४ कात्तिक २०८३, मङ्गलबार

हातेमालोद्वारा विद्यार्थीहरुलाई पाठ्य सामाग्री वितरण

२०७१ जेठ १६, शुक्रबार
हातेमालोद्वारा विद्यार्थीहरुलाई पाठ्य सामाग्री वितरण

बारा, १६ जेठ । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले सातौं वार्षिकोत्सव सप्ताहको दोस्रो दिन नवघोषित गढीमाई नगरपालिका वडा नं. २ सिमरा रामवनमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पाठ्यसामाग्री वितरण गरेको छ ।

सातौं गणतन्त्र दिवसको अवसरसमेत पारेर गरिएको कार्यक्रममा पाठ्यसामाग्री वितरण गर्दै जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खडकाले सामुदायिक शिक्षामा राज्यको ठुलो लगानी भएपनि उचित प्रतिफल नआएको बताए । शिक्षकहरुले समाज र अधिकांश संस्थामा नेतृत्व गरिरहेको र सफलता हासिल गरिरहेको अवस्थामा आफैले पढाउने विद्यालयमा शिक्षाको स्तर कमजोर भएकोप्रति खडकाले चिन्ता व्यक्त गरे । आठ दिन अघि बारा जिल्लामा जिल्ला शिक्षा अधिकारीको रुपमा आएका खडकाले जिल्लाको शैक्षिक स्तर उकास्न आफु क्रियाशिल रहेको र सुधारको अभियानमा सहयोग पुर्याउन सबैलाई आग्रह गरे । हातेमालोको प्रगति र प्रयास अनुकरणीय रहेको बताउदै यसलाई गुणात्मक बनाउनु जरुरी रहेको खडकाको कथन थियो ।

कार्यक्रममा बोल्दै हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण पौडेलले सदस्यहरुलाई सरल वित्तिय सेवासंगै समुदायको हितमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालकसमेत रहेका पौडेलले सहकारीको संख्या र गुणात्मक विकाससंगै आर्थिक लोकतन्त्र र समृद्धियात्राको नेतृत्व गर्ने जिम्मेवारी आएको बताए ।

कार्यक्रममा विद्यालयका प्राथमिक तहका करीव एक सय पचास विद्यार्थीहरुलाई पाठ्यसामाग्री तथा उपहार प्रदान गरिएको थियो । सातौं वर्ष प्रवेशको अवसरमा संस्थाले १७ गते सिमरा नगर सरसफाई र २० गते स्थापना दिवस विशेष कार्यक्रम आयोजना गर्दैछ । जेठ १४ गते पथलैयामा जेष्ठ नागरिकहरुलाई कपडासहित राहत दिएर अध्यक्ष कृष्ण पौडेलले वार्षिकोत्सव सप्ताह आरम्भ गर्नु भएको थियो ।

२०६५ जेठ २० गते ७२ जना सदस्यहरुले स्थापना गरेको हातेमालो सहकारीमा हाल १३ सय सदस्यहरुवीच १३ करोडको कारोवार गरिरहेको छ । मध्यतराईको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा स्थापित हातेमालो सहकारीले गुणस्तरीय वित्तिय सेवामार्फत समुदायको आर्थिक र सामाजिक रुपान्तरणसहित सामाजिक उत्तरदायित्वका कार्यहरु गरिरहेको छ

अभिलेख

लोकप्रिय