकेको छ । यी विरोधका वावजूद सबैलाई अधिकार हुने अपनत्व हुने संबिधान बन्नेछ ।” उहाँको भनाई थियो, सबैलाई बराबरीको अधिकार मात्र होइन कि बिगतमा अधिकार नपाएर पछि परेकाहरु, महिला, दलित, पिछडावर्ग, मधेशी, जनजातिलाई अझ बढी अधिकार र संरक्षण दिएर संबिधान बनाउन कांग्रेस प्रतिवद्ध छ । उनीहरुलाई सम्पूर्ण अधिकारको व्यवस्था संबिधानमा हुनेछ ।
नेता डा महतले भन्नुभयो, तर जातिय आधारमा संघीयता हुदैन । यो जनादेशको खिलाफ हो । हामी जनादेशको बिरुद्ध जान सक्दैनौं । आफू ३।४ प्रान्तको पक्षमा रहेको भन्दै उहाँले तर प्रतिपक्षीका बिचार समेत समेट्नका लागि ६।७ वटा प्रान्तको पक्षमा जान सकिनेगरी लचकता देखाएको स्पष्ट पार्नुभयो ।
संबिधान बनोस, संक्रमणकालको छिटो अन्त्य होस र मुलुक आर्थिक विकासतर्फ केन्द्रित होस भन्ने जनअभिमत रहेको उल्लेख गर्दै सो अवसरमा उहाँले निजी मागमा संसद अवरुद्ध गरेर प्रतिपक्षले जनताको मुख बन्द गर्ने काम गरेको बताउनुभयो । जनताको भावना अनुरुप वर्तमान सरकारले भारतसँग बिद्युत व्यापार सम्झौता गरेको र माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता गरेको अर्थमन्त्रीको भनाई थियो ।

उहाँले यी सम्झौताले नेपालको उर्जा क्षेत्रमा मात्र होइन, उर्जा नपाएर पर्ख र हेरको स्थितिमा रहेको उद्योग क्षेत्रको लगानी समेत बढ्ने र मुलुकले छिटै नै फड्को मार्ने विश्वास व्यक्त गर्नुुभयो । मुलुकको आर्थिक उन्नतिका लागि सरकार साहसिक निर्णय गर्दै अगाडि बढिरहेको बताउँदै उहाँले भन्नुभयो, बिद्युतमा मात्र होइन, ठूलो लगानी हुने पर्यटन क्षेत्र र बढी रोजगारी दिन सक्ने कृषि क्षेत्रमा समेत व्याज छुट तथा अन्य अनुदानहरु दिएर यस क्षेत्रमा क्रान्ति ल्याउने तयारी गरिरहेका छौं । अव स्वदेशमै उद्योगधन्दाहरु खुल्नेछन । कृषिमा सयौं अर्बको आयात होइन, अव निर्यात गरी आम्दानी गर्न सक्नेछौं ।विदेशमा काम गरेर स्वदेश फर्किएका युवाहरुले त्यहाँभन्दा बढी यहीं खेतीपाती र कृषि पेशाबाट कमाउन थालेको ठाउँ ठाउँका उदाहरण प्रस्तुत गर्दै अर्थमन्त्री डा महतले भन्नुभयो, यो सन्देश देशभरी फैलिनु जरुरी छ । बजेटमार्फत राज्यले दिएका सुविधाहरु र अनुदानको सदुपयोग गर्न सकेमा युवाहरुले कृषि क्षेत्रमा ठूलो परिवर्तन ल्याउनेछन भन्ने मेरो विश्वास रहेको छ ।
कुनै ठाउँमा बजेट नपुगेर विकास रोकिएको आफूले सुन्न नचाहेको बताउँदै उहाँले भन्नुभयो, काम गर्दा गर्दै बजेट पुगेन भने मलाई जानकारी दिनुहोस । बजेटको बारेमा चिन्ता गर्नुपर्दैन । काम गर्ने जोस जाँगर र उत्साह मात्र देखाउनुस । सो अवसरमा कांग्रेस जिल्ला कार्यसमितिका सभापति देबेन्द्रराज कँडेल, बर्दघाट नगरपालिका तदर्थ समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठ, नेविसंघ जिल्ला अध्यक्ष राजेश पौडेल क्षेत्रीय सभापति गणेशमान श्रेष्ठ, सांसदहरु बिक्रम खनाल र देबकरण कलवर लगायतका बक्ताले बोल्नुभएको थियो ।

अभिलेख

लोकप्रिय